सात तालको शहर लेखनाथ नगरपालिकाभित्र विभिन्न प्राकृतिक सम्पदा र ऐतिहासिक महत्वका स्थानहरुले यस क्षेत्रलाई पर्यटकको नयाँ गन्तव्यका रुपमा लिन थालिएको छ । यो नगरलाई आर्थिक, पर्यटन र औधोगिक शहरका रुपमा विकासका निम्ति सबै स्थानीयवासी मात्र होईन निजी क्षेत्रका लगानीकर्ता, सरकारी निकाय पनि लागिपरेका छन् । विकासोन्मुख शहर लेखनाथको जनसंख्या दिनानुदिन जति बढ्दो छ त्यति नै विकासका पूर्वाधारहरुको खाँचो पनि बढ्दो छ । जुन आवश्यकतालाई व्यवहारिक रुपमा पूर्ति गर्नका निम्ति लेखनाथका निजी व्यवसायी र तीनसँग सम्वन्धित छाता संस्थाहरुको भूमिका अहम रहने गर्छ र आम लेखनाथवासीले त्यही अपेक्षा गरेका छन् । लेखनाथकै नेतृत्वदायी संस्था एवं निजी क्षेत्रको छाता संगठन लेखनाथ उद्योग वाणिज्य संघले पनि भर्खरैमात्र नयाँ नेतृत्व पाएको छ । समग्र लेखनाथको बृहत विकासमा त्यहाँका उद्योगी व्यवसायी र निजी क्षेत्रको भूमिका, वर्तमान अवस्था र पर्यटन तथा आर्थिक विकास लगायत उन्नतीका लागि भावि दिनहरुमा गर्नुपर्ने कामका बारेमा लेखनाथ उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीसँग गरीएको कुराकानी यहाँ प्रस्तुत गरीएको छ ।
सर्वप्रथम यहाँलाई बधाई छ । उद्योग वाणिज्य संघको नेतृत्व आफ्नो पोल्टामा पारेपछि लेखनाथको बृहतर बिकास कसरी गर्न सकिन्छ भन्ने बारे केही योजना तयार गर्नुभएको छ ?
सर्वप्रथम त विकासका लागि उद्योगी र व्यवसायीको हकहितका लागि स्थापित छाता संगठन, संघ हो । साथसाथै त्यस क्षेत्रको आर्थिक र सामाजिक विकासका लागि हामी निरन्तर लागि पर्नेछौं । हामीले योजनाका रुपमा औधोगिक क्षेत्र स्थापनाका लागि सरकारले डिपीआरका लागि ४० लाख रुपैयाँ बजेट छुट्याएको छ र औधोगिक क्षेत्र लेखनाथमा बन्छ भन्ने आशा छ । लेखनाथ वडा नम्वर १३ को लामेआहालमा क्षेत्रीय स्तरको बसपार्क निर्माणका लागि बसपार्क निर्माण समितिको संयोजकमा उद्योग वाणिज्य संघकै निवर्तमान नेतृत्व हुनु र यीनको थप प्रक्रियालाई नै हामीले योजनाका रुपमा निरन्तरता दिनेछौ र सम्वन्धित निकायमा पहल गर्नेछौं । त्यसैगरी अन्र्तराष्ट्रिय सम्मेलन केन्द्र लेखनाथमा बनाउने कामको पहल पनि हाम्रो योजनामा रहेको छ ।
लेखनाथलाई खासगरी पोखराको छत्रछायाँमा राखेर कतिपय विकासे योजनाहरु कम प्राथमिकतामा पर्ने गरेका छन् । लेखनाथले आफ्नै पहिचान दिन नसक्नु त्यहाँका निजी क्षेत्रको कमजोरी हो ?
होईन । हामी लेखनाथको आफ्नै पहिचानका पक्षमा छौं र यसैलाई बढवा पनि दिँदै आएका छौं खासगरी लेखनाथ महोत्सव आयोजना गरेर । स्थानीय बस्तुको बजारीकरणका लागि महोत्सवको भूमिका उस्तै छ । त्यस्तै पर्यटकीय क्षेत्रको पनि प्रसारमा महोत्सवले सघाउ पुर्याएको छ । अहिले के छ भने मुलुक प्रादेशिक रुपमा जाने निश्चित छ । पोखरा धेरै सानो छ । ग्रेटर पोखराको अवधारणालाई अघि सार्दै र प्रादेशिक राजधानीका महत्वपूर्ण कार्यालयहरु लेखनाथमा स्थापना गर्नुपर्छ भन्ने हामी लेखनाथका निजी क्षेत्रले माग गर्ने सोंचमा छौं । त्यसैले निजी क्षेत्रको कमजोरीका कारण लेखनाथ पोखराको छायाँमा र ओझेलमा पर्याेभन्न मिल्दैन ।
खासगरी लेखनाथ साततालको शुन्दर नगरी हो । त्यहाँको पर्यटकीय विकासका लागि निजी क्षेत्रले के गरीरहेको छ र के गर्नेछ ?
अहिले ‘एक जिल्ला एक उत्पादन’ कार्यक्रम लेखनाथ उद्योग वाणिज्य संघकै मातहतमा संचालित छ र हामी लेखनाथलाई हामी मत्स्य उद्योगको शहरका रुपमा विकास गर्ने जमर्को गरीरहेका छाै । लेखनाथका दुई ठुला ताल एकै स्थानबाट देखिने गाउँ पचभैयामा होमस्टेको कार्यक्रम संचालन गरीरहेका छौं । त्यस्तै लेखनाथमा रहेका सातै ओटा ताललाई पर्यटन मार्गमार्फत जोड्ने गरी राज्यले यसैवर्ष पाँच करोड विनियोजन गरेको छ । जुन लेखनाथको कालिकाचोकदेखि गगनगौंडा बजारसम्मको हुने यस योजना लेखनाथ उद्योग वाणिज्य संघले नै उठाउँदै आएको विकासको मुद्धा हो । त्यस्तै लेखनाथको ११ र १२ वडामा शिलान्यास भईसकेको चिडियाघर निर्माणका लागि पनि उद्योग वाणिज्य संघ आफ्नो स्थानबाट लागि परीरहन्छ । समग्रमा लेखनाथ उद्योग वाणिज्य संघ लेखनाथको पर्यटन विकासका लागि समयसापेक्ष सम्बन्धित निकायमा पहलका लागि निरन्तर लागिरहन्छ ।
आजकल मुलुकका सबैजसो उद्योग वाणिज्य संघहरु वर्षमा एकपटक मेला वा महोत्सव गर्ने र त्यसैमा आफुलाई गौरव गर्ने गरेको आम नागरिकले गुनासो गर्ने गरेका छन् । लेखनाथले पनि महोत्सव आयोजना गर्छ यो वाहेक अन्य के त्यस्तो उल्लेख्य गतिविधि गरेको छ ?
माथी नै उल्लेख गरिँसके की लेखनाथ महोत्सव यस क्षेत्रको पहिचान हो । अन्य कृषि पर्यटन, स्वास्थ्य, शिक्षाको बारेमा पनि हामीले आवाज उठाउँदै आएका छौं । औधोगिक क्षेत्रको स्थापना व्यावसायिक क्षमता अभिवृद्धिका लागि लेखनाथ उद्योग वाणिज्य संघमा बिजनेस हेल्प डेस्कको स्थापना हुनु, पोखरा विश्वविद्यालयलाई बन्द हड्ताल मुक्त गराउनु र विश्वविद्यालयको केन्द्रीय क्याम्पसमै मेडिकल विषय अध्ययनको अवसरका लागि गरीएको पहल कार्यान्वयन पनि संघले गरेका उल्लेख्य गतिविधिका रुपमा लिन सकिन्छ ।
लेखनाथ सम्भावनाको नगर हो । ठूला र बाह्य लगानीकर्ता भित्राउन संघको पहलत सुशुप्त भएको हो ?
सुशुप्त छ भन्न मिल्दैन । बाह्य र ठूला लगानीकर्ता भित्राउनकै लागि औधोगिक क्षेत्र स्थापनाको कुरा अघि सारेका हौं । त्यस्तै पर्यटकीय नगर भएको हुनाले बेगनासताल र रुपातालको क्षेत्रमा तारे होटलदेखि लिएर स–साना होटल व्यवसायीहरुलाई लगानीमैत्री वातावरण बनाउदै लगानीकर्तालाई संस्थागत आव्हान नै गरेका उदाहरण छन् र भावी दिनमा पनि गरिरहन्छौं ।
साना र मझौला व्यवसायीहरुको हितका लागि संघले के काम गरेको छ । त्यस्तै बेरोजगार युवालाई स्वरोजगार बनाउन संघले कनै कार्यक्रम संञ्चालन गरेको छ कि छैन या तपाईको कार्यकालमा यो सम्भव छ ?
महिला उद्यमीसँगै साना व्यवसायीहरुको क्षमता अभिवृद्धि गर्ने र संघमा आवद्ध नभएका व्यवसायीहरुलाई आवद्ध गराउने उद्देश्यले अन्र्तराष्ट्रिय श्रम संगठन आईएलओको कार्यक्रममार्फत संघमा नै बिजनेस हेल्पडेस्क स्थापना भएको हुनाले एक त बेरोजगारहरु स्वरोजगार बन्नेछन् र अरु साना तथा मझौला व्यवसायीहरुको क्षमता अभिवृद्धि गर्दै लैजाने कार्यक्रम भएकाले पनि उनीहरुको हितमा काम हुनेछ र हुँदै आएको पनि छ । संघको पहलमा औद्योगिक क्षेत्रको स्थापनाको योजना सफल गराउन सके बेरोजगार युवाहरुलाई संघका तर्फबाट ल्याउने उत्कृष्ट कार्यक्रम मध्येको एक बन्नेछ ।
भनेपछि लेखनाथमा औधोगिक क्षेत्रको स्थापना त जरुरी नै देख्नुभएको छ र तपाईकै कार्यकालको अवधिमा यसले सार्थकता पाउनेमा कतिको विश्वस्त हुनुहुन्छ ?
जब हामीले औधोगिक क्षेत्र स्थापनाको एजेण्डा उठायौं आज डिपिआरका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन हुनु नै एक हिसावमा सफल हुनु, यसलाई राम्रो संकेतका रुपमा लिन सकिन्छ । अब यसलाई व्यवस्थापकीय कुशलताका साथ निर्माण सम्पन्नगर्ने दायित्व लेखनाथ नगरपालिका लगायतका अन्य सरकारी निकाय एवं यहाँ रहेका राजनीतिक दलहरुको महत्वपूर्ण भूमिका रहन्छ । यदि त्यसो हुन सकेमा औधोगिक क्षेत्र स्थापनाले सार्थकता नपाउने भन्ने नै लाग्दैन । यसका लागि कसलाई कस्तो सहयोग गर्नुपर्छ लेखनाथ उद्योग वाणिज्य संघ तयार छ ।
अन्त्यमा ..?
लेखनाथको आर्थिक, सामाजिक, पर्यटन र व्यावसायिक विकासका लागि लेखनाथ उद्योग वाणिज्य संघ सँधै तत्पर छ । यी विचारहरु राख्ने अवसर यहाँको लोकप्रिय पत्रिका मार्फत दिनुभयो यसप्रति हार्दिक धन्यवाद र आभार प्रकट गर्न चाहन्छु ।
-प्रस्तुति-ऋषिकान्त पाैडेल
Comments are closed.