पौष २९ ,पोखरा
बिहिबार लेखनाथ १२ का करीब एक सय जती महिलाहरु जिल्ला प्रशासन कार्यालय कास्कीमा पुगे । त्यही ठाँउकी सुमित्रा मल्ललाई न्याय दिलाउनको लागि यो समुह प्रशासन पुगेको थियो । समाचार रिपोर्टिंङका लागि गण्डकी टेलिभिजन जिल्ला प्रशासन कार्यालयमा पुग्यो । टेलिभिजनको ‘गण्डकी छड्के’ नामक कार्यक्रमले बिषयलाई यसरी प्रस्तुत गरेको छ ।
सुमित्रा मल्ल जो भनिए अनुसार, उनका पति भुपेन्द्र मल्लले जालझेल गरी पारपाचुके गराएपछी त्यसको करीब १ बर्ष पछी कानुनी उपचारको लागि प्रयास गर्न थालेकी छिन् । सुमित्राको १२ बर्ष अघि लेखनाथका भुपेन्द्र मल्लसंग मागी बिबाह भएको थियो । बताइएअनुसार बिबाह भएको केही समयपछी नै उनी पतीबाट शारीरीक एवं मानसिक हिंसाको शिकार हुदै आएकी थिइन् । पतीबाट बारम्बार तिरस्कार र यातना भोगेपनी सुमित्राले त्यसलाई सहेरै बसिन, त्यसको कुनै प्रतिपाद गरीनन् । बरु परीवारको भबिष्यको सुनिश्चितताको लागि उनी बाहिर काम गर्न थालीन् र पतिलाई पढाईलाई निरन्तरता दिन प्रेरित गरीन् र त्यसको लागि खर्च जुटाउन उनी आफै लागि परीन् ।
समय बित्दै जाँदा करीब एक बर्ष अगाडी उनका श्रीमानले एउटा प्रस्ताव ल्याए – “म अमेरीका जान्छु, छोराको भबिष्य पनि हेर्नुपर्यो, त्यसको लागि हामीले डिभोर्स गर्नुपर्ने भयो ।” सुमित्रा झस्कीइन् । पतिले सुमित्रालाई सम्झाउन थाले – यो डिभोर्स देखाउनको लागि अथवा कागजी प्रकृयामा मात्र हो, ब्यबहारमा त हामी पती पत्नी नै हौ । यसरी कन्भिन्स गरेपछी सुमित्राले पत्याइन् । र डिभोर्सको लागि तयार भइन् । अन्ततः डिभोर्स भयो । तर त्यो कागजमा साँच्चैको र ब्यबहारमा ख्यालख्यालको मात्र भनिएको डिभोर्स अन्ततः ब्यबहारमा पनि डिभोर्स नै भयो ।
भबिष्यको सुन्दर सपना देखाई भुक्याएर डिभोर्स गरेपछी सुमित्राका श्रीमान बेखबर भए । बताइएअनुसार हाल उनी भारतमा छन । श्रीमान बेखबर भएपछी सुमित्रालाई घरमा जेठाजु र सासु ससुराबाट यो घरमा उनको कुनै अधिकार नभएको बताईयो र घर छोड्न भनियो । १० बर्षिय बालक करण मल्लकी आमा सुमित्रा अन्त गएर बस्ने अवस्था थिएन । उनी त्यही घरमा बसिरहीन् । त्यो बेलासम्म उनको यो कहानी न त समाजलाई भनिन् न त माइतीलाई नै ।
सुमित्राका अनुसार उनी श्रीमानको कुटाईले शारीरीक हिसावले अपाङ्ग जस्तै भइसकेकी छिन् । चापीको झुत्तोले खुटामा बारम्बार हान्दा उनको दाहीने खुटामा गम्भीर चोट लागेको छ । चोट अहिलेसम्म पनि त्यो ठिक हुन सकेको छैन
सहन सम्म सहेपछी अन्तत सुमित्राले यी दश बर्षिय अबोध बालकलाई लिएर न्याय खोज्न हिड्दैछिन् । यसरी न्याय खोज्न हिड्दैगर्दा न्याय खोज्न गएकै कारण फेरी कुन खालको यातना सहन पर्ने हो, त्यो थाहा छैन । सुमित्राले न्याय पाउलिन् ? सुमित्राले पाउने न्याय कस्तो किसीमको होला ? प्रतिक्षाको बिषय बनेको छ ।
सुमित्राले भने अनुसार जति यातना भोगेपनि सुमित्राले त्यो यातना आफ्नो माइतीमा कहिल्यै लगिनन् । उनलाई माइतीमा यो कुरा नभन्नु, घरको कुरा घरमा राख्ने दबाब थियो । अर्कोतर्फ सुमित्राले दिदी पनि यस्तै यातनाको कारण मृत्युबरण गरेकी थिइन् । माइती त्यही पिडामा थिए, पिडा माथी पिडा थप्नुहुन्न भनेर पनि सुमित्राले यो कुरा माइतीमा लगिनन् ।
सुमित्राले आफ्नो १० बर्षिय छोरा सहित जिल्ला प्रशासन कार्यालयमा हामीसंग यसरी कुराकानी गरीरहँदा जिल्ला प्रशासनमा सेवा लिन आएका सेवाग्राही उत्सुकताका साथ सुनिरहेका थिए र सहनुभुतीको भाव प्रकट गरीरहेका थिए ।
सासु ससुरा र श्रीमानको कुरा छोरा करण मल्ललाई आफुहरु सगै राख्ने भन्ने छ । तर अलि(अलि बुझ्ने भइसकेको छोरा करण भने बाबाले पछि आफुलाई हेला गर्ने भन्दै आफु आमा संग नै बस्न चाहेको सुमित्रा बताउंछिन् ।
सुमित्राले बिहिबार जिल्ला प्रशासन कार्यालय कास्कीमा जिउ ज्यानको आवश्यक सुरक्षा कायम गरीदिनको लागि निवेदन दिएकी छिन् । सुमित्राका अनुसार उनका सासुससुरा आफ्नो जग्गा बिक्रि गर्नका लागि लागिपरेकाछन् । तसर्थ सुमित्राले जिल्ला प्रशासनमा दिएको निवेदनमा जग्गा रोक्काको पनि माग गरेकी छिन् ।
अब श्रीमानसंग परीस्थीती बदलिएपनि संगै बस्न नसक्ने टुङ्गोमा सुमित्रा पुगेकी छिन् । अब कानुन बमोजिम आफुले पाउनुपर्ने सम्पत्ती लिएर छोरासंग अलगै बस्न चाहन्छीन् सुमित्रा । अर्को गम्भीर कुरा यो बिचमा उनको ५ पटक सम्म शारीरीक र मानसिक यातनाका कारण गर्भपतन गराइएको छ ।
उनका छोरा करण मल्लसंग हामीले कुराकानी गर्न खोज्यौ तर उनले सामान्य नाम बताउने बाहेक अरु कुरा गर्न सकेनन् । उनको अनुहारको भाव हेरेर अन्तरवार्ता हेरिरहेका प्रशासन कार्यालयमा आएका सर्वसाधारणको अनुहारमा समेत सहानुभुतीका भावहरु छल्कीरहेका थिए । यही तनावका कारण ४ कक्षामा पढ्ने उनका छोरा करण मल्लको स्कुल जाने बाताबरण बनिरहेको छैन ।
Comments are closed.