वडा नम्बर १७ का स्वतन्त्र उम्मेदवार बरालले लिए उम्मेदवारी फिर्ता, गठबन्धनको जित सुनिश्चित

पोखरा, २३ बैशाख ,

वडा अध्यक्षमा बागी उम्मेदवारी दिएका पोखरा १७ का नेपाली काँग्रेसका कार्यकर्ता दीपेन्द्र बरालले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उनले नेपाली काँग्रेस र गठबन्धनका आधिकारिक उम्मेदवारहरुलाई समर्थन गर्ने प्रेस विज्ञप्तीमार्फत जानकारी दिएका छन् ।

आफूले नेपाली काँग्रेस र जनताको हितका लागि उम्मेदवारी त्यागेर पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउने निर्णय लिएको बरालले बताएका छन् । काँग्रेसभित्र प्रजातान्त्रिक मूल्य मान्यता स्थापित गर्नका लागि आफूले स्वतन्त्र उम्मेदवारी दिएको र नेतृत्व तहबाट त्यसको सम्बोधन गर्ने प्रतिबद्धता पछि उम्मेदवारी फिर्ता लिएको उनले बताए ।

बरालले आफ्नो उम्मेदवारी फिर्ता गरेसँगै गठबन्धनबाट सँयुक्त रुपमा उम्मेदवारी दिएका देवराज आचार्यसहितको समूहलाई जित निकाल्न अझै सजिलो भएको छ । ‘हामीलाई हाम्रै पार्टीको साथीबाट सहयोग नमिल्ला कि भन्ने थियो, तर उहाँले हामीलाई नै सपोर्ट गर्ने निर्णय गरेर हाम्रो जित सुनिश्चित गराईदिनुभएको छ ।’ वडा नम्बर १७ का अध्यक्ष उम्मेदवार देवराज आचार्यले भने–‘उहाँलाई मनाउन पार्टीले लगाएको बलले काम गरेको छ । हामी सँगसँगै चुनावी घरदैलोमा हुनेछौँ ।’

बराललाई स्वतन्त्र उम्मेदवारीबाट फिर्ता गराउनका लागि नेपाली काँग्रेसका नेता धनराज गुरुङले सक्रियता देखाएका थिए । गुरुङले अन्तिम समयमा आएर भएपनि पार्टीप्रति सकारात्मक भएर बरालले ठुलो गुन लगाएको प्रतिक्रिया दिए । पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउन र उम्मेदवारी फिर्ता लिन गरेको आग्रह बरालले स्विकार्दै गठबन्धनको चुनाव प्रचारमा आफू संलग्न हुने बताएका छन् ।

यो पटक पोखरा १७ मा देवराज आचार्यको टिम कुनै पनि हालतमा एमालेलाई हराउने गरि लागेको छ । एमालेको गढ मानिने पोखरा १७ मा यसअघि निर्वाचित एमालेका जनप्रतिनीधिहरुले गरेको कामप्रति वडाबासीहरु रुष्ट छन् ।

Comments are closed.