पोखरा, १३ साउन/पोखरा उद्योग वाणिज्य संघको मौजुदा विधान–२०५० संशोधनमा आ–आफ्नो क्षेत्रबाट सघाउने वस्तुगत संघहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । संघले विधान संशोधनको सन्दर्भमा मंगलबार आयोजना गरेको छलफल कार्यक्रममा सहभागी वस्तुगत संघका प्रतिनिधीहरुले विधान संशोधनलाई अवसरको रुपमा लिनुपर्ने धारणा राखेका हुन् ।
छलफलमा सहभागीहरुलाई संम्बोधन गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले विधान संशोधन व्यवसायिक एकताको लागि भएको जानकारी दिँदै संघको दायरा फराकिलो बनाउने अभिप्रायले नै विधान संशोधन प्रस्ताव अगाडि बढाएको बताए । उनले व्यवसायीको सुखदुःखमा साथ दिनु नै संघको कर्तव्य भएको स्पष्ट पार्दै साउन २३ गते आयोजना हुन लागेको विशेष अधिवेशनमा सहभागी हुन सम्पूर्ण साधारण सदस्यहरुसँग आग्रह पनि गरे ।
विधान संशोधन उपसमिति संयोजक तथा पोखरा उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष मिनराज काफ्लेले प्रस्तावित विधानले वस्तुगत संघहरुलाई संघमा समाहित गर्ने, आफूले चाहेका व्यक्तिलाई संघको कार्यकारी पदमा प्रत्यक्ष निर्वाचनमार्फत पु¥याउन पाइने भएकोले पनि विधान संशोधनमा भाग लिन सबै सदस्यहरुसँग आग्रह गरे । पोखरा उद्योग वाणिज्य संघका सल्लाहकार तथा पूर्व अध्यक्ष सुरेशराज राजभण्डारीले असल कुराको प्रचार मुखमुखै गर्नुपर्ने र व्यवसायीहरु एक हुनुपर्नेमा जोड दिए ।
अधिकृत बिक्रेता संघ पोखराका अध्यक्ष सुरेश अधिकारीले यो विधान संशोधन गरेर कसैलाई अहित नहुने र सबैलाई समेटिने विधान बन्ने भएकोले संशोधन प्रक्रियामा अवसर भएको बताए । कपडा व्यवसायी एसोसियनका अध्यक्ष यमनाथ तिमिल्सिनाले संघका सबै सदस्यहरु तथा वस्तुगत संघका सदस्यहरुको एक भएर विधान संशोधनमा लाग्ने प्रतिवद्धता व्यक्त गरे । पोखरा भाँडा व्यवसायी संघका महासचिव नरेन्द्र आचार्यले संशोधित विधानमा भएका राम्रा कुराहरुको अझै प्रचारप्रसार हुनुपर्ने धारणा राखे ।
Comments are closed.