पोखरा, ९ पुस/ पोखरामा प्रधान कार्यालय रहेका विश्व विकास बैंक लिमिटेड र फेवा फाइनान्स लिमिटेड एकआपसमा गाभिने भएका छन् । यी दुई बैंक गाभिएसँगै अब राष्ट्रिय स्तरको विकास बैंक बन्ने भएको छ । सोमबार पोखरामा भएको एक कार्यक्रममा विश्व विकास बैक लिमिटेडका तर्फबाट अध्यक्ष जगन बहादुर गुरुङ्ग र फेवा फाइनान्स लिमिटेडका तर्फबाट अध्यक्ष दिल बहादुर गुरुङ्गले मर्जर सम्बन्धी सहमती पत्रमा हस्ताक्षर गरे ।
मर्जर पश्चात् हुने संचालक समितिको अध्यक्षमा विश्व विकास बैक लिमिटेडका अध्यक्ष जगन बहादुर गुरुङ्ग रहनेछन् भने प्रमुख कार्यकारी अधिकृतमा फेवा फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा रहनेछन् । २०७१ आश्विन मसान्तको वित्तीय विवरणलाई हेर्दा दुवै संस्थाको चुक्ता पूँजी रु. ८१ करोड (प्रस्तावित बोनस शेयर समायोजन गर्दा), निक्षेप रु. ८ अर्ब र कर्जा करिब रु. ७ अर्ब भएको देखिन्छ ।
त्यस्तै शाखा सञ्जाललाई हेर्दा दुवै संस्थाको ३० वटा शाखा सञ्जाल र १६ वटा एटीएम हुनेछन् । पोखरामा केन्द्रीय कार्यालय रहेका यी दुवै संस्था वित्तीय हिसाबले सबल र सक्षम मानिन्छन् । सोही अवसरमा प्रमुख कार्यकारी अधिकृतहरु रेशम बहादुर थापा र समिर शेखर बज्राचार्यले दुवै राम्रा संस्थाहरु मर्ज हुने भएकोले मर्ज पश्चात पनि नेपालकै उत्कृष्ट राष्ट्रिय स्तरको विकास बैक हुने विश्वास प्रकट गरे ।
Comments are closed.