लुम्ले, भदौरेतामागी र ढिकुरपाेखरीमा २६ जनाको मृत्यु

lumla 3


पोखरा, १४ साउन/ गत बैशाख १२ गते गएको शक्तिशाली भूकम्पमा ठूलो क्षति हुनबाट जोगिएको कास्कीमा बुधबार राती परेको अविरल बर्षाले ठूलो जनधनको क्षति पुर्याएको छ । बर्षासँगै आएको बाढीपहिरोमा परी कास्कीका तीन गाविसमा २६ जनाको दुःखद निधन भएको छ । १८ जना घाईते भएका छन् भने १३ जना हराईरहेका छन् । सबैभन्दा बढी कास्कीको लुम्लेमा १९ जनाको ज्यान गएको छ भने भदौरेतामागीमा ५ र ढिकुरपोखरीमा २ जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारी अनुसार भदौरेतामागीमा गएको पहिरोमा परी ३ जना हराईरहेका र १४ जना घाईते भएका छन् । भदौरेतामागी गाविस वडा नं. ५ का १० घरमा पूर्ण र ३ घरमा आंशिक क्षति पुगेको छ ।
यस्तै, लुम्ले ६ माझघरमा गएको पहिरोमा पुरिएर १० जना हराईरहेका छन् भने ३ जना घाईते भएका छन् । लुम्लेका १० घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने ज्ञानोदय प्राविको भवनमा पूर्णरुपमा क्षति पुगेको छ । पहिरोमा परी एकै परिवारका ६ जनाको ज्यान गएको छ भने आफन्त कहाँ पाहुना आएका समेत पुरिएका छन् । गाउँमाथि रहेको भीरबाट खसेको पहिरोले सुरुमा २० हजार लिटरको पानी ट्याङ्कीमा क्षति पुर्‍याएको थियो । सुरुमा सानो जस्तो देखिएको पहिरोले पानी ट्याङ्कीलाई क्षति पु‍र्याएपछि नेपाली कांग्रेसका क्षेत्रीय सभापति आईबहादुर गुरुङको घरलाई बगाएको थियो । त्यसपछि गुरुङको भन्दा तल पर्ने १३ घर पूर्ण क्षति पु‍र्याएको पहिरो पोखरा बागलुङ राजमार्ग भन्दा पनि तलसम्म पुगेको छ । करिव ३ सय मिटरसम्म पहिरोले क्षति पु‍र्याएको छ ।
ज्यान जानेमा लुम्ले गाविस वडा नं. ६ का १० बर्षीय अर्जुन गुरुङ्ग, ७० बर्षीय रत्ना पौडेल, ८४ बर्षीय वसन्ती विक, ३२ बर्षीय चिजा विक, १४ बर्षीय सम्झना विक, १० बर्षीय सलिना विक, ९ बर्षीय सुनिल विक, २६ बर्षीय मञ्जु सुनार, उनकी ३ महिनाकी छोरी सिमा सुनार रहेका छन् ।
यसैगरी, ३२ बर्षीय सुन कुमारी जिसी र उनका छोराहरु १० बर्षीय सुगम जिसी तथा ५ बर्षीय संगम जिसी, ५६ बर्षीय छिरिङ शेर्पा, उनकी श्रीमती ३७ बर्षीय किशान्ती शेर्पा, अन्दाजी ७० बर्षीय खिमौरी विक र पदमी देवकोटा, ६० बर्षीय तिल कुमारी देवकोटा, २२ बर्षीय तुलसी देवकोटा र ६७ बर्षीय गुरुदत्त देवकोटाको पहिरोमा परी ज्यान गएको छ ।
लुम्लेमा गएको पहिरोमा परी घाईते भएकी २० बर्षीय रीता देवकोटा, ८ महिनाका बालक बालक नितेश देवकोटा र १८ बर्षीय जुना सुनारको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । तीनै जनाको अवस्था मध्यम रहेको छ ।
सोही ठाउँकी २५ बर्षीय पार्वती देवकोटा, ६ बर्षीय सविन देवकोटा, ६८ बर्षीय इन्द्र प्रसाद देवकोटा, ६२ बर्षीय रुद्रवती देवकोटा, ९ बर्षीय सविता देवकोटा, ४७ बर्षीय लक्ष्मी देवकोटा, ६८ बर्षीय पद्मा देवकोटा, ७२ बर्षीय सियोधरी देवकोटा, ५ बर्षीय कविता शेर्पा र ५ महिनाकी शिशु अञ्जिला शेर्पा अझै पनि हराईरहेका छन् । उनीहरुको खोजीकार्य जारी छ ।
यसैगरी, भदौरेतामागी गाविस वडा नं. ५ का ६५ बर्षीय टिकाराम विक, सोही ठाउँकी ५५ बर्षीय रामकुमारी विक, ३१ बर्षीय गौरी पराजुली, उनका ७ बर्षीय छोरा करण पराजुली र ६५ बर्षीय नन्दकली पराजुलीको पनि पहिरोमा परी मृत्यु भएको छ ।
पहिरोमा परी घाईते भएकी २७ बर्षीय शान्ति पराजुली, २८ बर्षीय विमला विक, ६ बर्षीय सविना पराजुली, २९ बर्षीय विनोद विक, ८ बर्षीय नम्रता पराजुली, ३० बर्षीय निरु पराजुली, ५० बर्षीय अञ्जनी पराजुली, ६२ बर्षीय तुलसी पराजुली, ६ बर्षीय खुशी विक, २८ बर्षीय कमल सुनार, २० बर्षीय अन्तिम सुनार, २१ बर्षीय सुस्मा सुनार, ३ बर्षीय सोनाम सुनार र ३२ बर्षीय माया पराजुलीको पोखराका विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ ।11805913_10206012727590775_624059951_n-650x366

सोही ठाउँका ५ बर्षीय विश्व पराजुली, ७ बर्षीय समिर पराजुली र १० बर्षीय मन बहादुर सुनार अझै हराईरहेका छन् ।
यस्तै, ढिकुरपोखरी गाविस वडा नं. ९ ठूलाचौरमा गएको पहिरोमा परी १७ बर्षीय अस्मिता दाहाल र १९ बर्षीय प्रेमराज दाहालको ज्यान गएको छ । स्थानीय टोपली दाहालको घर पछाडीको ढिस्को भत्किँदा उनीहरुको ज्यान गएको हो । उनको घाईते अवस्थामा सकुशल उद्धार गरिएको छ । यसैगरी, कान्तिपुर टेलिभिजनका पोखरा संवाददाता ईन्द्र पौडेलको सोही ठाउँमा रहेको घर पनि पहिरोले पुरेको छ ।

मृतक सबैको शव पोष्टमार्टमपछि, आफन्तलाई बुझाईसकिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता केदार रजौरेले जानकारी दिए । यसैबीच, बुधबार रातीको पहिरोको पोखराको मध्यभागबाट बग्ने सेती नदीमा बाढी आउँदा रामघाट क्षेत्र डुवानमा परेको छ । त्यहाँका करिब १ दर्जन घर डुवानमा परेका छन् । बर्षापछि बाढी आउँदा कास्कीकोटमा माझथुम सहकारी संस्थाले पालेका ९ सय वटा कुखुरा मरेका छन् । कास्कीकोटकै चिसापानीमा सही सहकारीले पालेका ८ वटा मा पोखरीका १४ हजार माछा बगेका छन् भने ढोट्नेखोलाका भिम प्रसाद सुवेदीले पालेका ३ वटा माछा पोखरीका २ लाख रुपैयाँ मूल्य बराबरका माछा बगेर नष्ट भएका छन् ।

पोखरा–बाग्लुङ राजमार्ग ठप्प
बुधबार रातीको अविरल बर्षापछि गएको पहिरोले अवरुद्ध पोखरा–बाग्लुङ जोड्ने भूपी शेरचन राजमार्ग तत्काल नखुल्ने भएको छ । पहिरोले सडकखण्डको विभिन्न ठाउँमा गरी १ सय मिटर सडक नै बगाएपछि सडक खुल्न समय लाग्ने भएको हो ।
क्षेत्रीय प्रहरी कार्यालय पोखराका अनुसार पर्वतको तिलाहारस्थित बेतनीमा ४० मिटर र र अँधेरी खोलामा करिब ६० मिटर सडक बगेको छ । धौलागिरीलाई जोड्ने एकमात्र सडकखण्ड अवरुद्ध हुँदा बाग्लुंग, पर्वत, मुस्तांग र म्याग्दी यातायात सम्पर्क विहीन भएका छन् ।
यसैगरी, सडकखण्डको एकदर्जन भन्दा बढी ठाउँमा सडकमाथीबाट पहिरो खसेको छ । कास्कीको लुम्लेमा गएको पहिरोमा परेकाहरुको उद्धारका लागि पोखराबाट गएको उद्धार टोलीले डोजरको प्रयोग गरी विभिन्न ठाउँको पहिरो हटाएको छ । पोखराको हेम्जा लगायतका ठाउँमा सडक पुरिएको थियो ।
यद्यपी सडक नै बगाएको ठाउँमा भने सवारीसाधन चलाउन अझै केही दिन लाग्ने भएको छ ।

म्याग्दीमा सात जनाको मृत्यु

म्याग्दीको मुदी र मुनामा बुधबार राति पहिरोमा पुरिएर बेपत्ता भएका सातजनाको शव भेटिएको छ । पहिरोले पुरिएर मुदी गाविस– ५ नेरवाङको गाखर्कमा एकै घरका तीनसहित छजना र मुना गाविस– ४ कुनौटोमा एक बालिकाको मृत्यु भएको हो ।
मुदीको गाखर्कमा पहिरोले गोठ पुरिँदा मुदी– १ का ७० वर्षीय कलो घर्ती, ४७ वर्षीय जीतबहादुर घर्ती र मुदी– ३ का ५२ वर्षीय भिमबहादुर घर्तीको मृत्यु भएको स्थानीय बुद्धिविकास माविका प्रअ जगबहादुर किसानले बताए । उनका अनुसार मुदी २ का ४९ वर्षीय दलदेवी पुन, उनका बुवा ७० वर्षीय किसलाल पुन र आमा ७३ वर्षीया घनदेवी पुनको पनि पहिरोमा पुरीएर मृत्यु भएको छ । यसैगरी, मुना गाविस– ४ कुनौटोमा पहिरोले घर पुर्दा ९ वर्षीया मेलिना पहरे पुनको मृत्यु भएको स्थानीयवासी देवेन्द्र रोकाले बताए ।
गाखर्कको पहिरोमा पुरिएका दुई जनाको शव बिहीबार दिउँसो स्थानीय बासिन्दाहरुले निकालेका छन् । उद्धारमा खटिएका प्रथम धौलागिरी युवा क्लब मुदीका अध्यक्ष खबिन घर्तीका अनुसार गाखर्कमा करिब डेढ सय मिटर माथिबाट खसेको पहिरोले गोठ रहेको सबै ठाउँ पुरिएका छन् । चार वटा गोठमा पालिएका दुई सय ५० भेडाबाख्रा र ७० वटा गाईभैंसी पनि पहिरोले पुरिएका छन् ।
पहिरोपछि गौरखोलामा आएको बाढीले मुदी र नेरवाङ जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ । यसैगरी, म्याग्दीको मुना गाविसको ७, ८ र ९ नम्बर वडामा पर्ने दर गाउँ पहिरोको जोखिममा परेको छ । गाउँ माथिको पहाडबाट पहिरो खस्न थालेपछि करिब एक सय घर जोखिममा परेको स्थानीयवासी बेलबहादुर पाईजाले बताए ।

विभिन्न राजनीतिक दलद्धारा दुःख व्यक्त
नेकपा एमाले कास्कीले कास्कीका विभिन्न ठाउँमा गएको पहिरोमा परि भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । कास्कीको क्षेत्र नम्वर ४ अन्तर्गतका लुम्ले, भदौरे, हेम्जा, चापाकोट, धिताल लगाएतका गाबिसमा खसेको पहिरोमा पुरिएर ठुलो जनधनको क्षति भएको भन्दै नेकपा एमाले कास्कीले आज एक प्रेस बिज्ञेप्ती जारी गर्दै गहिरो दुख व्यक्त गरेको हो । एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले पहिरोमा परी घाईते भएकाहरुको शिग्र स्वास्थ्यलाभको कामना गर्दै सरकारसंग निःशुल्क उपचारको माग गरेका छन् ।
यसैगरी, बुधबार राती परेको अविरल बर्षापछि गएको बाढी पहिरोका कारण लुम्ले र भदौरेतामागीमा भएको मानवीय र भौतिक क्षतिप्रति एकीकृत नेकपा माओवादी कास्कीले पनि दुःख व्यक्त गरेको छ । एमाओवादी कास्कीका अध्यक्ष दीपक कोइरालाले बिहीबार विज्ञप्ति निकालेर घटनाप्रति दुःख व्यक्त गरेका हुन् । एमाओवादीले सम्पूर्ण शोकाकूल परिवारजन र आफन्तहरुप्रति समवेदना प्रकट गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै बिहीबार लुम्ले र ठूलाखेतमा उद्दार र स्वयंसेवामा खटिने नेता, कार्यकर्ताप्रति कृतज्ञता समेत व्यक्त गरेको छ ।
यस्तै, नेकपा–माओवादी कास्कीले पनि बुधबार रातिको अविरल वर्षाका कारण पहिरोले ठूलो धनजनको क्षति गराएको पहिरोस्थल लुम्ले, भदौरे तामागी र ढिकुरपोखरीको स्थलगत अवलोकन गरेको छ । बिहीबार बिहान घटनास्थल पुगेको माओवादी टोली प्रारम्भिक उद्दार कार्यमा जुटेको थियो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको उद्दार टोली पुगेपछि माओवादी टोली पोखरा फर्किएको थियो ।
यसैगरी, नेपाली कांग्रेसका नेता महादेव गुरुङले कास्कीको भदौरेतामागी, लुम्ले र ढिकुरपोखरी लगायतका स्थानमा बुधवार राती आएको बाढी पहिराले पारेको जनधनप्रति गहिरो दुख प्रकट गरेका छन् । गुरुङले बिहीबार विज्ञप्ती निकालेर ज्यान गएका नागरिकप्रति समवेदना र घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । पूर्वराज्यमन्त्री गुरुङले उद्धार र राहत कार्यलाई अझै प्रभावकारी र घाईतेहरुको उपचारमा कुनैपनि कमीकमजोरी नगर्न नेपाल सरकारसंग अनुरोध समेत गरेका छन् । यस्तै, नेपाल तरुण दल कास्कीले पनि विज्ञप्ति निकालेर पहिरोले गएको ठूलो धनजनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ्गले विज्ञप्ति निकालेर दुःख व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

Comments are closed.