विकाशोन्मुख अर्थतन्त्रमा सहकारी संस्थाहरुको महत्व

नेपालमा साना साना बचत लाई संकलन गरि ठुलो पुँजी निर्माण गर्ने कार्यमा अब्बल

 

अर्जुन भण्डारी 

सहकारीहरुको मुल मर्म भनेको सहकारीमा आबद्ध भएका आफ्ना सदस्यहरुलाई सहयोग गर्नु हो । न्युन आय भएका ब्यक्तिहरुवाट उनिहरुसंग छरिएर रहेका ससाना रकमहरुलाई एकिकृत गरी पुँजीको रुपमा परिर्वतन गरि उनिहरुलाई नै ऋण  प्रदान गरी उनिहरुको आर्थिक, सामाजिक, साँस्कृतिक, मनोबैज्ञानिक उन्नति गर्नु नै सहकारीको मुख्य उद्धेश्य हो । सहकारी संगठनले आफ्ना सदस्यहरुवाट ससाना रकमहरु बचत मार्फत संकलन गरी उनिहरुको आबस्यकता अनुसार वित्तिय सहायता  उपलब्ध गराउने, परामर्श दिने, आयोजनाको अनुगमन, निरिक्षण गर्ने, सदस्यको ऋण तिर्न सक्ने अबस्थाको विचार गर्ने, सदस्यलाई  प्रदान गरेको ऋण सहायता प्रभावकारी भएको नभएको, ऋणले सदस्यको जिवनस्तरमा परिर्वतन भएको नभएको जस्ता विभिन्न पक्षहरुलाई पनि समेटेको हुनु पर्दछ ।

एकै प्रकारका समुदायमा रहेका सदस्यहरुको आपसी हितका लागि ‘एकले सवैलाई र सबैले एकलाई’ भन्ने पवित्र मुल भावका साथ स्थापना भएका सहकारी संस्थाहरुको बार्षिक साधारण सभा हुने महिना हो असोज । असारमा पुरानो आर्थिक बर्षको हिसाबकिताब मिलान गरिसकेपछि साधारण सभा बोलाउनु पर्ने भएकाले यो महिना प्राय यस्ता कार्यक्रमहरु असोज महिनामा सम्पन्न गरिन्छन । कार्यक्रममा बोनस वितरण, आम्दानी-खर्च विवरण, भावि कार्ययोजना, प्रगति-प्रतिवेदन जस्ता कुराहरु समावेश गरिएका हुन्छन । सहर बजारका ऋण तथा बचत सहकारी संस्थाहरुको बर्षिक कार्यक्रम गर्नेहरुको भिड थाम्न र पालो मिलाउन पार्टि प्यालेसहरुलाई हम्मे हम्मे पर्थ्यो । अनि सोह्र श्राद्ध सकिने र हिन्दुहरुको महान चाड विजया दशमी तथा दिपावलीको शुभकामना आदान प्रदान कार्यक्रमहरु पनि यहि बेला  सम्पन्न गरिन्थ्यो । यो सवै कोरोनाको महामारीले गर्दा प्रभावित भएका छन । साधारण सभा बोलाएर मानिस जम्मा  गर्ने अवस्था छैन ।

आज हामी यस छलफलमा सहकारी के हो, कसरी स्थापना भएका हुन्छन, के के काम गर्दछन भन्ने विषयमा भन्दा पनि हाम्रो जस्तो अर्थतन्त्रमा सहकारी संस्थाहरुले पार्ने महत्वपुर्ण प्रभावहरुको बारेमा छलफल गर्ने छौँ । नेपालको सानो अर्थतन्त्रमा बैँकिङ्ग पहुँच भन्दा सहकारीको पहुँच जनता स्तरमा पुगेको पाइन्छ। सहकारीहरुले मानिसहरुसंग मौज्दातमा रहेको ससाना रकम सर्कुलेसनमा ल्याई अर्थतन्त्रमा सवैभन्दा महत्वपुर्ण योगदान दिएका छन । उदाहरणका लागि कुनै एक ब्यक्ति संग रु. एक हजारको नोठ खाद्यान्न खरिद गर्न पसलेकोमा दिन्छ, सोहि पैसा पसलेले सामान खरिद गर्न सप्लायर्सलाई भुक्तानी गर्दछ, सप्लायर्सले कृषक तथा कामदारहरुलाई भुक्तानी गर्दछ, कृषकहरु विउ-विजन र मल खरिद गर्न खर्च गर्र्दछन । यस्तै अनेकौँ कारोवार मार्फत एक नोठले करोडौँको कारोवार गर्न सक्दछ । यदि एकजनाले उक्त नोठ बचतको नाममा वित्तिय संस्थामा नभै आँफुसंगै राखेको अबस्थामा उक्त नोठको कार्य क्षमता रोकिन्छ । नोठ एक विनिमयको साधन मात्र भएता पनि यस्ले अर्थतन्त्रका सम्पुर्ण बस्तु तथा सेवाहरुलाई चलायमान बनाइदिन्छ । सवै बस्तु तथा सेवाको मुल्य मापन, खरिद विक्री, कारोवारको सहजता गर्ने नोठलाई सहकारीसंस्थाहरुले चलायमान बनाउन मद्दत गरेको पाइन्छ । आजभोली मानिसहरु आँफुसंग असुरक्षित बचत गर्नु भन्दा सहकारी संस्था वा बैंक तथा वित्तिय संस्थाहरुमा बचत गर्न उत्साहित भएको पाइन्छ । यस्ता संस्थाहरुले मानिसहरुको अब्यवस्थीत, असुरक्षित बचत, खुत्रुके बचत, घैँटो तथा मुदुसमा गरिने बचतलाई प्रतिस्थापन गर्न सफल भएको पाइन्छ ।

सहकारी संस्थाहरुको योगदानको सम्बन्धमा नेपाली ग्रामिण समुदाय साहु तथा महाजनहरुको हावी रहेको हाम्रो अर्थतन्त्रमा  महंगो ब्याजदरमा कुनै पारदर्शी हिसावकिताव विना ऋण  लिनुपर्ने बाध्यता  थियो तर सहकारी संस्थाहरुको विकास भएसंगै कुनै बचत तथा  ऋण  सहकारीमा सदस्यता रहेको ब्यक्तिले सहकारीको तोकिएको सिमा सम्मको रकम सजिलै ऋण स्वरुप लिन सक्दछ । यसवाट ग्रामिण क्षेत्रका तथा अशिक्षित ब्यक्तिहरु प्रत्यक्ष लाभांवित भएका छन । यसवाट सहरी क्षेत्रका  बैंकिङ्ग पहुँच पुग्ने ब्यक्तिहरुभन्दा पनि ग्रामिण क्षेत्रका बासिन्दा हरुले बढि  प्रभावकारी  रुपमा फाइदा लिएका छन । यसरी सस्तो र सुरक्षित ऋण सुविधा उपलब्ध हुनाले समुदायमा रहेका ब्यत्तिहरुले सहजै ऋण प्राप्त गर्ने अवसर पाएका छन । त्यसैले सहकारी संस्थाहरु उनीहरुको उद्योग, कारोवार, ब्यवसाय तथा लगानी विस्तारका लागि कोशेढुङ्गा सावित भएका छन  ।

सहकारी  संस्थाहरुको अर्को योगदानको विषयमा कुरा गर्दा जनस्तरसम्म पुग्न सफल यी संस्थाहरुले नेपालमा साना साना बचत लाई संकलन गरि ठुलो पुँजी निर्माण गर्ने कार्यमा यिनीहरु अब्बल मानिएका छन । कुनै सहकारीको शेयर सदस्य भए पश्चात सदस्यहरु एक लगानी कर्ताको रुपमा पनि विकसित भएका छन । उनिहरुमा लगानीको प्रक्रियाहरु, महत्वहरु, फाइदाहरु, प्रति शेयर मुल्य, संस्थाको नाफा नोक्सान, बोनस वितरणका कार्यहरु आदी लगानीका कार्यहरुको बारेमा जान्ने अवसर प्राप्त गरेका छन । जस्ले गर्दा लगानीकर्ताहरुको उत्पत्तिमा मद्दत पुगेको छ । यसरी पुँजीबजारमा लगानी कर्ताहरु पनि बढ्न थालेका छन । नेपालमा उल्लेख्य मात्रामा पुँजी लगानी भई संचालनमा आएका उद्योग धन्दाहरु निकै कम मात्रामा संचालनमा आएका छन । यसको संख्यामा उचित विकास गर्न सकेको अबस्थामा मात्र देशको विकास सम्भव रहेको छ । यस्ता संस्थाहरु मर्फत ब्यबसाय स्थापना  तथा विस्तार गर्न पुँजी प्राप्त गर्न सहयोग पुगेको छ । तर यसवाट पुँजीबजारका लागि निकै न्युन मात्रामा नयाँ लगानीकर्ताहरु विकसित भएका छन । तर यस्ता संस्थाहरुवाट शेयर सम्बन्धी धेरै जानकारी हुने भएकाले यस्ता संस्थामा आबद्ध ब्यक्तिहरुलाई पुँजीबजारमा आकर्षित गर्न भने सहज हुन्छ ।

सहकारीको अर्को महत्वको कुरा गर्दा वित्तिय साक्षरता कार्यक्रमहरुको पहुँच विस्तार गर्न सवैभन्दा उपयुक्त माध्ययम मान्न सकिन्छ । सम्पुर्ण सहकारी संस्थाहरुले वित्तिय साक्षरता कार्यक्रमहरु संचालन गर्नका लागि मार्ग दर्शन गर्ने र कार्यक्रमहरु सहकारी मार्फत ब्यक्ति ब्यक्तिमा पुर्याउने कार्य गर्न सकेमा वित्तीय साक्षरता कार्यक्रमले सार्थकता पाउन सक्छ ।  त्यसैगरी सहकारी नाफा कमाउने उद्देश्य नभइ सदस्यहरुलाई सामुहिक सहयोग उपलब्ध गराउनका लागि स्थापना भएका हुन्छन । तर सहकारीमा शेयर, लाभाशं, ऋण रकम, ब्याजदर जस्ता पुँजीबजारका विभिन्न बुँदाहरु प्रत्यक्ष प्रयोगमा आउने हुनाले पुँजी बजारको बारेमा बिस्तृत जानकारी प्रदान गर्न सहज हुने देखिन्छ । त्यसैले सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुलाई वित्तिय साक्षरता मार्फत पुँजीबजारका लगानी गर्न प्रेरित गर्न सक्दछ । जस्ले गर्दा हाम्रो जस्तो सानो अर्थतन्त्र भएको देशमा पुँजी निमार्णले गति लिन सक्छ ।

यसरी सहकारी संस्थाहरुले विभिन्न पक्षहरुवाट आर्थिक तथा सामाजिक विकासको लागि महत्वपुर्ण योगदान प्रदान गर्न सक्षम छन । यीनीहरु अर्थतन्त्रको एक महत्वुर्ण अँग रहेका छन । त्यसैले सहकारी संस्था एक सवल, सक्षम र सदस्यहरुको हितलाई समेट्न सक्ने संस्था हुनु पर्दछ । सहकारी संस्थालाई उनिहरुको कारोवारका आधारमा कर्मचारी आवस्यक रहन्छ । कर्मचारीको आवस्यकता परिपुर्ति गर्दा रोजगारीको अवसर प्राप्त हुन्छ । त्यस्तै सहकारीले वित्तिय सहायता प्रदान गरी सदस्यहरुसंग रहेको स्रोत र साधनको उच्चतम उपयोगको लागि प्रेरित गर्दछ ।

जनस्तरमा रहेर सदस्यहरुलाइ बचत तथा कर्जा सुविधा, सर्वसुलभ मुल्यमा बस्तु तथा सेवा, सहयोग,  अनुगमन, परामर्श, रोजगारी प्रदान गर्ने जस्ता महत्वुर्ण कार्य सहकारीको कार्यक्षेत्र भित्र रहन्छन । त्यसैले यी संस्थाहरु अर्थतन्त्रमा निकै महत्वुर्ण मानिएका छन । प्रभावकारी नेतृत्व, प्रभावकारी नियमन, नियमित अनुगमन, आवस्यक नियन्त्रण तथा समन्वयले नै संस्थाहरुको सफल र सक्षम हुन्छन । त्यसैले यस्तो कार्यमा नियमन संस्थाहरुको मुख्य योगदान रहन्छ ।

 

Comments are closed.