राप्रपा कास्कीको प्रवक्तामा अरुण गिरी

पोखरा, १७ बैशाख ,

राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले जिल्ला प्रवक्ताको रुपमा युवा नेता अरुण गिरीलाई नियुक्त गरेको छ । पार्टीको जिल्ला कमिटि बैठकले गिरीलाई प्रवक्ता नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकपछि राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले गिरीलाई जिल्ला प्रवक्ताको रुपमा सर्वसम्मतीले निर्णय भएको जानकारी दिए । पार्टीले अब जिल्लाको सम्पूर्ण खाले सूचना र जानकारीहरु प्रवक्तामार्फत दिईने पनि बैठकले निर्णय गरेको छ ।

अध्यक्ष गुरुङले गिरीजस्तो युवालाई पार्टीको जिल्ला प्रवक्ता नियुक्त गर्न पाउँदा आफू पनि निकै खुशी भएको बताए । ‘राप्रपा पुराना र बुढोहरुको पार्टी हो भन्ने आरोपलाई हाम्रो यो निर्णयले ठाडै अस्विकार गर्छ ।’ उनले भने–‘वास्तवमा युवाहरुको सबैभन्दा नजिकको पार्टी नै राप्रपा हो ।’ उनले गिरीलाई युवा जोश र जाँगरसहित पार्टीको काममा जिम्मेवार भएर लाग्न शुभकामना समेत दिए ।

लामो समयदेखि राप्रपासँग नजिक रहेका गिरी केहि दिन अगाडि मात्रै औपचारिक रुपमा राप्रपा प्रवेश गरेका थिए । राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको हातबाट पार्टीको सदस्यता लिएका गिरीलाई कास्की जिल्ला प्रवक्ताको रुपमा पार्टीले अगाडि सारेको हो । संचारकर्ममा रहँदै आएका गिरीलाई प्रवक्ता बनाईसकेपछि पार्टी अझै बढि संचारमैत्री बन्ने विश्वास जिल्ला अध्यक्ष गुरुङले व्यक्त गरे ।

प्रवक्ताको रुपमा नियुक्ति लिएसँगै राप्रपा नेता अरुण गिरीले पार्टीले आफूलाई गरेको भरोषाले थप जिम्मेवार बनाएको प्रतिक्रिया दिए । ‘पार्टीले जुन विचार बोकेर अगाडि बढेको छ त्यसलाई सशक्त रुपमा स्थापित गर्ने मेरो लक्ष्य हुनेछ ।’ राप्रपा कास्कीको प्रवक्ता भैसकेपछि गिरीले भने–‘राप्रपा लक्षित भ्रमहरु अन्य दल र वैचारिक संगठनहरुले जसरी नकारात्मक रुपमा फैलाईरहेका छन् । त्यो भ्रम चिर्नका लागि म सदैव लाग्नेछु । राप्रपा जनताको पार्टी हो र जनतालाई विकल्प दिन सक्ने पार्टी राप्रपा मात्रै हो भन्ने कुरा पुष्टी गर्ने गरि मैले काम गर्नेछु ।’

त्यो बाहेक राप्रपा कास्कीको आधिकारीक धारणाहरु आफुले दिने उनले बताए । त्यस्तै आफू पनि युवा भएकोले पार्टीप्रति युवाहरुको आकर्षण बढाउने कुरामा आफ्ना ध्यान केन्द्रित हुने गिरीले बताए । साथै उनले आसन्न स्थानिय तहको निर्वाचनमा पार्टीको उम्मेदवारहरुलाई जिताउनका लागि आफू र आफ्नो टिम दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Comments are closed.