जस्तोकि अमेरिकी महादेश वा युरोप भूमी छिर्ने अनि मलेशिया र अरब होमिनेको गन्तव्य छनौटका आधार वा नियतीको परिबन्ध एकैखाले हुनसक्छ? वा भनौ अमेरिकामै डीभी पर्ने, मेक्सिकोबाट छिर्ने, शरणार्थी घोषणा गर्ने तथा अध्ययन र क्षमताका आधारमा कर्मभूमी बनाउने नेपालीको व्याख्या एकै धारणाले सम्भव छ? पक्कै छैन, नहुनुपर्ने हो । यहीँनिर मेरो कुरा हो विदेश छनौट कि नियती?
बुद्ध कतै भन्छन,’दुःख टार्न सकिदैंन, आउँछै आउँछ तर कष्ट सदैब छनौटको विषय हो।’
यद्यपि हरेक घटना आफैमा स्थान र समयका आधारमा सत्य भए पनि भोगाइका आधारमा फरक हुन सक्छन भन्ने मान्छु । भोगाइ ? अर्थात त्यसपछि बन्न थाल्ने जीवन दृष्टिकोण । किनभने भोगको वस्तुगत पाटोसंगै मानिसलाई हुने अनुभुति र परिष्कृत भइरहने विचारको विकास प्रक्रियाले कुनै पनि घटनालाई कसरी ग्रहण गर्ने भन्ने बाटो देखाउँछ । त्यसैले घटनाको सामाजिक वस्तुस्थिति एकैनासका हुँदाहुँदै पनि जीवन दृष्टिकोण एकैनासका हुनेबारे निक्र्यौल गर्न सकिन्न । यहीँबाट मेरा केहि भन्नु छन् र यो लेखिटोपल्न बसेको हुँ ।
देशमा बस्नुस वा छाड्नुस, आफ्नो दुःख कष्टको भाग देश वा परिस्थिति जस्ता अमूर्त कुरालाई किन लगाउने? बाख्रालाइ बाख्राकै र भैंसीलाइ भैंसीकै सिङ भारी भनेझैं नेपालमा नेपालको दुःख छ, विदेशमा विदेशको दुःख छ किनकि दुःख अकाट्य छ, टार्न सकिन्न ।
१) वैदेशिक जीवनको (अ)सामान्यीकरण
मुलत अमेरिका वा युरोपमा नेपालीको जीवनबारे आजकल प्रशस्तै सार्वजनिक भएका घटना र विचारलाई हेर्दा म व्यक्तिगत रुपमा तिनलाई अत्यन्तै सामान्यीकरण गरिएका उदाहरण पाउँछु । कुनै पनि देश वा समाजको जीवनलाई यसरी सामान्यीकरण गरिनु तथ्यपूर्ण हुनैसक्दैन । फेरि भन्छु मलाई लाग्दछ सामाजिक जीवनका घटना एकै होलान तर भोगाइ र धारणा एकै हुँदैनन्, नहोलान् । जस्तोकि नेपालको जनजीवनलाई अत्यन्त कष्टकर, सरकारलाई लाचार र राजनीतिलाई लाजमर्दो मात्रै मान्ने दृष्टिकोण सम्पूर्ण नेपालको चरित्र चित्र हुनै सक्दैन त्यसरी नै विदेशको संघर्षलाई नर्क र कहाली लाग्दो मात्रै भन्ने धारणा पूर्ण छैन । खासगरी १) अमेरिका, युरोपमा नेपालीको जीवन खत्तमै छ भन्ने र बर्षौदेखि त्यही देशमा टाँस्सिएरै बस्ने अनि २) ती देशमा छिर्न पाको छैन तुरुन्तै स्थिरता र सम्पन्नता खोज्ने र नपाएपछि निक्लने त्यस्ता टिप्पणी भावनामा बहकिएर पोखिएका आंशिक र एकपक्षीय कुरा बढी छन् ।
२) किस्सिमको (अ)राष्ट्रवाद
विदेश छिरेको दिनैदेखि स्वदेशका खोलानाला, गाउँपखेरो, साथीसंगीलाई चाहिनेभन्दा चौगुना बढी मीस गर्ने अनि देशको औधी माया लागेर आउने कलाबिहीन नाटकीहरुको राष्ट्रवाद (?) पनि अचम्म लाग्दो छ । उनिहरुलाई जेटबाट ओर्लेर पराइभूमिमा टेकेदेखि देश दुख्न थाल्छ । भन्न थाल्छन कुन्नी कस्ता-कस्ता परिस्थितिले, कुन-कुन राजनीतिक पार्टीले खेदेर देश छाड्नुपरेको हो नत्र देशभक्त सन्तान बनेर स्वदेशको सेवा गरिबसेका हुने थिए । मानौ उनीहरु देशमै कम्तीमा दिनको ८ घण्टा काम गर्थे, नियमित कर तिर्थे, कानुनको पालना गर्थे आदि इत्यादी । यस्ता खाले मनुवाको तुरुन्तै आँशु आउँछ । घरका आमाबाउको, परिवारको यादले खर्लप्पै खान्छ ।
अनलाइनमा देशका कुनै दुर्घटना वा अपराध वा सामान्य अस्थिरताका समाचार आयोकि त्यस्तो अस्थिरताका कारण खुलाएर सामाजिक सञ्जालका स्टेटस लेखिठोक्छन र देश विकासको ‘आइडिया’ ठाउँका ठाउँ फुरिहाल्छ । मानौं उनीहरु नेपालमा भएका भए त्यस्तो दुर्घटना हुने गरी गाडी हाँक्दैन थिए, नेतालाई भनसुन गरेर जागिर खादैंन थिए, लाइन मिचेर अनियमितता गदैन थिए, बलात्कार गर्दैन थिए, चोर्दैन थिए, डाक्टर भएर औषधी सिफारिस गरेको कमिसन लिन्न थे । इन्जिनियर भएर नापी–नापी घुस खादैंन्थे । आमाबाउलाई वृद्धाश्रममा पठाउँदैन थिए, श्रीमतीलाई भान्छामा सघाउने थिए, छोरीलाई सरकारी र छोरालाई बोर्डिङमा भर्ना गर्दैन थिए आदि इत्यादी । अर्थात देशमा नराम्रा गर्नेहरुमा उनीहरु कहिल्यै थिएनन्, भविष्यमा हुने पनि थिएनन् बरु परिस्थितीले नै लखेटेको हो र निक्र्यौल निस्कन्छ राम्रा गर्ने त देशमै छैनन् । “म नै देशमा नभएसी राम्रा मान्छे कहाँ देशमा हुनु?”
३) `विकासकी बत्ति जलादे´
अर्को रोचक कुरा, लाग्छ अमेरिका, क्यानाडा, युरोपमा खुट्टा टेक्नु भनेको विकास र प्रगतिको सिद्धान्तका शिक्षा प्रदान गर्ने लाइसेन्स मिल्नु हो । भनौं यहाँका चौडा सडक र अग्ला घर देख्नेवित्तिकै कसैको पनि दिमागमा नेपाल किन विकास हुन नसकेको भन्ने दिव्यज्ञानसहितको बत्ती बलिहाल्दछ । अनि यताका ओभरहेड हाइवेलाई उताका तुइन, यताका विद्युतिय रेललाई उताका नेपाल यातायात, यताका बन्दोवस्तीको `मेकानिज्म´लाई उताको घुसखोर नोकरशाहीसंग तुलना गर्न थालेपछि उनीहरु सुशासन र संयन्त्रको अनुसन्धाता पनि बनिहाल्छन ।
४) यहाँ दुख्ख छ त्यतै हाइसञ्चो
“मेरो नेपाल सुख्खको देश, म देशप्रेमी मान्छे हुँ, मलाई मेरो देश नै ठीक लाग्छ” भन्ने आशय राखेर यताबाट कैयनले आजकल विज्ञप्ती निकाल्छन । भनिरहेका हुन्छन – “यता बडो दुख्ख छ त्यतै हाइसञ्चो, म त आइहालें, भो तिमी चैं नआउ ।” दरिद्र मानसिकता शब्दमा हुदैन त्यसमा साँचिएका गुढ अर्थमा हुन्छन् । यो मनोवैज्ञानिक अध्ययन हुने पेचिलो विषय पनि हो ।
यसरी विदेशबारे वितृष्णा र तितो त्यस्ता शब्दमा पोखिरहँदा त्यसमा निहीत ‘लुकेको संकेत’ले अर्थ लगाइरहेको हुन्छकि “काममा घोटिन किन विदेश आउने?” हो, मलाई निजी रुपमा त्यस्ता पीडा पोख्ने नाममा उनीहरुले यसो पो भनिरहेका हुन हैनन् र? भन्ने अलि बढी नै लाग्न थालेको छ – “नेपालमा पौने एघार बजे अफिस पुग, डेढ घण्टा खाजासमय लम्ब्याउ, आधा घण्टा अगाडि कार्यालय छोड । यता पन्ध्र मिनेट भनेको खाजा छुट्टी पन्ध्रै मिनेटमा सक्काउनुपर्छ । १० बजे भनेको अफिस केही अघि नै पुग्नुपर्छ । जति बजे छुट्टी हो त्यतिबेलै ‘टाइम आउट’ लेखाउनुपर्छ । हो भनेको के, यता नआउ, नेपालै ठीक छ ।” अनि नेपालमा सिन्को नभाँच्नुको गर्व उनीहरु यता आएर पनि गर्न भुल्दैनन् तर फेरि नेपालका नेता र अधिकारीहरुलाई विकास हुन नसक्नुको दोषको भारी पूरै बोकाउँछन् ।
५) विदेशः छनौट या नियती?
विदेश मेरो छनौट धेरै र बाध्यता कम हो भनि किन नभन्ने? यो प्रश्नले नेपाल छाड्नु अघिदेखि रिङ्याएको हो । किनकी निजीरुपमा मैले विभिन्न विकल्पमध्ये विदेश रोजेको हुँ (सामान्यीकरणका विपक्षमा मत राख्दाराख्दै पनि यो मैले गरेको सामान्यीकरण हुनसक्छ)। मैले त्यसो भनिरहँदा मूलत युरोप अमेरिका छान्ने म जस्ताको ‘प्रतिनिधि तथ्य’ हुन्छकि हुदैन? सोचीबस्छु ।
मेरो विचारमा छनौटले कर्म र आत्मविश्वासमा धरातल खोज्छ र नियतीले चाहिँ अनियन्त्रित परिस्थिति र घट्नाक्रमलाई आरोपित गर्दछ । के नेपाल बाहिरिने सब्बैलाई नियतीको खोलोमा बगाउन मिल्छ? के विदेश आजको मितिमा त्यस्ता अनियन्त्रित घट्नाक्रम र परिस्थितिले सिर्जना गरेका बाध्यताको नतिजा मात्रै हो? नेपालमा मानिसले आफ्नो उन्नतिका लागि प्रयास गर्न उसको नियन्त्रणमा कुनै व्यवसाय, कुनै जीविका, कुनै पेशा वा कुनै विकल्प छदैं छैनन् त? के विदेश भनेको एउटै उद्देश्य र एउटै गन्तव्यका रुपमा व्याख्या गर्न मिल्ने विषय र सन्दर्भमा सीमित छ?
जस्तोकि अमेरिकी महादेश वा युरोप भूमी छिर्ने अनि मलेशिया र अरब होमिनेको गन्तव्य छनौटका आधार वा नियतीको परिबन्ध एकैखाले हुनसक्छ? वा भनौ अमेरिकामै डीभी पर्ने, मेक्सिकोबाट छिर्ने, शरणार्थी घोषणा गर्ने तथा अध्ययन र क्षमताका आधारमा कर्मभूमी बनाउने नेपालीको व्याख्या एकै धारणाले सम्भव छ? पक्कै छैन, नहुनुपर्ने हो । यहीँनिर मेरो कुरा हो विदेश छनौट कि नियती?
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक बाहिरिने दुई वा तीन हजारको संख्यामाथि गरिने भावनात्मक दुःखी राजनिती र एनजीओ कार्यक्रम अब व्यर्थको भैसक्नुपर्ने बेला आएको हैन र?
हो निर्वैकल्पिक रुपमा विदेशिने पक्कै होलान् । मूलत शारीरिक श्रम नै गर्छु भनी उतैबाट छुट्याइएकै कामको कोटामा अरब वा मलेशिया बाहिरिनेहरु ती समूुहमा पर्लान तर बाँकी नि? जस्तै अमेरिकी महादेश वा युरोप छिरेको एक हप्तामै दुःखको पहाड उचालेर रुनेहरु पहिले छनौट गर्ने आफ्नै क्षमता भएको विश्वास राख्छन र पछि नियतीमा भारी बिसाउने पलायनवादी अवधारणाले थिचिएका आजकल उदाहरणीय रुपमा हामीले देखिरहेका छैनौं र? उ छनौटको कमजोरीमा दुःखी हुने कि नियतीमा रुने? अर्को सत्य के हो भने छानेपछि कुराहरू बाहिर पर्छ, कैयन कुरा नछानिएकोमा पर्छ । तुलसी दिवसको कविताजस्तो, “पर्खाल लगाएपछि धेरै कुरा बाहिर पर्छ ।”
यहाँनिर के जोडौं भने मूलत हामीजस्ता युरोप अमेरिका छानेर विदेशिनेले छनौटको अवसरलाई प्रयोग गरेका हौं, यी परदेशमा हुने ती दुःख सुखको कुरा पहिल्यै थाहा थिएन कसरी भन्ने? विदेशमा नेपालीले के काम गर्छन भन्ने जानकारी थिएन भनेर कसरी भन्ने? अर्थात मैले छानेकै हो भनेर किन नभन्ने?
६) काम वा कर्म?
देशमै बस्नुपर्ने देशप्रेम, कुनै निश्चित पेशाले त देशबाहेक सोच्नै नहुने सिमान्त परिभाषा, युवा विदेशिनु जत्तिको उत्पात शायद संसारमै अर्को नभएकोजस्तो राजनैतिक तर्क, विदेशमा आउनेले गर्ने वेटर, कुक, सेल्स पर्सन, गार्ड, ड्राइभर पेशा भनेको संसारको जिवन्त ‘नर्क’ हो भन्ने व्याख्या आजको मिडियामा यसरी व्याप्त भएको छ कि मानिसले अर्को धारणा नै बनाउन नसक्ने स्थिति छ । ती पेशाप्रतिको नकारात्मक व्याख्या भनेको कामप्रति अझै पनि सम्मानको भावना सृजना हुन नसक्नु त छदैछ यसले स्वदेशमै रहेका त्यस्ता काम गर्नेलाई दुःखी, जीवनका रसस्वाददेखि दूर, आफ्नो जीवनबारे छनौट गर्न नसक्ने कमजोर देख्ने अमानवीय धारणालाई मलजल पनि गरिरहेको छ ।
के यो कुरा नि आजको मानिसलाई भनिरहनुपर्छ कि मानिस ठूलो कामले हैन कर्मले हुने हो । काम कुनै निश्चित पेशा हुनसक्ला तर कर्म भनेको मानिसको विचार र आचरणसहितको सम्पूर्ण जीवनशैली हो । न्युयोर्क, टोरन्टो, मस्को वा लण्डनमा बसेर देश विकासको कुरा सिकाउने अनि समाजका जरुरी र अत्यन्तै जुझारु कामबारे तल्लोस्तरको धारणा राखेर उभाेँ कसरी लागिन्छ? यी शहरमा बसेर बाध्य भएर देश छाडेको हुँ भन्ने खाले कुतर्क राख्दै आफ्नै छनौटको कष्टपूर्ण नतिजामा आफूभन्दा नियतीलाई, देशको अमूर्त स्थितिलाई दोष दिएर किन भ्रम छर्ने? काम जे सुकै (जेसुकैको अनर्थ नलागोस) गरौं कर्म सही रोजौं न ।
अन्तमा,
देशमा बस्नुस वा छाड्नुस, आफ्नो दुःख कष्टको भाग देश वा परिस्थिति जस्ता अमूर्त कुरालाई किन लगाउने? बाख्रालाइ बाख्राकै र भैंसीलाइ भैंसीकै सिङ भारी भनेझैं नेपालमा नेपालको दुःख छ, विदेशमा विदेशको दुःख छ किनकि दुःख अकाट्य छ, टार्न सकिन्न । आफूलाई कष्ट दिने वा नदिने भने छान्न सकिन्छ । यो बडो दार्शनिक र अव्यावहारिक कुरो हो जस्तो ठान्दिन ।
मैले विदेशमा बस्ने कष्ट रोजेको छु वा भनौं यहाँको खाले कष्ट आफैले छानेको हुँ । सिधा कुरा, यता छिर्दाको लाखौंको ऋण मैले नै करोडौंको सपना देखेर सिर्जेको हो अरुले भिडाएको हैन। रकमी सपना केही हदमा आवश्यकता होला तर बढी त छनौट नै हो। निजि बिचारमा, सुख भनेको थकाइले चूर भएको बेला राती बस्ने बास हो, दु:ख चैं दिउंसभरीको यात्रा जो भोलि फेरि गर्नु नै छ, जुन धरातलमा गएनी गर्नुछ। त्यसैले अमेरिकी सपनाको ऐना चर्किएकोमा हुने रोनाधोनालाई नेपालकै नियतीसंग जोड्न आबश्यक छ भन्ने ठान्दिन। `त्यो´ दु:खको छ्नौट ब्यक्तिगत हो।
Comments are closed.