“भ्रमण वर्षलाई सफल बनाउनकै लागि भावी दिनहरुमा लेखनाथमा रहेर संभावना र महत्व बोकेका तर प्रचारमा नआएका सम्पदा र सात तालहरुको प्रर्वद्धन तथा संरक्षणलाई गौरवको परियोजनाका रुपमा प्राथमिकतामा पार्ने योजना नगरपालिकाको छ ।”
ऋषिकान्त पौडेल/ लेखनाथ १ माघ/
संभावना भएर पनि पर्यटकीय विकासमा सुस्त गतिविधी देखाइरहेको लेखनाथ नगरपालिकाले अव भने यसको सार्थकताका लागि विशेष कार्यक्रम सुरु गर्ने भएको छ । आगामी आर्थिक वर्षलाई लेखनाथ भ्रमण वर्षका रुपमा मनाउने निर्णयसँगै लेखनाथ नगरपालिकाले भएका पर्यटकीय सम्पदाको संभावनालाई पहिचान र प्रचारमा जुट्ने भएको हो । “आर्थिक वर्ष ०७२÷७३ लाई लेखनाथ भ्रमण वर्षका रुपमा मनाउने प्रस्ताव २१ औं नगर परिषदले पारित गरेको छ”, कार्यकारी अधिकृत रामचन्द्र पौडेलले हटलाइनसँग भने । भ्रमण वर्ष सफल पार्नका लागि नगरपालिकाले विविध कार्यक्रमहरु ल्याउने उनले जानकारी दिए । तर, पर्याप्त तयारी नभएपनि नीतिगत निर्णय भईसकेकाले लेखनाथमा रहेका पर्यटकीय गन्तव्यहरुको पहिचान र संरक्षण एवं प्रवद्र्धनका कार्यक्रम अवको प्राथमिकतामा रहने कार्यकारी अधिकृत पौडेलको भनाई थियो । “अव तत्कालै पर्यटकीय स्थलहरुलाई समेटेर ब्रोसर बनाउछौं । जुन ब्रोसरमा प्रचार नभएका सीता गुफा, हुँडीकोट, ठूलाकोट लगायतका स्थानको बारेमा प्रसस्त जानकारी हुनेछ”, पौडेलले भने ।
“लेखनाथ क्षेत्रका विभिन्न डाडाँहरुमा टावर भ्यू निर्माण गर्ने नगरपालिकाको परिकल्पना ”
भ्रमण वर्षलाई सफल बनाउनकै लागि नगरपालिकाले भावी दिनहरुमा लेखनाथमा रहेका सात तालहरुको प्रर्वद्धन र संरक्षणलाई गौरवका परीयोजनाका रुपमा प्राथमिकतामा पार्ने योजना पनि उनले सुनाए । यद्यपी ताल संरक्षणका लागि नगरपालिकासँग भएको बजेट अत्यन्त कम भएकाले अन्य सहयोग जुटाउनुपर्ने बाध्यता रहेको पनि पौडेलको धारणा छ ।
त्यस्तै लेखनाथ क्षेत्रमा रहेका विभिन्न डाडाँहरुमा टावर भ्यू निर्माण गर्ने परिकल्पना पनि नगरपालिकाले गरेको छ । आन्तरिक स्रोतको आम्दानी जम्मा तीन करोड पचास लाख रुपैयाँ मात्र भएको नगरपालिका यी पूर्वाधारको विकास र प्रवद्र्धनका लागि दातृ निकाय र संस्थासँग साझेदारीमा काम गर्न ईच्छुक छ । “भ्रमण वर्ष मनाउने निर्णय गरेका छांै, यसका लागि नागरिक र राज्यका माथिल्ला निकायबाट सहयोगको अपेक्षा गरेका छौं”, उनले थपे ।
“लेखनाथ भ्रमण वर्ष मनाउने निर्णय भएसँगै लेखनाथका
व्यवसायी र पर्यटनकर्मीले यसको स्वागत”
नगर परिषदबाट लेखनाथ भ्रमण वर्ष मनाउने निर्णय भएसँगै लेखनाथका व्यवसायी र पर्यटनकर्मीले यसको स्वागत गरेका छन् । “नगरपालिकाको यो कदम अत्यन्त स्वागतयोग्य छ । लेखनाथवासीका लागि खुशीको यो खबरले भविष्यमा लेखनाथको पर्यटन विकासको सम्भावना झन बढ्ने आशा गर्न सकिन्छ”,लेखनाथ होटल तथा रेष्टुरेण्टका अध्यक्ष दुर्गा अधिकारीले पोखरा हटलाइनसँग भने । तर, नीतिगत निर्णय भएपनि विभिन्न नयाँ ईभेण्टसहित भ्रमण वर्षको घोषणा गरेको भए झनै राम्रो सन्देस छर्न सकिने त्यहाँका पर्यटनकर्मीको भनाई छ । “भ्रमण वर्ष घोषणाका साथमा पर्यटकीय गतिविधीसहितका नयाँ ईभेण्टको पनि घोषणा गर्नुपथ्र्यो त्यो त भएन तर अब जोडतोडका साथ ईभेण्ट घोषणा गरेर राष्ट्रिय र अन्र्तराष्ट्रियस्तरमा प्रचार गर्नुपर्छ”,पर्यटन व्यवसायी दामोदरभक्त थापाले भने ।
त्यस्तै भ्रमण वर्ष घोषणा गरीसकेपछि यसलाई सफलताको विन्दुमा कसरी पु¥याउने भन्ने बारे सोच्न जरुरी भएको लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराम गिरीले बताए । सहि समयमा लेखनाथ भ्रमण वर्षको घोषणा हुनु सकारात्मक छ तर सरकारले सन् २०११ लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर सफलताको लक्ष्यमा पुग्न नसकेको जस्तो स्थिती आउन दिनु नहुने उनको भनाई थियो । “अब राज्य, पर्यटनकर्मी, उद्यमी, व्यवसायी र आम लेखनाथवासी भ्रमण वर्षको सफलता अभियानमा जुट्नुपर्छ”, उनले थपे ।
Comments are closed.