पोखरा, २ असार
कास्कीको लेखनाथ नगरपालिकाका चार जना कर्मचारी अख्तियारको छड्केमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराबाट खटिएको टोलीले नगरपालिकामा अनुगमन गर्दा ती कर्मचारी कार्यालय समयमा उपस्थित नभएको पाईएको हो ।
अख्तियारको टोली साढे १० बजे कार्यालयमा पुग्दा पनि सहायकस्तरका चार जना कर्मचारीहरु अनुपस्थित रहेको पाईएको आयोगका सूचना अधिकारी नरेन्द्र प्रसाद भट्टराईले जानकारी दिए । उनीहरुलाई स्पष्टिकरण सोधेर नियमअनुसार कार्वाही गरिने भट्टराईले बताए ।
“हाम्रो अनुगमन टोली साढे १० बजेतिर नै कार्यालयमा पुगिसकेको थियो ।” उनले भने– “सहायकस्तरका कर्मचारी नै कार्यालयमा भेटिएनन् । कार्यालय समयमा उपस्थित नहुने कर्मचारीलाई स्पष्टिकरणपछि कानुनी कार्वाही सुरु हुन्छ ।”
भट्टराईले नियम नमान्ने र दोषी प्रमाणित भएका कर्मचारीलाई कार्वाहीको दायरामा ल्याएरै छाड्ने बताए । केही कर्मचारी कार्यालयमा नभेटिएपनि छड्के अनुगमनका क्रममा कुनै अनियमितताको प्रमाण भने कार्यालयमा नभेटिएको उनको भनाई छ । टोलीले यस आर्थिक बर्षमा नगरपालिकामा सम्पन्न भएका योजना, आर्थिक तथा प्रशासनिक गतिविधि, आन्तरिक आम्दानी लगायतको निरीक्षण तथा अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा सुधार गर्नुपर्ने केही सामान्य बिषयहरु भेटिएको र त्यसलाई सुधार गर्न मौखिकरुपमा निर्देशन दिईएको उनले बताए ।
यसैबीच, अख्तियारको अर्को टोलीले कास्कीकै कालिका गाविसमा पनि छड्के अनुगमन गरेको छ । टोलीले गाविसको पूँजिगत तथा संचालन अनुदान, सामाजिक सुरक्षा भत्ता वितरण र संचालित योजनाको स्थलगत अनुगमन निरिक्षण गरेको सूचना अधिकारी भट्टराईले बताए । कालिकामा पनि अनुगमनका क्रममा कुनै अनियमितताको प्रमाण फेला नपरेको र सामान्य त्रुटीहरुलाई सच्याउनका लागि मौखिक निर्देशन दिईएको उनले बताए ।
अख्तियारको क्षेत्रीय कार्यालयले आर्थिक अनियमितता तथा अपारदर्शिता भएको आशंकामा अन्य सरकारी कार्यालयहरुमा समेत छड्के अनुगमन गर्ने तयारी गरिरहेको छ । केही कार्यालयहरुबाट सेवाग्राहीका अत्यधिक गुनासा आउने गरेपनि आवश्यक प्रमाण नपुग्दा ती कार्यालयका कर्मचारीहरुलाई कार्वाही गर्न नसकिएको भट्टराईले बताए ।
कुनैपनि सरकारी कार्यालयमा आर्थिक अनियमितता भएको तथा कर्मचारीहरुले अनुचित कार्य गरेको पाईए प्रमाणसहित अख्तियारमा उजुरी लिन पनि उनले आग्रह गरेका छन् ।
पोखरामा अख्तियारको कार्यालय स्थापना भएसँगै यस क्षेत्रबाट उजुरीको संख्या बढेको छ । आयोगका अनुसार सबैभन्दा बढी शिक्षा र स्थानीय निकायका उजुरी परेका छन् । आयोगमा चालु आर्थिक बर्षको जेठ २८ गतेसम्म १ हजार ७ सय ४८ वटा उजुरी परेका छन् । जसमा ८ सय ७५ वटा फछ्यौट भएको छ भने ८ सय ७३ उजुरी अनुसन्धानको क्रममा रहेका छन् ।
Comments are closed.