काठमाण्डौ ःचैत्र ९–डिस्कवरी न्युज नेटवर्कद्वारा सञ्चालित रातोपाटी डटकमको प्रधान सम्पादकमा पत्रकार अरुण बराल नियुक्त भएका छन् । डिस्कवरी न्युज नेटवर्क व्यवस्थापनले बराललाई चैत ९ गतेदेखि प्रधान सम्पादकमा नियुक्ति गर्ने निर्णय गरेको हो ।
सोमबार रातोपाटीको कुपण्डोलस्थित कार्यालयमा डिस्कवरी न्युज नेटवर्कका अध्यक्ष विजया शर्माले बराललाई स्वागत गरिन् । बराललाई निवर्तमान प्रधानसम्पादक जिवेन्द्र सिम्खडाले पदभार हस्तान्तरण गरे ।निवर्तमान प्रधानसम्पादक सिम्खडालाई डिस्कवरी व्यवस्थापनले सल्लाहकार सम्पादकमा नियुक्त गरेको छ धरानको ब्लास्ट दैनिकबाट पत्रकारिता आरम्भ गरेका नवनियुक्त प्रधान सम्पादक बराल यसअघि जनआस्था साप्ताहिक, नयाँ पत्रिका दैनिक हुँदै अनलाइनखबरको सम्पादक रहिसकेका छन् । उनले अनलाइनखबरमा ८ वर्ष सम्पादकीय नेतृत्व गरेका थिए ।
धनकुटामा जन्मिई मोरङ स्थायी बसोबास भएका बराल ‘माओवादीमा भूकम्प’, ‘आलोक सहिद कि गद्दार’ र ’बाहुनवाद’ पुस्तकका लेखकसमेत हुन् ।
यसैबीच डिस्कवरी व्यवस्थापनले कार्यकारी सम्पादकबाट चन्द्र खाकीले दिएको राजीनामा स्वीकृत गरेको छ । व्यवस्थापनले उनले संस्थाप्रति पुर्याएको भूमिकाप्रति आभार व्यक्त गरेको छ ।कार्यक्रममा संस्थापक सम्पादक ओम शर्माले रातोपाटी बरालको नेतृत्वमा नयाँ उचाइमा पुग्ने विश्वास गरे यस्तै सल्लाहकार सम्पादक जिवेन्द सिम्खडाले साढे २ वर्षको अवधिको नेतृत्व सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहकर्मीका साथै व्यवस्थापनलाई धन्यवाद दिए । सिम्खडाले नवनियुक्त प्रधानसम्पादक बराललाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिए ।
यसैगरी प्रधान सम्पादक बरालले टिमवर्कबाटै सफल हुन सम्भव रहेको भन्दै सोही स्प्रिटमा रहेर जनताको पक्षमा निरन्तर पत्रकारिता गरिने बताए । अबको आवश्यकता जनताको मुद्दामा केन्द्रित भएर पत्रकारिता गर्नुपर्ने भन्दै उनले त्यसका लागि रातोपाटी उपयुक्त प्लेटफर्म भएकाले आफू नेतृत्वमा आएको बताए ।
कार्यक्रममा अध्यक्ष विजया शर्माले अनलाइन पत्रकारिताका हस्ती बराललाई संस्थामा आबद्धता गर्नु खुसीको कुरा भएको भन्दै सफल कार्यकालको शुभकामना दिइन् ।
कार्यक्रममा प्रवन्ध निर्देशक अर्जुन पन्तसहित सम्पादकीय विभागका नेतृत्व तथा सहकर्मीहरुको सहभागिता रहेको थियो । स्रोत रातोपाटी
Comments are closed.