लेखनाथमा सडक मापदण्ड बिपरितका संरचना हटाईयो

पोखरा ५ पुस/ कास्कीको लेखनाथ नगरपालिकाले लेखनाथको तालचोकदेखि बेगनासतालसम्मको सडक खण्डमा मापदण्ड विपरित बनेका संरचना भत्काएको छ । नगरपालिकाले शुक्रबार पोखरा उपत्यका नगरविकास समितिसँगको सहयोगमा त्यस खण्डमा रहेको मापदण्ड विपरितका ५० भन्दा बढी घरटहरा भत्काएको हो ।
मापदण्ड विपरित बनेका संरचना हटाउन नगरपालिका र उपत्यका नगरविकास समितिले पटकपटक आग्रह गरेपनि स्थानीयहरुले अटेर गरेपछि नगरपालिकाले शुक्रबार विहान ८ बजेदेखि २ बजेसम्म डोजर लगाएर संरचना भत्काएको हो । तालचोकदेखि बेगनासतालसम्मको करिब साढे ३ किलोमिटर सडकमा ३० मिटरको मापदण्ड तोकिएको छ । मापदण्ड विपरितका आधाभन्दा बढी संरचना घरधनीहरुले नै हटाएका र बाँकी रहेका संरचना प्रहरी परिचालन गरेर भत्कााएको नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेलले जानकारी दिए ।

बेगनास ताल क्षेत्रमा पनि २५ भन्दा बढी घरटहराहरु मापदण्ड विपरित निर्माण भएका छन् । मापदण्ड पूरा गरेपछि यो सडकलाई अब ६ लेन सडक निर्माण गर्नका लागि पहल गर्ने नगरपालिकाका कानुन अधिकृत राममणी अधिकारीले जानकारी दिए । गत बर्ष पनि मापदण्ड पूरा नगर्दा विश्व वैंकको ऋण सहयोगमा निर्माण हुन लागेको फाष्ट ट्रयाकको काम रोकिएको थियो । बिश्व बैंकले गत बर्ष यही सडकमा ६ लेनको सडक निर्माण गर्नेगरी २ लाख रुपैयाँ दिने जनाएको थियो ।

सडकको मापदण्ड क्लियर गर्न पटक पटक नगरपालिकाको बोर्ड बैठकले निर्णय गरेको र अहिले मापदण्ड क्लियर भएकाले नगरपालिकाकै बिकास बजेटबाट सडक विस्तार गर्ने योजना बनाएको अधिकारीले बताए । यसपछि विभिन्न दातृ निकायहरुलाई पनि सहयोगका लागि अनुरोध गर्ने नगरपालिकाले जनाएको छ ।

Comments are closed.