वीपी काँग्रेसका जिल्ला उपसभापति गिरीसहित ४० भन्दा बढिको समूह एकसाथ राप्रपा प्रवेश

पोखरा हटलाइन,

वीपी काँग्रेस कास्कीका उपसभापति सहित ४० भन्दा बढि सदस्य तथा कार्यकर्ताहरु एकसाथ राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका छन् । वीपी काँग्रेस पार्टी कास्कीका उपसभापति महादेव गिरीसहितको समूह पार्टी प्रवेश गरेको राप्रपा कास्कीले पुष्टी गरेको छ ।
राप्रपा कास्कीको पार्टी कार्यालयमा एक विशेष समारोहका बीच वीपी काँग्रेस पार्टीमा आबद्ध रहँदै आएका उनीहरु राप्रपा प्रवेश गरेका हुन् । राप्रपाले उठाउँदै आएको राजसंस्थासहितको प्रजातन्त्र र नेपाललाई हिन्दु राष्ट्र घोषणा हुनुपर्ने लगाएतका पार्टीको मुल्यमान्यतालाई आत्मसाथ गर्दै पार्टी प्रवेश गरेको उनीहरुले बताएका छन् ।


‘राप्रपाले राष्ट्रियताको सवालमा उठाउँदै आएको एजेन्डाहरु हाम्रो व्यक्तिगत र समूहगत एजेन्डासँग मिल्यो । राजसंस्था, हिन्दु धर्म र भ्रष्टाचार निवारणमा राप्रपाले जुन खालको अडान लिएर अगाडि बढेको छ, त्यहि एजेन्डाले मलाई तान्यो ।’ पार्टी प्रवेश पछि वीपी काँग्रेस कास्कीका उपसभापति रहिसकेका महादेव गिरीले भने–‘त्यसपछि पार्टीमा रहेका एजेन्डा मिल्ने अन्य साथीहरुलाई पनि मैले एकत्रित गरेर राप्रपा प्रवेश गरेका हौँ ।’
गिरीले राजसंस्थासहितको हिन्दु राष्ट्र कायम हुन सकेमात्र देशमा भ्रष्टाचारको अन्त्य हुने र साँच्चिकै देशले निकास पाउने तर्क गरे । हिन्दु धर्म जोगाउनका लागि आफूहरु मर्न समेत तयार भएको बताउँदै उनले राजसंस्थालाई स्थापित गर्न सके मात्र धर्म पनि जोगाउन सकिने बताए । महादेव गिरीसहित वीपी काँग्रेस कास्कीका सचिव शंकरप्रसाद पौडेल, सहसचिव रोशन पोखरेल, झम्कनाथ आचार्य, सहकोषाध्यक्ष ऋषिराम भण्डारी, गणेश अधिकारी, सदस्यहरु सुरज शर्मा, योगराज पौडेल, महेश्वर सुबेदी, आनन्द पौडेल, भोला बराल, सुन्दर लामा, राजेश कार्की, अनुमारत्न तिमिल्सिना, गोबिन्द रिजाल, नरबहादुर कुमाल, सौगात अधिकारी, छविलाल सुनार, माया गुरुङ लगाएत राप्रपा प्रवेश गरेका थिए ।
राप्रपाका गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङले वीपी काँग्रेसबाट आएका ४० भन्दा बढिलाई टिका र खादा लगाएर पार्टी प्रवेश गराएका थिए । सोही क्रममा आफ्नो धारणा राख्दै गुरुङले राप्रपा प्रति जनताको धारणा सकारात्मक हुँदै गएको बताए । ‘जनताको दुख बुझ्ने एकमात्र राजनीतिक दल राप्रपा भएको छ । अरु दलहरुले जनतालाई झुठो सपना बाँडेर शासन गर्ने काम मात्र गरेका छन् भने राप्रपाले साँचो रुपमा काम गरेर राष्ट्रियता जोगाउने अभियानमा लागेको छ ।’ पञ्चरामले भने–‘धर्म र देश बेच्नेहरुको सयम अब सकिन लागेको पछिल्ला दृश्यहरुले देखाईरहेका छन् ।’

 

त्यस्तै पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गर्दै राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले राप्रपाको विकल्प अन्य दलहरु नभएको कुरालाई बुझेर पार्टीमा आउनु राम्रो कुरा भएको बताए । उनले राप्रपालाई साँच्चै देश र जनताको चिन्ता भएको पार्टीको रुपमा पछिल्लो समय धेरैले लिने गरेको पनि दाबी गरे ।
पछिल्लो समय राप्रपा प्रवेश गर्नेहरुको संख्या निकै बढेको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले बताए । राप्रपाले उठाएको एजेन्डाहरु र पार्टीको पछिल्लो नेतृत्वप्रतिको विश्वास जनतामा निकै बढेको कारणले पार्टीप्रति सर्वसाधारणहरुको आकर्षण बढेको उनले बताए । केही समय अगाडि मात्रै वीपी काँग्रेसका केन्द्रीय सदस्य झविन्द्र आचार्य पनि राप्रपा प्रवेश गरेका थिए । आचार्यकै पहलमा गिरीसहितको ४० भन्दा बढिको समूह एकसाथ राप्रपा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य महेन्द्रबहादुर कार्की, कुलबहादुर गुरुङ, गण्डकी प्रदेश सचिव बरुणविक्रम राणा, पुर्व केन्द्रीय सदस्य रोमबहादुर भण्डारी लगाएतले पार्टी प्रवेश गर्नेहरुलाई स्वागत तथा शुभकामना दिएका थिए ।

Comments are closed.