विकासे काममा मन्त्रीको हस्तक्षेप लाजमर्दो

नेपालको सडक अवस्थाका बारेमा कोही नागरिक पनि सन्तुष्ट हुन सकेका छैनन् । गाँउका सडकको त कुरा छाडौं शहरमा भएका सडकहरुप्रति पनि आम नागरिकको सोंचाई अवस्था उस्तै हो । हुन त राज्यले जनघनत्व र सवारीको चाप अनुसारकै चौडाई सडक निर्माणका क्रममा तय गरेको हुन्छ । तर, सडकका छेउमा घरजग्गा रहेका नागरिकहरुबाट नै हुने सडक अतिक्रमणले सरकारी मापदण्ड मिचिरहेका हुन्छन् ।
पछिल्लो समय देश भरी नै सडकका मापदण्ड विपरित निर्माण गरीएका संरचना भत्काउने सरकारी निकायको सकारात्मक कदम जारी छ । जुन कुरालाई आम नागरिकले सहर्ष स्वीकारीरहेका छन् र त्यस कामको नेतृत्वकर्तालाई बधाई दिने गरेका छन् । तर, केही दिनअघि लेखनाथ नगरपालिकास्थित तालचोकदेखि बेगनास ताल सडक खण्डमा मापदण्ड विपरीतका संरचना हटाउँदा एक मन्त्रीले नै विरोध गरे । आफुलाई नसोधी किन संरचना भत्काएको भनि तथानाम गालीका साथ अपमानित गरेकोमा कार्यकारी अधिकृत रामचन्द्र पौडेलको दुखेसो छ । बिकासका गतिविधिमा प्रोत्साहन गर्नुपर्ने सरकारका मन्त्रीले नै सडक सुन्दरताका लागि त्यो पनि सरकारी मापदण्ड विपरीत बनेका संरचना भत्काउन लाग्दा स्थानीय राज्यको प्रमुखलाई हप्काउनु आफ्नो पदकै गरीमालाई बिर्सेको भान हुन्छ । अझ ती मन्त्री पनि लेखनाथ नगरपालिकाकै स्थानीय बासिन्दा हुन् । आफ्नो नगरपालिकाको विकासे गतिविधिमा प्रत्यक्ष रुपमा सहभागी हुन पर्नेमा उल्टै त्यसको विरोध गर्नुले कतै राज्यप्रति भन्दा पनि सिमित व्यक्तिको स्वार्थमा ती मन्त्री लागेका हुन् कि भन्ने पनि आम नागरिकमा आशंङका उब्जेको छ ।
मापदण्ड विपरीतका संरचना भत्काएकोमा मन्त्रीबाट खाएको गाली र हप्काईले यतिबेला लेखनाथका कार्यकारी अधिकृत पौडेल मानसिक तनावमा रहेको स्वयं नगरपालिकाका कर्मचारीहरुले महशुस गरेका छन् । त्यहि नगरका स्थायीबासीन्दा समेत रहेका मन्त्री रिसाउँदा भावी दिनमा अप्रत्यासीत र अस्वभाविक नतिजा व्यहोर्नुपर्छ की भन्ने कार्यकारीको तनाव होला । तर, नगरको सुन्दरता र विकासका निम्ती चलाएको अभियानमा आम नगरवासीले उत्साहका साथ सहभागीता जनाएकाले उनले त्यति टाढा नसोंच्दा नै राम्रो होला । यदि कथम कदाचित मन्त्रीले आफुले भनेको नमानेकै कारण कुनै दवाव या सरुवाको पहल गरे भने नगरवासीले कार्यकारीको साथ दिनुपर्ने हुन्छ । यसबारेमा ती मन्त्रीले पनि बेलैमा सचेतता अपनाउँदा राम्रो होला नत्र कर्मचारीलाई वाहवाह गरेर मन्त्रीलाई नै तिरस्कृत गर्ने दिन नआउला भन्न सकिन्न ।

Comments are closed.