मौसम चाडबाडकै हो । हिन्दु परम्परा अनुसार साउन १ गतेलाई साउने संक्रान्ती अर्थात लुतो फाल्ने दिनका रुपमा मनाईसकेका छौं । बजारमा साउनको रौनक बढ्दै छ । अझ विशेष गरी महिला दिदीबहिनीहरुलाई साउनले रङ्गीन बनाईरहेको छ । दिदीबहिनीहरुलाई साउनले तिजै सरह छोपेको भान हुन्छ । यो महिना विशेष गरी भगवान शिवजीको आराधनामा व्यतित हुने अनि महिना भरी नै चोखो खाने, माछा–मासु, लसुन, प्याज जस्ता कुराहरु नखाने तथा यस महिनामा पर्ने ५ वटा सोमबार व्रत बस्ने गरेको पाइन्छ । ५ वटा सोमबार अन्य महिनामा नपर्ने हुँदा यो महिनालाई विशेष मानिन्छ । साउन महिनाको आगमन सँगै हरियो चुरा, पोते, मेहेन्दी अनि पहेंलो वस्त्र लगाउनु पर्ने भन्दै बजारमा दिदीबहिनीहरुको निकै भीडभाड देख्न सकिन्छ । विवाहिताहरु हुन् वा अविवाहता नारी सबैले हातैभरी हरियो–पहेंलो चुरा बजाउँदै हिंडेको देखिन्छ । बजारमा चुरा व्यापारीहरुलाई चुरा बेच्न भ्याइ–नभ्याइ छ ।
भारतबाट आयात हुने काँचका हरिया चुरा, प्लाष्टिकका विभिन्न खाले बालाहरुको व्यापक रुपमा कारोबार हुने गरेको चुरा पसलेहरु बताउँछन् । ठूला–ठूलो कस्मेटिक तथा होलसेल चुरा पसलेदेखि साधारण पसलेहरुलाई समेत यतिबेला चुराले निकै फाइदा पुर्याएको पाइन्छ । सामान्तया ३० रुपैयाँदेखि २÷३ हजार सम्मका हरिया चुराहरु बिक्री हुने गरेको पृथ्वीचोकमा कस्मेटिक तथा चुराको होलसेल व्यवसाय गर्दै आएकी देवकी बराल बताउँछिन् ।
साउन सधैंका वर्ष आउँथे तरपनि एक दशक यताको साउन महिनामा भने चाहिने भन्दा बढी देखवटी बढेको देखिन्छ । साउन महिनामा हरियो चुरा–पोते, पहेंलो वस्त्र लगाउनुपर्छ भनेर न कुनै शास्त्रमा लेखिएको छ न लेखिने छन् । देखासिकी गर्ने प्रवृत्ति रहेको नेपालमा यो फेसनले सिजन पर्खेर बस्ने व्यापारीलाई भने फाइदा पुगेको देखिन्छ ।
संक्रान्तीका दिन लुतो फाल्ने भन्दै पहिला–पहिला घर गाउँमा फूल्ने तिउरी फूलका पात पिंधेर लगाउने चलन थियो । तर, आज भारतबाट आयातित विभिन्न केमिकलयुक्त मेहेन्दी, जुन लगाएको १० मिनेटमा नै हत्केला रङ्गीन बनाउँछ अनि दिर्घकालिन रुपमा छाला सम्बन्धी रोग निम्त्याउने गर्छ । अहिले २० रुपैयाँ पर्ने मेहेन्दी लगाइदिए बापत दुई सयदेखि एक हजारसम्म असुल्नेको भीडभाड पाइन्छ बजारमा । पोखराका व्यस्त बजार पृथ्वीचोक, सृजनचोक, चिप्लेढुङ्गा, महेन्द्रपुलमा मेहेन्दी बिक्री गर्ने, लगाइदिने र लगाउनेहरुको लाम देख्न पाइन्छ । अझ युवतीहरु मेहेन्दीको रङ्ग गाढा बसेमा हुनेवाला श्रीमानको माया पनि गहिरो हुने सोच राख्दछन् ।
यति महँगो पैसा तिरेर मेहेन्दी लगाउनु हुन्छ भन्ने प्रश्नमा उनिहरु बर्षमा एकपटक लगाउने त हो नि । भोलीबाट साथी भाइबीच कसको राम्रो भयो भन्ने होड चल्छ अनि नलगाएर के गर्नु भन्ने जवाफ दिन्छन् । तर, पोखरा अर्चलबोटको मेहेन्दी दास भने २० रुपैयाँको मेहेन्दी घरमै लगेर विभन्न सामाजिक सन्जालमार्फत बुट्टा खोजेर घरमै आफै लगाउने अनि आमा, बहिनीहरुलाई पनि लगाइदिने बताउँछिन् ।
यसरी यस साउन महिनामा पर्ने हरेक सोमबारका दिन विवाहित महिलाहरु आफ्नो श्रीमानको सु–स्वास्थ्य अनि दिर्घायुको कामना गर्दै व्रत बस्ने अनि अविवाहितहरु भने आफ्नो भावी अथवा हुनेवाला श्रमिान असल, आफूलाई माया गर्ने अनि सोचेको जस्तै पाइयोस् भनेर व्रत बस्ने गरेको पाइन्छ । पोखराका विभिन्न शिवालयहरुमा साउनका ५ आटै सोमबार भीडभाड हुने गर्छ । अझ पोखराको गाइघाटबाट बोलबम यात्रा सुरु गरेर घडामा जल लिई नाच्दै गाउँदै बैदामको केदारेश्वर महादेवका मन्दिरमा चढाइ भजन किर्तन गर्ने गरिन्छ ।
यसरी यो साउन महिना धर्मको नामबाट धेरै नै प्रख्यात छ । त्यो सँगै देखासिकी अनि फेसनले पनि यो महिनामा बढवा पाएको देखिन्छ । नाडी भरि हरियो चुरा, हत्केला भरि मेहेन्दी, पहेंलो वस्त्र लगाई अनि महिना भरि चोखो खाइ, सोमबारका दिन महिलाहरु भोकै बस्छन् । त्यो पनि श्रीमानको सु–स्वास्थ्य अनि दिर्घायुका लागि । तर, श्रीमानहरु चुरोट, रक्सी अनि मासु नखाइ घर प्रवेश गर्दैनन् अनि उनिहरुको व्रतले कुन पाटोबाट मुक्ति पाउँछ त ? पोखरा विरौटा कि विनिता खवास भने आजसम्म कहिले व्रत नबसेको अनि यो पालि पनि नबस्ने बताउँछिन् । त्यस्तै लेखनाथकी अमृता धमला जसले भर्खर जनप्रिय क्याम्पसबाट अंग्रेजीमा स्नातक सकेर बसेकी छन् । उनि भन्छिन् हामी राम्रो असल श्रमिानको लागि व्रत बस्ने २१ औं शताब्दीमा ? हाम्रा लागि अनि हामीलाई पाउन कुन केटा व्रत बस्छन् अनि हामी चाहीं के कुरामा कमि छौं भन्दै यस्तो भोकभोकै बस्ने, हरियो चुरा लगाउने जस्ता कुराहरुको आफू विरोधी भएको बताउँछिन् । तर, घारीपाटनकी करुणा रानाभाट भने कोही कसैका लागि नभएर आत्मसन्तुष्टीका लागि सोमबारका दिन पुजा गर्ने व्रत बस्ने बताउँछिन् । उनि मन्दिर जाँदा पुजा गर्दा आनन्द आउँछ त्यसैले गर्दा साउनका सोमबार मात्र चोखो खाएर बस्छु भन्छिन् ।
रितिरिवाज परम्परालाई अँगाल्नु पर्छ यसको लोप हुन दिनु हुँदैन तर, पर्व मनाउने भन्दै अनि धर्मको नाम लिंदै विकृति भित्राउने अनि हुने नहुने कुराहरुलाई बढवा दिएर संस्कार अनि संस्कृतिको उल्लंघन गर्ने अधिकार चाहीं कोही कसैमा छैन । व्रत बस्नुहोस्, पुजा गर्नुहोस् । तर आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस् । पेट भरि खानेहरुका लागि आफ्ना पेट भोको राखी आँत नसुकाउनुहोस् हरियो चुरा, पहेंलो वस्त्र बिना पनि मन्दिरमा भगवानले प्रवेश दिन्छन् धर्मका नाममा फेसनलाई नअँगाल्नुहोस् । सम्पूर्ण दिदीबहिनीहरुलाई साउनको शुभकामना ।
Comments are closed.