पुस्तक चर्चा
बाङ्गाटिङ्गा धर्साहरु जस्ता छन् पोखरेली मुक्तक । लेखनको चारपाटा मिलाउन जानेका मुक्तककारहरु अर्थपनि भएका छन् । लेख्दालेख्दै सिङ उम्रिएकाहरुको जगजगी उत्तिकै छ । यो घरभित्रको कुरा हो । बाहिर, पोखरा र पोखरेली मुक्तकको अर्कै शान छ । नैरन्तर्यको यो प्राप्तीमा विगतका जराहरु छन् । बर्तमानका हाँगाहरु छन् । भविश्यका पातहरु पनि छन् । स्वत्वबोधमा पात र जराहरुका विच दुरी छ । जरालाई आधार हुनुको अहम् छ । पातहरुले बैंश र सौन्दर्यको तुजुकमा आयु छोट्याउँदै छन् । द्धिपदी हुन् वा गद्य शैलीमा सात चरणसम्म लेखिएका पोखरेली मुक्तकहरु, अलग अनुहारका अलग बान्की प्रस्तुत गर्दै आफ्नो पहिचान स्थापित गर्ने सन्दर्भमा सवल ईतिहासको निर्माण गरेका छन् । देशभर आफ्नो आकर्षणको जादु छरेको रुबाई, पोखराको यो बान्कीमा फेवातालको तिलपिया माछा जस्तो बनेको छ । पञ्चपदी, षट्पदी बान्कीका पोखरेली मुक्तकको अस्तित्व संकटमा छ । भनौ, नयाँहरुको बुझाईमा मुक्तक भनेको रुबाई हो र रुबाई भनेको मुक्तक हो । “सबै रुबाई मुक्तक हुन् । सबै मुक्तक रुबाई होईनन् ।” प्रकाशित पुस्तकहरुमा लेखिएकै छन् । बाटो बनाउन मुस्किल नै हुन्छ । बाटो हिँडिरहेका तन्नेरीहरुलाई यही प्रिय छ । प्रिय हुनुका पछाडी रुबाई शैलीको आफ्नै कारणहरुपनि छन् । खैर ! सबै रुबाईहरु मुक्तक हुन् ।
सिमित कतिपय सन्दर्भमा अपवाद जस्तै लाग्छ । अपवादलाई छोडौं । बाङ्मयिक सक्रियताको उर्जा उमेरको चढाईले अन्यत्र पनि पोख्न सिकाउँछ । अथवा, पोख्ने तरिका फरक हुन थाल्छन् । साठीको दशकमा मैले चिनेको कृष्ण देबकोटा सत्तरीमा आईपुग्दा फरक छन् मेरा आँखामा । शायद, म मा पनि यही लागु होला । कृष्ण देवकोटा र दौंतरी गोविन्द गिरीले बाङ्मयिक स्वत्व खोज्दै गरेको दशक थियो क्यारे ! साठीको दशक । यिनिहरुले गजल सन्ध्या पोखरा र नवनित साहित्य सागरद्वारा संयुक्त रुपमा सञ्चालित साहित्यिक अभियान “अक्षरयात्रा”मा सानै भएपनि प्रतिभा पुरस्कार स्थापना गरेका छन् । मुक्तकको उत्थान, प्रवद्र्धन र श्रृ–बृद्धिका लागि मुक्तक मञ्च पोखराको गठनको श्रेय यिनै दौंतरीलाई जान्छ । पोखरेली मुक्तकको नयाँ बाटो यिनिहरुको पहलमा बन्यो । भलै, राजमार्गका दावा अन्यत्रै छ । अथवा, राजमार्ग बन्न मुक्तक मञ्चले केही सिक्दै छ ।
लेखेर बाँच्न कठिन छ । बाँचेर लेख्न पनि त कठिन छ । लेखेको छाप्नु भनेको कतिपयका लागि केटाकेटिले बर्षदिन खाने दुध वा खाजा कटौती गर्नु पनि हो । साथीहरुले खाजा खायौ भन्दा भर्खर खाँए भनेर पेट अठ्याउनु पनि हो । घरकाहरुको कच्कच् सहनु पनि हो । यस्तै केही कृष्णले भोगेनन् भन्न म सक्तिन । मलाई राम्रै थाहा छ । साठीकै दशकमा यिनको पाण्डुलिपी तयार भैसकेको थियो । यिनको पाण्डुलिपीले हाराहारी एक दशक यिनकै केही… कटाएर प्रतिक्षा गरिरह्यो । ०७२ को बैशाख १ मा विमोचित कृष्ण देबकोटाको “अग्निशिखा” मुक्तक सञ्चयनकाप्रति पोखरेली मुक्तक पारखीहरुले गरेको प्रतिक्षामा “अग्निशिखा”को वजन कस्तो रह्यो, समिक्षाहरु भैरहनेछन् । लामो समय सिरानीमा रहेको पाण्डुलिपीसँग सच्चिन र परिमार्जित हुन बाँकी थुप्रै कुराहरु थिए । कृष्णले भ्याएनछन् । सकेनछन् भनिहाल्न “अग्निशिखा”ले दिँदैन । परिमार्जनलाई थप एक वर्ष कुरेको भए के जान्थ्यो ? भन्नुको पनि शायद अब औचित्य रहेन ।
साहित्य सरल, सहज र बोधगम्य हुनुपर्छ भन्दैमा बात मारेजस्तो पनि हुनुहुँदैन । गाली गरेजस्तो पनि हुनुहँुदैन । कृष्ण कथ्य ज्यादा र लेख्य कम लेख्ने श्रष्टा हुन् । “अग्निशिखा”ले त्यस्तै भन्छ । मुक्तकमा व्यङ्ग्य हुनुपर्छ भन्ने चेतका वरिपरि लेखिएका धेरै मुक्तकहरु छन् । मुक्तकमा व्यङ्ग्य हुनुपर्छ । व्यङ्ग्यमात्र पनि हुनुहुँदैन । राजनीतिक अराजकता बाँचेका यूवाहरुको आवेग कृष्णको पनि हो ।
सिमापारि यो देशका खाकाहरु छन्
भतिजीलाई बेचिदिने काकाहरु छन्
कसो गरी हुन्छ विकास तपाईं आफैँ भन्नोस्
देशको उच्च ओहोदामै डाँकाहरु छन् ।
लेखनको आधार विषय हो । के लेख्ने भन्ने तय भएपछि अक्सर लेखिन्छ होला । विषयलाई गम्भिर वा सम्प्रेशणीय बनाउने कला लेखकले बुन्नैपर्छ । कृष्णका कतिपय मुक्तकका कला कमजोर देखिन्छ । बाँकी रहन्छ विषय र ब्यङ्ग्य । कतै व्यङ्ग्यकै लागि विषय तन्किएझै लाग्छन् । छरिएझै लाग्छन् ।
अब मेरो मुक्तकमा नि छन्द हुनेछ
मुक्तक पढ्दा मुस्कान भने मन्द हुनेछ ।
कोही कसैले झर्किएर विरोध गर्यो भने
सम्झीराख त्यो दिन नेपाल बन्द हुनेछ ।
जस्ले, जस्तो सुकै विषयमा पनि नेपाल बन्दको आब्हान गरेको र सफल पनि भएका दैनिकी बाँचेका कृष्णलाई विषयले खिचेकैले यो मुक्तक आएको हुनुपर्छ । बिकृति, विसंगती नलेख्ने लेखक शायदै हुनन् यो समयमा । कहाँ, कस्को कति द्धष्टि पुगेको छ भन्ने प्रधान हो । बिकृतिसंगै प्रेम र प्रेमका अन्य आयामहरुपनि उनको संग्रहमा छन् ।
उनले मागिन् जिन्दगीको खाका झिकी दिएँ
लौ सुन भनी मिठो भाका झिकी दिएँ
उनले केवल अँध्यारोमा साथ दिन्छु भनिन्
मैले पनि हाँसी–हाँसी आँखा झिकी दिएँ ।
पहिले सुम्पिदिएँ अभिभारा जिन्दगीको
ठिक लागेन अहिले तिम्रो पारा जिन्दगीको
जान्छ्यौ भने जाऊ तिम्रो बाटो छेक्दिन म
तर मुल्य तिर्नुपर्छ सारा जिन्दगीको ।
कृष्णका कतिपय मुक्तकहरु एकपटक पढेपछि या सुनेपछि सम्झिइने खालका छन् । यो उनको लेखनको सवल पाटो हो । संग्रहमा विषयको बैबिध्य छ । केही मुक्तकहरु उनको आफ्नो परिचयलाई स्थापित गर्ने वा उनलाई पोखरेली बाङ्मयमा चिनाउने मुक्तकका रुपम समेत परिचित छन् ।
सधैं पाठ घोकाउँछन् र त पास हुन्छन्
पढ्दा पढ्दै भोकाउँछन् र त पास हुन्छन् ।
पाँच बर्षको बच्चालाई कापी, किताब, झोला गरी
आठ–दश किलो बोकाउँछ्न र त पास हुन्छन् ।
नेपालीको आशा जब मनभित्र नै मर्छ
अनि बैरी सिमा मिच्दै मेची कोसी तर्छ
यस्तो गरि लड्नुभन्दा चिट्ठा हालौँ बरु
जाबो त्यो सिंहदरवार जसलाई परे पर्छ ।
कृष्णले साठीको दशकमा लेखेका मुक्तकहरुको बाहुल्य रहेको संग्रहमा तात्कालीन परिस्थितीजन्य विषय वा प्रसङ्गहरु समाविष्ठ हुुने कुरा स्वभाविक पनि हो । फरक कालखण्डमा, फरक प्रसङ्गमा मुक्तकहरु लेखिएका हुनुले संग्रहले विषयको बैबिध्य प्राप्त गरेको छ । “युज टु पत्रकारीता” देखेका कृष्ण विषयको उद्घाटन यसरी गर्छन ।
उनीहरुका नाममा कहिल्यै फेता आँउँदैनन्
त्यसैले त पत्रकारहरु यता आउँदैनन् ।
यो कार्यक्रमलाई पत्रिकाले तबसम्म छाप्दैनन्
जबसम्म उद्घाटनमा नेता आउँदैनन् ।
कृष्ण हेर्दा सोझा लाग्छन् । बुझ्दा सामान्य दैनिकी नै बाँच्छन् । शहर बाँचेर पनि शहरले गाँजेको छैन कृष्णलाई । बरु, शहरका बिकृति र विसङ्गतीहरुले बिझाएको छ । ज्याज र हिप्पीको भुतले छाडेका बाछिटाहरुको ट्याटु गुन्यु र चोलो भित्र पसेको छ ।
जिउमा सियो रोप्नु पर्ने कस्तो दिन आयो
अङ्ग अङग खोप्नुपर्ने कस्तो दिन आयो
उनीहरु निशङ्कोच थोरै लुगा लाउँछन्
हामीले आँखा छोप्नुपर्ने कस्तो दिन आयो ।
लामो समयको साहित्यिक उठबसले गर्दा कृष्णले यस क्षेत्रका साहित्यिक संस्थाहरुको अवस्थालाई समेत नजिकबाट नियालेका छन् । केही निस्वार्थ यस क्षेत्रको बाङ्मयिक बढोत्तरीका लागि समर्पित छन् त कोहीलाई करनी भन्दा कथनी ज्यादा गर्नुपर्ने अवस्था छ । लेखन साम्राज्यको विर्ता थामेर हुटिट्याउँ बन्नेहरुदेखि कोठे संस्था चलाउनेहरु सम्मको यथार्थ पोखराले व्यहोरेको छ । अंैचो पैंचोको पुरानो श्रृङ्खलाले नयाँ स्वरुपमा निरन्तरता पाईरहेको छ भने तथाकथित शक्तीकेन्द्रको भजन गाउने प्रचलन पनि चलेकै छ । इत्यादीको उत्खननमा कृष्णको यो मुक्तकले सामान्य उजागर गर्ने प्रयत्न गरेको छ ।
प्रस्ट छैन कार्यनीति तिम्रो संस्थामा
रै‘छ कठिन परिस्थिति तिम्रो संस्थामा
बाउ आयोजक, छोरी सञ्चालक भव्य कार्यक्रम
ज्वाईँ प्रमुख अतिथि तिम्रो संस्थामा
समग्रमा, हाम्रो पुस्ताले बाँच्दै गरेको बर्तमानका केही थान अराजकताहरु, केही थान असमानताहरु, केहि थान बिकृति र विसङ्गतीहरुको उजागर गर्ने प्रयासको एकखाले पहल हो “अग्निशिखा” । बाँच्दै जाँदा, भोग्दै जाँदाका प्रसङ्गहरु रुबाईका माध्यमले संकलित बने ।
उपकरण दामी छन् हाम्रो अस्पतालमा
सबै ब्यक्ति नामी छन् हाम्रो अस्पतालमा
हिजोआज क्लिनिकतिर ब्यापार घटेपछि
डाक्टर आफैं बिरामी छन् हाम्रो अस्पतालमा ।
रुबाईसँग कृष्णको गहिरो प्रेम छ । कतै मुक्तक विषयक छलफलमा यिनले व्यक्त गरेका विचारहरुको धुमिल स्मृति मसँग छ । यिनले रुबाई इत्तरका मुक्तकहरु लेखेको पनि मलाई थाहा छैन । लेख्नैपर्छ भन्ने पनि होईन । रुबाई लेखनको कलात्मकतासँग यिनि परिचित लागेपनि कला पक्षका सन्दर्भमा कृष्णले मेहनत गर्नुपर्ने देखिन्छ । एकसय पच्चिस मुक्तकहरुको संग्रह “अग्निशिखा” संग्रह प्रकाशनको खडेरीमा अलिकति नै भएपनि आसाको सञ्चार गर्ने गरि आएको छ । तत्कालको घटना प्रधान लेखनले चिरस्थायी प्रभावको अप्ठ्यारो मान्छ । समय र सन्दर्भ वितेपछि नमिठो वा अस्वभाविक लाग्ने हाम्रा चर्चित हाँस्य टेलिश्रृङ्खला जस्ता उनका कतिपय मुक्तकहरुको साटो अलिक चिरकालिन महत्व राख्ने विषय वा प्रसङ्गकेन्द्रित भएको भए सुन्दर हुन्थ्यो होला । भलै, केही मुक्तकहरु फरक लाग्छन् ।
चोट परिरहेछ यसरी घाउ नदेख्ने गरि
जसरी काटिन्छ काटिनेले दाउ नदेख्ने गरि
सम्पत्तीको नाममा एउटा जागिर खाइएको छ ।
घरमा छोराछोरीले पनि बाउ नदेख्ने गरि ।
अन्त्यमा, “अग्निशिखा” सामान्य नाम हो । यसको गरिमा भनौं वा विशेषता यसभित्र संग्रहित मुक्तकहरु नै हुन् । लेख्नै अप्ठ्यारो बर्तमान बाँचेर कृष्णले लेखे । खाजाका कैयन बसाँइ विगारेर प्रकासन पनि गरे । आफ्नै छोरीको जन्मदिन पारेर विमोचन पनि गरे । विमोचन समारोहमा नराम्रो त कस्ले पो भनिदिन्छ र ! सवैले बधाई पनि दिए । प्रतिक्रिया त अहिले थापिरहेका हुनन् । प्राप्त प्रतिकृयाहरुबाट कृष्णले विनापूर्वाग्रह सिक्नेछन् । सिकुन् । लेखन निरन्तरता र स्तरियताको कामना गर्दै अन्त्यमा उनकै एक मुक्तकबाट विदा हुन्छु ।
तिम्रा भित्री प्रतिभालाई चिन्छ सरकारले
तिम्रा एक–एक सिर्जनालाई किन्छ सरकारले
लेख, लेख बाँचिञ्जेल देशकै लागि लेख कवि
मरेपछि पुरस्कार दिन्छ सरकारले ।
अस्तु
manndai30@gmail.com
Comments are closed.