विप्लव माओवादीले फेरी कब्जा गरेर सर्वसाधारणलाई ग्याँस बाँड्यो

gas

माघ १२ गते-
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले पोखरामा पनि ग्याँसको गाडी नै कब्जामा लिएर सर्वसाधारणहरुलाई वितरण गरेको छ ।
पोखराको पृथ्वी चोकमा गृहलक्ष्मी कम्पनीको ग्याँसको गाडीलाई नियन्त्रणमा लिएर सर्वसाधारणलाई वितरण गरिएको कास्की जिल्ला ईन्चार्ज सावित्री दुराले जानकारी दिईन् ।
“सर्वसाधारणले ग्याँस नपाएर भोकभोकै बस्नुपर्ने अवस्थाको सिर्जना भएको छ ।” पाेखरा हटलाइनसँग दुराले भनिन्– “पोखरामा डिलरहरुले होटलहरुमा मात्रै ग्याँस दिने गरेको पाईयो, यसले गर्दा आम जनताले पाउनुसम्म सास्ती पाएका छन्, त्यही भएर हामीले गाडी नियन्त्रणमा लिएर सर्वसाधारणलाई ग्याँस बाँडेका हौं ।”
नेकपा माओवादीका यूवा संगठन राष्ट्रिय जनस्वयंमसेवकका जिल्ला संयोजक मेख बहादुर विकको नेतृत्वमा पुगेको टोलीले ग्याँस वितरण गरेको उनले जानकारी दिईन् ।
ग्याँस डिलरहरुले सर्वसाधारणलाई ग्याँस नदिने तर होटेलवालाहरुलाई चर्को मूल्यमा ग्याँस दिने गरेको पाईएकाले कार्वाहीस्वरुप नियन्त्रणमा लिएर सर्वसाधारणलाई बाँडिएको माओवादीले जनाएको छ ।
माओवादीले गाडीमा रहेका सबै १ सयवटा सिलिण्डिर उपभोक्तासँग खाली सिलिण्डिर लिएर वितरण गरेको थियो ।
आयल निगमले तोकेकै शुल्कमा ग्याँस सर्वसाधारणलाई दिएर उठेको पैसा सम्बन्धित डिलरलाई नै उपलब्ध गराईएको थियो ।

Comments are closed.