दर्जनाैँ घाइते, २० बढी बेपत्ता
१४ साउन, पोखरा । अविरल वर्षासँगै अाएकाे पहिराेले कास्कीको भदौरे तामागी र लुम्लेमा छुट्टाछुट्टै पहिरोमा परि ज्यान जानेकाे सङ्ख्या १६ पुगेकाे छ । दर्जनाैँ घाइते भएका छन् भने २० बढी वेपत्ता भएका छन् । रातकाे समयमा गएकाे पहिरोले लुम्ले र तामागीमा गरि १६ जनाकाे ज्यान गएकाे र अझै उद्धार तथा खाेजी कार्य जारी रहेकाे छ । दुवै ठाउँमा गरी २७ भन्दा बढी घर पुरिएका छन् ।
घटनास्थलबाट २० जना घाइतेको उद्धार गरिएको छ । पुरिएका घरहरूमा सुरक्षाकर्मी पुगेर उद्धार थालेका छन् । तर, पुलसमेत बगेकाले उद्झारमा कठिनाइ भएकाे छ । भूकम्पले कमजाेर बनाएकाे जमीनमा पहिराे गएकाे अनुमान गरिएकाे छ ।
लुम्लेकाे वडा नम्बर ४ र ६ मा पर्ने साङ्लेभीर खसेर च्यानबारेदेखि न्याउरिनथानसम्मका घर पुरिँदा पाँच जना घाइते भएका छन् । उनीहरुको उद्धार गरेर प्राथमिक उपचार गरिए पनि थप उपचारका लागि बाटो अबरुद्ध हुँदा पोखरा ल्याउन समस्या भएको कास्की प्रहरीले जनाएको छ । त्यहाँ पहिरोले ११ घर बगाएको छ भने २ घरमा आंशिक क्षति पुगेको स्थानीय शिक्षक वीरेन्द्र गुरुङले जानकारी दिए । पहिरोले पोखरा-वागलुङ सडक अबरुद्ध भएको छ । बास्कोटा चोकदेखि नै बाटो अबरुद्ध भएको छ भने अहिले डोजरको सहायताले अबरुद्ध बाटो खुलाउने प्रयास भइरहेको छ ।
कास्कीको भदौरे तामागीमा राति १२ बजे आएको पहिरोले घर पुरिँदा भदौरे तामागी-५ डुँडे फाँटकी गौरी पराजुली र उनका छोरा करण पराजुलीको ज्यान गएको हो । अन्य मृतकको सनाखत हुन बाँकी छ । अन्य १४ जना घाइतेको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार स्थानीय शान्ति पराजुली, विमला विक, सविना पराजुली, विनोद विक, नम्रता पराजुली, निरु पराजुली, अञ्जनी पराजुली, तुलसी पराजुली, खुशी विक, कमल सुनार, अन्तिम सुनार, सुस्मा सुनार र उत्सव सुनार गम्भीर घाइते भएका छन् । उनीहरुको उद्धार गरेर उपचारका लागि पोखरा ल्याउने प्रयास भइरहेको छ । भदाैरेमा पहिरोले ५ घर बगाएको छ भने २० घरमा क्षति पुगेको कास्की प्रहरीले जनाएको छ । त्यस्तै भदौरे तामागीसँगै जोडिएको चापाकोटमा दुर्इवटा घर पहिरोले बगाएको छ ।
चापाकोट-९ नौविसे र घाँटीछिनामा १/१ वटा घर पहिरोले बगाएको प्रहरीले बताएको छ । पहिरोले पामे-ठूलाखेत बाटोमा पर्ने पुल बगाउँदा उद्धारमा कठिनाइ भएको छ । प्रहरीले डोरीको सहायताबाट उद्धार गरिरहेको छ । विहान चार बजे घटनास्थलमा गएको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली अहिले घटनास्थलमा पुगेर उद्धारमा खटिएको छ । घटनास्थल पोखराको लेकसाइडबाट १६ किलोमिटर पश्चिममा पर्छ । राती अविरल बर्षासँगै कास्कीका ठाउँठाउँमा ठूलाे जनधनकाे क्षति भएकाे बताइएकाे छ । घटनाकाे जानकारी अाउने क्रम जारी छ ।
म्याग्दीमा पनि पहिरोमा ६ जनाको मृत्यु
बुधवार राती परेको भीषण बर्षापछि आएको पहिरोमा पुरिएर मुदी गाविस–८ टुटुङ्गमा पाँच जना र मुना गाविस ४ मा एक जनाको मृत्यु भएको छ । मुना गाविस–४ मा ९ वर्षीया एलिना पहरे पुनको मृत्यु भएको हो ।
पुरिएरका पाँच जनाको शव फेला परेपनि नाम खुलेको छैन । बर्षापछि म्याग्दी खोलामा आएको बाढीले मुदी गाविसको मुदी र नरवाङ्ग जोड्ने झोलुङ्गे पुल बगाएको छ ।
स्थानीय बुद्धिविकास माध्यामिक विद्यालय मुदीका प्रध्यानअध्यापक जगबहादुर किसानले टेलिफोनमा दिएको जानकारीअनुसार पहिरोमा पुरिएर कम्तीमा एक सय बाख्रा र ५० बढी भैसी र गाई पनि मरेका छन ।
नजिकको प्रहरी कार्यालयबाट घट्नास्थल पुग्न कम्तीमा ६ घन्टा लाग्ने र क्षतिको पूर्ण विवरण नआएको प्रहरीले जनाएको छ । त्यसैगरी बर्षापछि ओखरबोट गाविस–१ फुलबारीमा आएको बाढीले फुलवारी र रुम जोड्ने झोलुङ्गे बगाएको छ ।
‘पहिरोबाट पश्चिम म्याग्दीको उपल्लो भेगका बस्तीमा पहिरोले मानवीय क्षति पुर्याएको स्थानीयले खवर गरेका छन । दुर्गम र टाढा भएकोले प्रहरी घटनास्थल पुग्दै छन’, प्रहरी नायव उपरीक्षक हिरा गिरीले बताए ।
Comments are closed.