राजनीतिमा नेतृत्वमा पुग्नका लागि पृष्ठभुमी राजनीति नै हुनुपर्छ भन्ने मान्यता बिस्तारै हट्न थालेको छ । विभिन्न क्षेत्रका विज्ञ समुहबाट सांसद र मन्त्री बनाउने प्रचलन नेपालको केन्द्रिय राजनीतिमा बामे सर्दै गर्दा आउँदो शनिवार हुन लागेको कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा एकजना यस्ता उम्मेदवार प्रतिस्पर्धामा छन् जो बेलायती सेना हुदै संयुक्त राष्ट्र संघमा प्रशासनिक क्षेत्रमा वर्षौको अनुभव सम्हालिसकेका छन् । ती संस्थामा काम गर्दा आफुलाई अब्बल प्रमाणीत गरीसकेर नेपालको शासनपद्धतीलाई पनि व्यवस्थित बनाउनुपर्नेमा जोड दिने ती उम्मेदवार हुन् समाजवादी पार्टीका तर्फबाट चुनावी मैदानमा उत्रीएका ईन्जिनीयर धर्मराज गुरुङ । सपना नेताको होईन जनताको पुरा गर्नुपर्छ भन्ने सिद्धान्तमा अडिग उम्मेदवार गुरुङसँग गरीएको चुनावकेन्द्रित वार्तालाप ।
तपाई त लामो समयसम्म प्राविधीक क्षेत्रमा त्यो पनि विदेशमा काम गरेको अनुभवी मान्छे , चुनावमा जनताको मन जित्न सक्छु भन्ने लागेर राजनीतिमा आउनुभएको हो ?
म खासमा प्राविधीक भएपनि लामो समयसम्म बेलायती सेना र संयुक्त राष्ट्र संघमा प्रशासनिक फाँटमै काम गरे । ती संस्थामा मैले एउटा व्यवस्थित प्रणालीमा बसेर प्रशासनिक दायीत्व निभाएँ पनि त्यसैले गर्दा राजनीति र मैले लिएको प्रशासनिक क्षेत्रको अनुभव एकापसमा फरक छैनन् । अर्को कुरा हामीकहाँ धेरै जनताहरु विदेश बसेर आएको छ वा विदेशको व्यवस्थित शासनप्रणालीबारे जानकार पनि छ र नेपालमा पनि जनताले त्यहि चाहेको देख्छु म । जनताको त्यो चाहनालाई पुरा गर्नेे उदेश्यका साथ म चुनावमा होमीएको कुरा मैले आम मतदातामा सुनाएको छु , बुझाएको छु । रह्यो राजनीतिमा लाग्नुको कुरा । कुनै पनि क्षेत्रमा अनुभव लिएपछि त्यसको उपयोग कहाँ गर्ने त भन्दा त्यो प्रत्यक्षरुपमा जनतासँग जोडीएको हुन्छ । जनतासँग जोडीनका लागि एउटा शसक्त प्लेटफार्म भनेकाृे राजनीति नै हो । त्यसैले म राजनीतिमा छु र जनताको चाहा पुरा गर्न जनताकै मतबाट नेपालको शासनपद्धतीलाई परीवर्तन गराउने अभियानमा छु ।
प्रसार–प्रसार कस्तो भईराखेको छ र जनताको तपाईप्रतिको दृष्टिकोण के पाउनुभयो ?
प्रचारप्रसार त एकदमै शसक्त ढङगले गईराखेको छ नि । मनोनयन दर्ता लगत्तै जनताको घरदैलोमा पुगेर आफ्ना भावी योजना सुनाउने , मतका लागि सहमत जुटाउने काम भईराखेको छ । अब त अन्तिम अन्तिम पनि भयो । मप्रतिको आम जनताको दृष्टिकोणको कुरामा चाहिँ, जनता के भनिराख्नुभएको छ भने ‘तपाईजस्तो परीपक्व , अनुभवी व्यक्ति हामीहरुले पाउनु भाग्यको कुरा हो ।’ तर त्यो भने पनि मलाई मत दिने नदिने समयले बताउला । हुन त चुनावमा जनतालाई नेताले जस्तो आश्वासन देखाउने काम गर्दछन् त्यस्तै जनताले पनि मत दिन्छु भनेर आश्वासन मात्रै दिएको पनि हुन सक्छ । तर समग्रमा हेर्दाखेरी माहौल एकदमै राम्रो छ । विजयको नजिक नै छु ।
पोखरालाई बढीमात्रामा लाहुरे र जनजातीको शहर पनि मानिन्छ । तीनै जनजाती र लाहुरेको मत हासील गर्न सकिन्छ भनेर नै समाजवादी पार्टीले तपाईलाई उमेदवार बनाएको पनि भन्छन् तपाईको जित्ने आधार पनि यहि हो ?
म र मेरो पार्टीको एजेण्डा के हो भने कसरी तल्लो तहमा रहेका जनतालाई माथी उकास्ने भन्ने हो । र नेपालमा समान कानुनको पद्धती बसाल्नुपर्छ भन्नेमा हामीले जोड दिएका छौ । हुन त स्वभाविक रुपमा धेरैभन्दा धेरै अपेक्षा जनजातीबाट नै गरेको छु त्यसको साथै उत्पीडनमा परेका दलित, विशेषगरी अव्यवस्थित रुपमा बसोवास गरीरहेका जनताहरु जसलाई सुकुम्वासी भन्ने गरीएको छ । उनीहरुको पक्षमा म के भन्छु भने अव्यवस्थित रुपमा बसोवास गरीरहेकाहरुलाई व्यवस्थित गराउने पहलका लागि म धर्मराज गुरुङ प्रतिबद्ध छु । त्यहाँ हेर्नुस है असली रुपमा को सुकुम्वासी हो र होईन भन्ने कुरा पनि पहिचान गर्न जरुरी छ किनकी गाउँमा सयौ रोपनी जग्गा भएर बजारको जग्गा हडप्न खोज्ने पनि छन् । जसले असली सुकुम्वासीलाई मर्का परेको छ त्यो काम पनि म पार लगाउँछु । र त्यहाँबाट पनि मैले धेरै मत अपेक्षा गरेको छु । त्यस्तै सबै समुदाय , यो वा त्यो नभनिकन सबैको साझा भईकन मुलुक, निर्वाचन क्षेत्रको बिकासको खाका बनाएको छु त्यसलाई पुरा गराउन आमजनता, आमपोखरेलीको अमुल्य मत नै मेरो जीतको आधार हो ।
यस क्षेत्रमा मुख्यत कांङ्ग्रेस र नेकपा बिच प्रतिस्पर्धा हुन्छ भन्छन् । तपाईको प्रतिस्पर्धा कोसँग रहन्छ ?
उहाँहरु राजनीतिक दलमा ठूलो भएपनि यो चुनावका उमेदवारहरुमा देश बिकासका लागि परीपक्वता र अनुभवी हुनुहुन्न । मेरो कुरा गर्नुहुन्छ भने संयुक्त राष्ट्र संघमा बसेर विश्वका कैयौ मुलुकको बिकासका मोडेलहरुको बारेमा अनुभव हासील गरेको छु र त्यो अनुभवलाई अब अब आफ्नै मुलुकमा उपयोग गर्नका लागि निर्वाचनमा उत्रीएको हुँ । त्यसै आमजनताको अपेक्षा अनुरुपको उम्मेदवार भएको हुनाले सबैभन्दा क्षमतावान र बलियो उम्मेदवार म नै हुँ । अब प्रतिस्पर्धा कोसँग हुन्छ भन्ने कुरामा त स्वभाविक रुपमा बिद्या भट्टराई जी सँगै हुन्छ नि , किनभन्दा उहाँ त प्रमुख सत्तारुढ पार्टीको उम्मेदवार हो ।
चुनावमा विजय भएपश्चात अन्य उम्मेदवारले जस्तै बिकासका कामहरुको भावी योजना तपाईले के के बनाउनुभएको छ ?
त्यस्ता योजना धेरै छन् मेरा ।त्यो अहिले नै भन्ने हो भने मतका लागि मात्रै जनतालाई आश्वासन बाँड्ने काम गरेको जस्तो हुन्छ । म त्यसो गर्न चाहन्न । जनताले जानेर, बुझेर मत दिदै म चुनाव जिते भने त्यसको ३–४ दिन विजय ¥याली वा खुशीयाली बाँड्ने काम त होला त्यसपछि भने केहिदिन म यहाँको बिकासका खास खास आवश्यकतालाई उजागर गरेर जनताकै रायसल्लाहमा अघि बढ्छु । हाम्रो यो चुनावी क्षेत्र केही ग्रामीण र केही शहरी क्षेत्रमा बाँडीएको छ । शहरी क्षेत्र साँघुरीदै जान थाल्यो । यसलाई नियन्त्रणका लागि ग्रामीण क्षेत्रमा कृषीको आधुनिकीकरण गरी जनतालाई आफ्नै ठाँउमा सुविधासम्पन्न बनाउने मेरो प्राथमिकतामा छ ।
अन्त्यमा केहि भन्नु छ ?
हुन त समाजवादी पार्टीको एक सीटले सरकार ढल्ने, वा बन्ने केही होईन तर नेपालमा कुलमानसिङ घिसिङले बिजुलीको क्षेत्रमा जुन सुधार गर्नु भएको छ । १८ घण्टे लोडसेडीङ हटाउन जुन मेहनत गर्नु भयो , म विजयी भएँ भने नेपालको प्रशासनिक क्षेत्रको सुधारका लागि म दुई गुणा काम गर्नेछु । तर त्यसका लागि कास्की क्षेत्र नं २ का जनताले दायाँबायाँ केही नसोची समाजवादी पार्टीको चुनाव चिन्ह हात मा मत दिनुपर्ने हुन्छ । म विनम्रपुर्वक अपील गर्दछु की अबको चुनावमा आफ्नो अमुल्य मत हामीलाई नै दिनुहोस् ।
Comments are closed.