५ साउन, काठमाडाैं । टी-२० विश्वकप छनोटमा निकै खराब प्रदर्शन गरेपछि नेपालले स्कटल्याण्डसँग हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपमा सुवास खकुरेल, विनोद भण्डारी र जितेन्द्र मुखियालाई टीमबाट हटाएको छ ।
चोटका कारण सागर पुन पनि टीमबाट बाहिरिएका छन् । टीममा पृथु बास्कोटाले स्थान बनाएका छन् । टी-२० विश्वकपका लागि घोषित १५ सदस्यीय टोलीमा महेश क्षेत्री र अविनाश कर्णलाई थपेर स्कटल्याण्डसँग खेल्ने नेपाली टोली बनाइएको थियो । तर, विश्वकप छनोटमा खराब प्रदर्शनपछि ओपनर सुवास र विनोद भण्डारीलाई हटाइएको छ ।
विश्वकप छनोटमा मुख्य ब्याट्सम्यानको भूमिका पाएका विनोदले चार खेलमा १४ रन बनाए ।
एक खेलमा मौका पाएका सुवास खकुरेल मात्र २ रनमा आउट भएका थिए । विश्वकपको तयारीका क्रममा नेदरल्याण्डसँग भएको टी-२० मा पनि सुवास चलेका थिएनन् । बलर जितेन्द्र मुखिया टी-२० का लागि भएकाले उनलाई पनि स्कटल्याण्ड भ्रमणमा राखिएको छैन ।
क्यानका कार्यबाहक महासचिव उत्तम कर्मचार्यले चोटका कारण खेल्न नसक्ने अवस्थामा रहेका सागरको स्थानमा पृथुलाई टीममा राखिएको बताए । पृथु अहिले इंल्याण्डको केन्ट क्रिकेट लिगको डिभिजन २ मा अपचर्च क्रिकेट क्लबबाट खेलिरहेका छन् । पहिलो खेलमा १४६ रन बनाएका उनले दोस्रो खेलमा भने ६ रन बनाएका थिए ।
महेशले टुन क्रिकेट क्ललबाट खेेलेका छन् । उनले पहिलो खेलमा नटआउट ६४ रन बनाएका थिए । क्यानका काबा महासचिव कर्माचारीयका अनुसार सागर र जितेन्द्र मंगलबार साँझसम्ममा काठमाडौं आइपुग्नेछन् भने सुवास र विनोद केही दिनमा आइपुग्नेछन् ।
Comments are closed.