पोखरा १६ जेठ । स्याङजा जिल्ला अस्पतालको आईसोलेसन वार्डमा रहेका कोरोना भाइरस संक्रमितका लागि जिवनशैली परामर्श योगसंगै रोगप्रतिरोध क्षमता अभिृबद्धि गर्ने जडिबुटी चिया र आयुर्वेद औषधिहरुको प्रयोग गर्न थालिएको छ । उक्त औषधिले संक्रमित ब्यक्तीमा रोग प्रतिरोधक क्षमता वढाउने चिकित्सक डा कार्कीले वताउनुभयो ।
आयुर्वेदिक औषधिहरुले कुनै नकरात्मक प्रभाव नपर्ने र विभिन्न अनुसन्धानहरुले जडिबुटीहरुमा भएका रासायनिक पदार्थमा एन्टी अक्सिडेन्ट, इम्युनोमोडुलेसन साथै एन्टीइन्फलामेटरी गुणहरु देखाएको छ । लाक्षणिक चिकित्सानै अहिलेको मुख्य चिकित्सा योजना भएकोले आयुर्वेद औषधि एवं जडीबुटीमा पनि इमर्जेन्सी अवस्थामा बाहेकका माइल्ड मोडरेट केशका लागि सुरक्षित रहेको डा.कार्कीको भनाइ छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङजाका आयुर्वेद चिकित्सक डा. सुभद्रा कार्कीका अनुसार नेपाल सरकारद्वारा जारी आयुर्वेद एवं वैकल्पिक चिकित्साबाट कोभिड(१९) रोकथाम एवं व्यवस्थापन सम्बन्धि निर्देशिका बमोजिम हाल आइसोलेसनमा राखिएका ४ जना संक्रमितहरुलाई आयुर्वेद औषधिको प्रयोग गरिएको बताइएको छ ।
संक्रमित ब्यक्तीको हौसला बढाउनका साथै आईसोलेसन ब्यवस्थापनको अनुगमनका क्रममा स्वास्थ्य निर्देशक डा.बिनोद बिन्दु शर्मा, मन्त्रालयका नीति योजना कानुन तथा जनस्वास्थ्य महाशाखा प्रमुख शम्भु ज्ञवालीसंगै अस्पताल र आयुर्वेद केन्द्रमा पुग्नु भएका गण्डकी प्रदेश सामाजिक बिकास मन्त्री नरदेबी पुनले अस्पतालसंग समन्वय गरि गरिएको उक्त कार्यको प्रसंसा गर्दै अन्य जिल्लाले पनि यसको अनुसरण गर्नुपर्ने बताउनुभएको थियो ।
अस्पतालमा रहेका कोरोना संक्रमितहरुमा अहिले अश्वगन्धा, तुलसी, गुर्जो र महासुदर्शन चुर्ण, जस्ता जडिबुटी एवं आयुर्वेद औषधिको प्रयोग गरिएको छ । त्यसैगरी बिरामीहरुमा देखिएको तनाव व्यवस्थापनको लागी योग र प्राणायम पनि सुरु गरिएको छ । योग र आयुर्वेद सहितको एकीकृत चिकित्साको माध्यमबाट बिरामीहरुको उपचारमा थप प्रभावकारी भइरहेको चिकित्सक कार्कीले बताउनुभयो ।
भारतमा सरकारले नै कोभिड(१९) मा अश्वगन्धा, पिप्ली, मरिच र जेठीमधुको प्रभावबारे अनुसन्धान सुरु गरेको छ भने आयुर्वेदतर्फ कुल १५ वटा अनुसन्धानहरु भैरहेका छन् । हालसम्म कोरोना भाइरसको लागी कुनै औषधि वा भ्याक्सिन पत्ता लागेको छैन ।
Comments are closed.