लेखनाथ उद्योग बाणिज्य संघमा अध्यक्षमा त्रिपाठी, महासचिवमा छत्रधर

पाेखरा ४ असाेज

लेखनाथ उद्योग बाणिज्य संघको १० महाधिवेशनबाट लक्ष्मीप्रसाद त्रिपाठी अध्यक्षमा निर्वाचित भएका छन् । उनी लेखनाथ उद्योग वाणिज्य संघको १९ बर्षे इतिहासमा पहिलो पटक बामपन्थी खेमाबाट अध्यक्ष बनेका हुन् । उनी ५ सय ९९ मत प्राप्त गरी विजयी भएका छन् भने निकटतम् प्रतिद्वन्दी लालकृष्ण शर्मा भट्टराईले ५ सय ३१ मत प्राप्त गरे । संघको संस्थापन पक्षको पुरै साथ पाएका त्रिपाठीले १७ बर्ष अनवरत रुपमा संघमा विताएका थिए ।

त्रिपाठी विजयी भएसँगै विभिन्न पदाधिकारी समेत चयन गरेका छन् । प्रथम उपाध्यक्षमा कृष्णहरि भण्डारी, द्धितिय उपाध्यक्षमा बलराम ढकाल, महा–सचिवमा छत्रधर आत्रेय चयन भएका छन् भने उप–महासचिवमा भरतकुमार अधिकारी र कोषध्यक्षमा गोपीचन्द्र बास्तोलालाई कार्य विभाजन गरेका छन् । त्रिपाठीले मनोनित सदस्यमा दयाराम तिवारी र राधा सापकोटालाई मनोनयन गरेका छन् । त्यसैगरी विशिष्ट सदस्यमा सुमन भट्टराई र वरिष्ठ सल्लाहकारमा चन्द्रकृष्ण कर्माचार्य र गणेशवहादुर श्रेष्ठलाई चयन गरेका छन् । त्रिपाठीले सल्लाहकारमा नेत्रपाणि बास्तोला र विमला थापा बस्नेतलाई चयन गरेका छन् ।

सदस्यमा त्रिपाठी समूहकै छत्रधर आत्रेयले सर्वाधिक ७ सय ६१ मत ल्याएर विजयी भएका छन् । यसैगरी कृष्णहरि भण्डारी, बलराम ढकाल लगायतले पनि राम्रो मत ल्याएर विजयी भएका छन् ।

यसैगरी सदस्यहरुमा ऋषिराम जमरकट्टेल, राजेन्द्र ओझा, भरतकुमार अधिकारी, विनोद श्रेष्ठ, गोपीचन्द्र बास्तोला, बसन्त मोहन भट्टराई, गितादेवी सुवेदी पनि विजयी भएका छन् । यसैगरी महिला तर्फ डिल कुमारी दाहाल सन्ध्याले ७ सय ७७ मत प्राप्त गरी विजयी भएकी छन् । संस्थागत तर्फ त्रिपाठी समूहकै दामोदरभक्त थापा विजयी भएका छन् भने एशोसियटमा एल के शर्मा समूहबाट उपेन्द्र सुवेदी विजयी भएका छन् । कुल १ हजार १ सय ८४ मतमा एक हजार १ सय २४ मत खसेको थियो । त्यसमध्ये ३५ मत बदर भएको थियो ।

Comments are closed.