एकराज गिरी/पोखरा २२ बैशाख,
पोखराका अस्पतालका बेड खाली छैनन् । चिकित्कहरुलाई घाइतेको उपचार गर्न खटिरहेका छन् । ट्रलीमा बिरामी उपचारका लागि आउँछन् । तर, अहिले अस्पतालका ट्रलीमा विरामी हैन । भात, दाल र तरकारीका ठूलठूला देक्ची ट्रलीमा देखिन्छन् । करिव एक साता यता अस्पतालका ट्रलीबाट दिने सेवा फरक छ । एक साता अगाडि आएको विनासकारी भूकम्पपछि हजारौंको मृत्यु र उति नै सख्ंयामा अस्पतालको सैयामा छन् भने लाखौ घरबारविहिन । कतिको गास, बास र आफन्त सवै गुमेको छ । बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी घाइते र तीनका आफन्तका लागि अस्पतालमा विभिन्न संघसस्था र व्यक्तिले खानाको व्यवस्था गरेका छन् । घाइते र आफन्तलाई खाना खुवाउन अस्पतालका वार्ड वार्डमा पुर्याउन ट्रलीको प्रयोग गरिएको छ ।
गोरखा भच्चेकका ८७ वर्षीय छविलाल विश्वकर्मालाई खानाको कुनै अभाव छैन । खानाको व्यवस्था कस्तो छ ? भन्ने प्रश्नमा उनले भने, ‘कुनै समस्या छैन । जे खाएपनि पाइएको छ । आफ्नै बच्चाजसरी खुवाउनु भएको छ । ठूलो धर्म गरेका छन्, सवैको राम्रोहोस ।’
पोखराको गण्डकी मेडिकल कलेजमा उपचार गराई रहेकी गोरखा बरपाककै ८० वर्षीया गाथी गुरुङलाई खाने कुनै समस्या त छैन तर, पाँच वर्षकी बेपत्ता नातीनी नभेटिएकोमा चिन्ता छ । उमेरले डाँडामाथिको घाम जस्तै भएकी उनलाई खाने भन्दा नातिनीको चिन्ताले पिरलेको छ ।
खान र औषधीको समस्या छैन ८० वर्षीय दमै गुरुङले भने । गोरखाको बारपाकबाट दुई दिन लाग्ने उइया गाविसबाट सेनाको हेलिक्पटर मार्फत उद्धार गरिएको थियो उनलाई । भूकम्पमा घाइते भएका र उनीहरुका आफन्तलाई खाना खुवाउनेको पोखराका अस्पतालमा लर्को लागेको छ । विभिन्न संघसंस्थाले खाना खुवाउन हानथाप र होडबाजी गरेका छन् । पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा खाना खुवाउन तछाडमछाड भएपछि अस्पतालमा आलोपालोको ब्यवस्था गरिएको छ । खाना खुवाउछौ भन्ने दाता धेरै आएका छन् जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका कर्मचारी एवं स्वयमसेवक गोपाल बरालले भने ।‘खाना खुवाउन चाहने धेरै भए । स्वतस्फुत रुपमा आएका छन्, त्यसैले हामीले विहान र बेलुका आलोपालोको व्यवसथा गरेका छौं ।’‘खाना खुवाउन छिनछिनमा आउँछन्, त्यसरी त कहाँ हुन्छ’ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका ल्याव टेक्निसियन शंकर भण्डारीले भने, ‘खाना खुवाउन आउनेहरु मेरो खाना खाइदिनुस हजुर भन्छन् उनले भने भर्खरै एउटा संस्थाले खान खुवाउँछ एकछिनमा अर्को आउँछ । विवाद भएपछि पालो लगाइदिएका छौ’ उनले भने ।
अस्पतालमा खाना खुवाउनेहरुवीच दैनिक झगडा हुन्छ । झगडा नौलो हुन छाडिसकेको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा बैशाख २७ गतेसम्म खाना खुवाउनेको नाम बुर्किङ छ । ‘दैनिक १ सय ४० जनाको हाराहारीमा खाना खुवाउनुपर्ने हुन्छ’ भण्डारीले भने । आइतबार साँझ अर्जुन अधिकारीले १ सय ८४ जनलाई खानाको ब्यवस्था गरे भने सोमबार विहान समाजसेवी गजकुमारी गुरुङले गरिन् । सोमबार विहान एक सय ८० जना विरामीका र आफन्तलाई खाना खुवाइएको स्वयमसेवक समेत रहेका अर्जुन अधिकारीले जानकारी दिए । पोखराको पश्चिमाञ्चल अस्पतालमा गण्डकी मेडिकल कलेज, मणिपाल र फेवा सिटि अस्पतालमा भूकम्पका घाइतेहरुको उपचार भैरहेको छ ।
‘पैसा बाँड्ने टोली पनि आउँछन, प्रमुख जिल्ला अधिकारीले पैसा बाँड्न नदिनु भन्नु भएको छ’ उनले भने–‘दिन मन लागे प्रधानमन्त्री उद्धार कोषमा दिए भैहाल्यो नि, नत्र अस्पतालबाट डिस्चार्ज भएका विरामीलाई दिए बस भाडा हुन्छ ।’
Comments are closed.