विद्युतीय शवदाह गृह ३ महिनादेखि बन्द

श्याम मगर
पोखरा, १५ श्रावण ।

पोखरा शान्तिघाटको विद्युतीय शवदाह गृह ३ महिनादेखि ठप्प छ । २ वर्ष अघि पोखरा महानगरले एभरेष्ट बैंकसँगको सहकार्यमा आधुनिक शवदाह गृह सञ्चालनमा ल्याएको थियो ।
पोखरा महानगर वडा नम्बर ९ मा अवस्थित उक्त वातावरणमैत्री शवदाह गृह स्थानीयको अवरोधपछि बन्द भएको हो । प्रदुषणरहित भनिए पनि शवदाह गृहले प्रदुषण निम्त्याएको भन्दै स्थानीयले विरोध गरेका हुन् ।
‘शव जलाउदा निस्किने धुँवा सबै टोलतिर आउने थाल्यो । त्यसलाई कम गर्नु प¥यो भन्ने हो,’ शान्तिवन टोल विकास समितिका अध्यक्ष रामबहादुर विकले भने, ‘टोलबासिको स्वास्थ्यलाई ख्याल गर्नु प¥यो भन्ने हो । खासै विरोधै भनेर गरेको पनि होइन ।’
उनले पूर्वी भेगबाट हावा चल्दा शवदाह गृहबाट निस्किने धुँवा टोलतिर सोझिने बताए । आफ्नो टोल भन्दा पनि शान्ति वन बाटिका टोल विकास समिति शवदाह गृहको नजिकै भएकाले बढी असर पार्ने उनले बताए । शवदाह गृह सञ्चालनको जिम्मा पाएका शान्तिघाट विकास समितिका अध्यक्ष सीपबहादुर कार्की टोलबासिको अवरोधपछि शवदाह गृह बन्द भएको बताए । ‘शवदाह गृहले हामीलाई असर ग¥यो भनेर यहाँ डढाउन दिन्नौं, यसो र उसो गरे,’ उनले भने, ‘त्यसो गर्दा पनि हामीले २, ३ वटा लाश त जलायौ । जलाउदा कुट्न आउलान जस्तो गरे । सामाजिक काम गर्दा आक्रमणै हुने अवस्था आएपछि हामी भिड्न सक्दैनौं भनेर महानगरलाई भनेका थियौं । त्यसपछि त्यो त्यसै छ ।’
महानगरमा गुहारे पनि अहिलेसम्म सञ्चालनको कुनै पहल नभएको उनले बताए । स्थानीयले शवदाह गृहले प्रदुषण फैलाएको आरोप लगाए पनि शबदाह गृह पूर्ण वातावरणमैत्री भएको उनको दाबी छ । ‘विरोधको लागि विरोध मात्रै हो उनीहरुको । अरु त केही पनि होइन । त्यसलाई केही बिगारेकै छैन,’ उनले भने ।
शवदाह गृहमा शव लिएर पुम्दिभुम्दीदेखि यता महानगरका ३३ वडामध्ये प्राय जसो वडाबाट आउने गरेको उनले बताए । स्याङ्जाका केही भेगबाट समेत शव लिएर उक्त शवदाह गृहमा आउने गरेको उनको भनाई छ । ठूलो भेगलाई समेट्ने घाट साथै आसपासमा बस्ति पनि ठूलो भएकाले पनि वातावरणमैत्री बनाउने अवधारण आवश्यक ठानेर शवदाह निर्माण थालिएको उनले बताए ।
एभरेष्ट बैंकको ६४ लाख सहयोगमा बनेको विद्युतिय शवदाह गृह निर्माण हुनु अघि पनि स्थानीयले अवरोध खडा गरेका थिए । यो पूर्ण विद्युतिय शवदाह गृह भने होइन । दाउराको खपत पनि कम हुने, शव जल्न पनि कम समय लाग्ने साथै वातावरणमैत्री देखिएकाले महानगरले उक्त विद्युतीय शवदाह गृह सञ्चालनमा ल्याएको थियो । ४५ मिनेट देखि १ घण्टा भित्रमा एउटा शव जलेर सकिन्छ ।
यस्तै खालको शवदाहगृह शान्तिघाट पल्लोपट्टि रामघाटमा पनि बनाउने योजना ल्याएपछि स्थानीयले उच्च अदालतमै रिट दर्ता गरेका थिए ।
पोखरा ९ का वडाध्यक्ष रामराज लामिछानले नगरप्रमुखले दुवै पक्षलाई डाँकेर सहजीकरण गर्ने बताए । तर, अहिले पोखरा महानगरका मेयर मानबहादुर जीसी अस्वस्थ्य छन् । उनको अहिले काठमाडौंमा उपचार चलि रहेको छ । हृदयघात भएपछि उनलाई उपचारका लागि काठमाडौं लगिएको थियो ।
शान्तिघाट विद्युतीय शवदाह गृहमा विवाद पैदा भएपछि बन्द हुँदा अहिले पूरानै घाट प्रयोग गर्नु परेको छ ।

Comments are closed.