पोखरा ३० जेठ । नेपाल अटोमोबाइल्स स्पोर्टस् एशोसिएशन (नासा) एवं अटो नेपाल पत्रिकाको सहकार्यमा पश्चिमान्चल अटोमोबाइल डिलर्स एशोसिएसनले पोखरामा शनिबार आयोजना गरेको ‘आठौं सिन्सियर सिटिजन मोटर ¥याली’को उपाधि राज बजिमय र सदिक्षा श्रेष्ठको जोडीले जितेका छन् । पोखरा रङ्गशालादेखि नौंडाँडासम्मको करिब ३५ दशमलभ ८ किलोमिटर दुरीमा र्याली आयोजना गरिएको र्यालीमा रमेश राजभण्डारी र अनुप खड्का दोस्रो तथा राजु दाहाल र सीता दाहाल तेस्रो भए । प्रथम, द्वितीय र तृतीयलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।
समय, गति र दुरीका आधारमा र्यालीमा सहभागीलाई नम्बर दिएर उत्कृष्ट प्रथम, द्वितीय र तृतीय छनोट गरिएको कार्यक्रम संयोजक तथा नासा कास्कीका अध्यक्ष शिव श्रेष्ठले जानकारी दिए । र्याली अमर सिंहचोक, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक, एयरपोर्ट, बिरौटा, पार्दीचोक, राष्ट्र बैंकचोक, सहिदचोक, लेकसाइड, जिरोकिलो, हरिचोक हेम्जा हुँदै नौंडाँडाको हिमालयन देउराली रिसोर्टमा पुगेर समापन भएको थियो । र्यालीमा ५५ गाडीको सहभागिता रहेको थियो ।
पर्वतीय खेलकुद महोत्सवको अवसरमा ‘फर नेचर, एडभेन्चर एण्ड स्पोर्टस्’ नाराका साथ नासाले कार्यक्रम गरेको हो । नेपालको भू–बनोटलाई सुहाउने मोटर स्पोर्टस्को माध्यमबाट नेपालका पर्यटकीय गन्तव्यको प्रबर्दनको साथै सडक सुरक्षाको सन्देशसमेत पुर्याउन र्याली सफल भएको श्रेष्ठले बताए । र्यालीमा मोटर स्पोर्टस्को अन्तर्राष्ट्रिय नियम प्रयोग गरिएको र्यालीको टेक्निकल टिमका संयोजक तथा नासाका सचिव सुशील तण्डुकारले जानकारी दिए ।
‘नेपालको भूबनावटलाई सुहाउँदो मोटर स्पोर्टस्का माध्यमबाट नेपालका पर्यटकीय गन्तव्यको प्रवद्र्धनका साथै सडक सुरक्षाको लागि र्यालीले सहयोग पुर्याएको हाम्रो विश्वास छ,’ संयोजक श्रेष्ठले भने, ‘सडक सुरक्षामा सबैको चासो बढाउन पनि प्रतियोगिता आयोजना गरिएको हो ।’
Comments are closed.