लेखनाथका कार्यकारीलाई स्वास्थ्यमन्त्रीले हप्काए, कार्यकारी भन्छन्–‘ तीस बर्षे जागिरकालमा पहिलो पटक अपमानित हुनुपर्यो’

ऋषिकान्त पौडेल/ पोखरा ५ पुस/
“मसँग मन्त्रीज्यूको नम्वर सेभ थिएन । मेरो मोबाईलमा घण्टी बज्यो । रिसिभ गर्नासाथ मैले को बोल्नुभयो भनि सोधें । उहाँले म खगराज हो मलाई नचिन्ने भनेर एक्कासी हप्काउन सुरु गर्नुभयो । लेखनाथको तालचोकदेखि बेगनासताल बसपार्क सडक खण्डमा मापदण्ड विपरितका संरचना हटाउने पहिल्यै सर्वपक्षीय निर्णय भईसकेको थियो । तर, मन्त्रीज्यूले एकाएक तँलाई संरचना भत्काउने अधिकार कसले दियो ? मलाई नसोधी संरचना भत्काउने ? मलाई चिन्याछस् लगायतका अन्य तुच्छ भाषामा हकार्नुभयो । मैले यसअघि भएको सर्वपक्षीय निर्णयबारे जानकारी गराउन खोज्दै थिएँ तर उहाँले मेरो कुरा नसुनी लगातार मलाई हप्काईरहनुभयो । मलाई सिकाउने तँ मेरो हाकिम की म तेरो मन्त्री भन्नुभयो । मैले कहाँ म हजुरको हाकिम मेरो मन्त्री हो नि हजुर त भनेर भन्ने मौका भने पाएँ । तर, उहाँको हप्काई अझै रोकिएन । तँ फटाहा, भाषण गर्दै हिड्छस् जस्ता गाली गर्न पनि उहाँले भ्याउनुभयो ।”
स्वास्थ्यमन्त्री खगराज अधिकारीको विकासविरोधी निर्देशनपछि लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेलले पोखरा हटलाइनसँग दुखेसो पोख्दै भने, “म उमेरले पचास वर्ष भएँ र सरकारी जागीरेको तीस वर्ष लामो समय पार गरें तर आज मलाई एक मन्त्रीले नै तुच्छ र आफ्नो गरीमा विर्सेर मेरो जीवनमा कालो धब्बा लाग्ने गरी हप्काउनुभयो ।” तर, मन्त्रीले हप्काए पनि आफुलाई कुनै पश्चाताप नलागेको उनले बताए । “सात तालको वाटीका शहरलाई कुरुपताबाट जोगाउनका लागि मापदण्ड विपरीतका संरचना भत्काउँदा कुनै पछुतो छैन”, उनले थपे, “नगरका सबै राजनीतिक दलका प्रतिनिधी, उद्योग वाणिज्य संघ लगायतका सरोकारवालाहरुसँग छलफल पछि मात्रै यो कारवाही अघि बढाएको थिएँ तर मलाई के थाहा त्यसै क्षेत्रका मन्त्रीबाट नै गाली खानुपर्छ भन्ने । ”
पौडेलले विकासका काममा कसैले पनि रोकावट गर्न नहुने बताए । तर, नगरको शुन्दरताका लागि सांङकेतिक रुपमा सुरु गरिएको प्रक्रियाको विरोधमा मन्त्रीजस्तो जिम्मेवार व्यक्तिले हप्काउँदा भने दुःख लागेको उनले गुनासो पोखे ।  नगरपालिका र पोखरा उपत्यका नगर विकास समितिले लेखनाथको तालचोकदेखि बेगनासताल सडक खण्डमा मापदण्ड विपरित बनेका संरचना हटाउने विभिन्न समयमा सूचना जारी गरेपनि अटेर गरेपछि शुक्रबार डोजर प्रयोग गरी संरचना हटाइएको हो । मन्त्रीले नै फोन गरेर संरचना नभत्काउन भनेपछि ठुलो संख्यामा सुरक्षाकर्र्मी परिचालन गरीएको थियो । उक्त सडक खण्डको साढे ३ किलोमिटर क्षेत्रमा रहेका झण्डै ५० घर टहरा दुईवटा डोजर प्रयोग गरी हटाइएको थियो । उक्त सडक खण्डमा सडकको मध्य भागबाट दाँयाबायाँ १५ मिटर मापदण्ड तोकिएको छ । संरचना हटाउन पोखरा उपत्यका नगरविकास समितिका अध्यक्ष विष्णुप्रसाद बाँस्तोला, पूर्व अध्यक्ष जीतबहादुर गुरुङ्ग ‘मामा’ र लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेल आफैं खटिएका थिए भने सबैजसो राजनीतिक दलका नगरस्तरीय नेताहरु पनि संरचना भत्काउने स्थानमा उपस्थित थिए ।
धैरै ठाँउबाट दवाव आउँदा संरचना भत्काउने कामबाट पछि हट्नु पर्छ की भन्ने भएपनि क्षेत्रीय प्रशासक दिनेश कुमार थपलियाले उक्त काममा दवावका पछि नलाग्न निर्देशन दिएकाले उत्साही बनेको पौडेलको भनाई छ । मापदण्ड विपरितकका संरचना हटाउने कार्य अव बेगनासताल क्षेत्रमा अघि बढ्ने उनले जानकारी दिए ।  डोजर लगाउँदा करिव २०÷२५ जना नगरवासीले स्वतस्फूर्त रुपमा मापदण्ड विपरित बनेका संरचना हटाएका थिए । सडक मापदण्ड अनुसार सडकलाई चार लेनको बनाउनका लागि पहल गरिने जनाइएको छ । गतबर्ष साइड क्लियर नहुँदा विश्व वैंकको ऋण सहयोग अन्र्तगत फास्ट ट्रयाकका रुपमा निर्माण गर्नका लागि अघि वढाइएको १९ करोडको परियोजना फिर्ता भएको थियो ।

Comments are closed.