राजश्व हिनामिनाको विरोध गर्दै कास्की काँग्रेस पोखरा महानगरपालिकामा

पोखरा हटलाईन

पोखरा, २८ साउन

नेपाली काँग्रेस कास्कीले पोखरा महानगरपालिकाले राजश्व हिनामिना गरेकोमा विरोध गर्दै बुधबार ज्ञापनपत्र बुझाएको छ ।कास्की काँग्रेसका सभापति कृष्ण केसीको नेतृत्वमा गएको टोलीले महानगरपालिका प्रमुख मानबहादुर जिसीलाई ज्ञापनपत्र बुझाएको प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।ज्ञापनपत्रमा नगरबासीले तिरेको करमध्येको १३ करोड बढी रकम हिनामिना हुनु सामान्य विषय नभएको भन्दै यस्तो गम्भीर विषयको तत्काल छानविन गरी दोषीलाई कडाभन्दा कडा कारवाही गर्न माग गरिएको छ ।

कास्की काँग्रेसले पोखरा महानगरपालिका वडा नं २१ का वडा सदस्य राम गुरुङले विकास निर्माणको बजेटमा कमिसन मागेको अडियो सार्वजनिक हुनु अत्यन्तै अशोभनिय र लज्जाजनक विषय भएको भन्दै सत्यतथ्य छानविन गरी दोषी उपर कडा कारवाहीको माग गरेको छ ।यस्ता विषयमा महानगरपालिका समयमा नै गम्भीर नभए अवस्था भयावह हुने चेतावनी समेत कास्की काँग्रेसले दिएको छ । त्यस्तै, महामारीको अवस्थामा संक्रमितको उपचारलाई व्यवस्थित गर्न र कोरोना परीक्षणको दायरा बढाउन आवश्यक देखिएकाले त्यसतर्फ गम्भिरता देखाउन महानरपालिकाको ध्यानाकर्षण गराइएको छ । लकडाउनका बेला संकलित र वितरित राहत विवरण अझैसम्म सार्वजनिक नभएकोप्रति निन्दा गर्दै तत्काल राहत विवरण सार्वजनिक गर्न र महानगरपालिका भित्रका बेथिति बारे काँग्रेसबाट निर्वाचित ११ जना वडाध्यक्षले उठाएका १६ विषयप्रति गम्भीर बन्न महानगरपालिकाको ध्यानाकर्षण गराइएको छ। कास्की काँग्रेसका सभापति कृष्ण केसीले महानगरपालिकाका गतिविधिका कारण जनप्रतिनिधिप्रति जनताको विश्वास घटेको भन्दै दुःख व्यक्त गरे । आफूहरुले उठाएका विषयमा गम्भीर नभए आन्दोलन गनुपर्ने अवस्था सृजना हुने उनले चेतावनी दिए ।

Comments are closed.