लायन्स लेकसिटीको सहयोग हिमालयलाई

पोखरा,

लायन्स क्लब अफ पोखरा लेकसिटीले कास्कीको मादी गाउँपालिका–५,चितेपानीमा रहेको हिमालय आधारभूत विद्यालयका अध्यनरत छात्राछात्रलाई पोशाक,खेलकुद तथा शैक्षिक सामग्री वितरण गरेको छ । एउटा विद्यालयमा चाहिने सम्पूर्ण शैक्षिक र खेलकुद सामग्री तथा पोशाक वितरण गर्ने सूचीमा लायन्स लेकसिटी पहिलो बन्यो ।
सामाजिक उत्तरदायित्व बहनअन्तर्गत पोखराको अग्रणी लायन्स क्लब लेकसिटीले विद्यालयमा अध्ययनरत १९ जना बालबालिकालाई सहयोग गरिएको क्लबका अध्यक्ष कैलाश पालिखेले जानकारी दिए । उनले ती शैक्षिक सामग्रीको प्रयोगको सामान्य तरिका पनि सिकाए । क्लबलाई शैक्षिक सामग्री जुटाउन सदस्य मोहनसिंह लालचनले सघाएका थिए ।
शनिबार विद्यालयमा आयोजित हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब ३२५ बि १ नेपालका एमसीसी दिपक श्रेष्ठले अन्धोपन निवारणको लागि चिनिएको लायन्स शिक्षाको ज्योति बाल्ने अभियानमा पनि उत्तिकै क्रियाशिल रहेको बताए । उनले विद्यार्थीको संख्या गौण र गुणस्तरीय शिक्षा महत्वपूर्ण रहेकोले गुणस्तरीय शिक्षामा जोड दिए ।
विद्यालयका प्रधानाध्यापक चिरञ्जीवी पौडेलले लायन्सको सहयोगलाई निभ्न लागेको बत्तीमा तेल थप्ने अभियानको रुपमा लिइएको बताए । मादी गाउँपालिका ५ का वडा सदस्य होमनाथ तिमिल्सिनाले शैक्षिक गुणस्तर सुधारको लागि अभिभावकको चासो आवश्यक रहेको धारणा राखे ।
सहयोग दाता मोहनसिंह लालचनले आफू कक्षा ७ मा पढ्दा जम्मा ४ जनामात्रै विद्यार्थी भएको स्मरण गर्दै सबैले पढ्न पाउन भन्ने चाहनाले आम्दानीको केही भाग शिक्षाको लागि खर्च गर्दै आएको बताए । विद्यार्थीहरुलाई प्रमुख अतिथि श्रेष्ठ,सल्लाहकारहरु टोपबहादुर थापा,कृष्णमोहन श्रेष्ठ,स्थानीय समाजसेवी टीकाराम सापकोटा, जनप्रतिनिधि होमनाथ तिमिल्सिना,सहयोगी मोहनसिंह लालचन, क्लबका अध्यक्ष कैलाश पालिखे,बिमल विजुक्छेलगायतले शैक्षिक सामग्री वितरण गरेका थिए । क्लबका पूर्वअध्यक्ष तथा डिपुटी चिफ एडभाइजर टोपबहादुर थापाको स्वागत तथा क्लब सेक्रेटरी विद्या मर्सानीको संचालन रहेको कार्यक्रममा सो क्षेत्रका आमा समूह,अभिभावक तथा शुभेच्छुकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम तथा लायन्स क्लब अफ पोखरा लेकसिटीका अध्यक्ष कैलाश पालिखेले शैक्षिक क्षेत्रमा निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

Comments are closed.