लेखनाथमा रक्सी पिएका क्षेत्रीलार्इ प्रहरी र स्थानीयले समाउन खाेज्दा खोलामा खसेर मृत्यु

पोखरा २७ चैत ।कास्कीको लेखनाथमा खोलामा खसेर एकजनाको ज्यान गएको छ । बुधबार साँझ लेखनाथ नगरपालिका वडा नम्बर १३ स्थित जनताको चौतारा नजिकै तालखोलामा खसेर स्थानीय ३० बर्षका ढक बहादुर भट्ट क्षेत्रीको ज्यान गएको हो ।स्थानीयका अनुसार क्षेत्रीले दिनभर रक्सी सेवन गरेर होहल्ला गरेका थिए । साँझ छिमेकीसँग झगडा गर्न थालेपछि, केही स्थानीय र प्रहरीले नियन्त्रणमा लिन उनलाई लखेटेका थिए ।

 

लखेटिएपछि भाग्ने क्रममा क्षेत्री तालखोलाको पुलमुनी खोंचमा खसेका र उनको घटनास्थलमै ज्यान गएको स्थानीय बासिन्दा कुमार परियारले जानकारी दिए ।जिल्ला प्रहरी कार्यालय कास्कीले भने लखेट्ने क्रममा क्षेत्रीको ज्यान गएको बिषय थाहा नभएको बताएको छ । कास्की प्रहरीका प्रवक्ता केदार रजौरेले तालखोलामा मृत व्यक्तिको शव भेटिएको जानकारी आएपछि बिहीबार बिहान मात्रै अनुसन्धानका लागि टोली त्यहाँ पुगेको जानकारी दिए ।

 

स्थानीय बासिन्दाले भने प्रहरी र केही छिमेकीले लखेट्ने क्रममै क्षेत्रीको खोलामा खसेर ज्यान गएको दावी गरेका छन् । डर देखाएर लखेट्ने क्रममा ज्यान गएपछि प्रहरीले घटनालाई गुपचुप राख्न खोजेको हुनसक्ने उनीहरुको भनाई छ ।अत्यन्तै कमजोर आर्थिक अवस्था भएका क्षेत्रीका २ छोरी, एक छोरा र श्रीमती रहेका छन् ।

Comments are closed.