वीरगञ्जकाे झडपमा भारतीय नागरिक मारिए, दर्जनाैँ घाइते, ३ बजेबाट कर्फ्यू

Ministry of Home

१६ कात्तिक, काठमाडौं । वीरगञ्जमा सोमबार दिउँसो प्रहरीसँग भएको झडपमा मृत्यु भएका व्यक्ति भारतीय नागरिक भएको पुष्टि भएको छ ।

मृत्यु हुनेमा रक्सौल नयाँ रोडका २४ वर्षका आशिषकुमार राम छन् । झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर उनको मृत्यु भएको हो । उनी प्रहरीमाथि भएको ढुंगामुढामा संलग्न थिए ।

गृह मन्त्रालयले पनि मृतक भारतीय नागरिक भएको पुष्टि गरेको हो । गृह सचिव सूर्यप्रसाद सिलवालले अनलाइनखबरसँग भने-‘मृतक भारतीय नागरिक रहेछन् । उनी रक्सौलको भएको सूचना आएको छ ।’

वीरगञ्ज रक्सौल नाकाको मितेरी पुलमा धर्ना बसेकाहरुलाई प्रहरीले हटाएपछि वीरगञ्ज सोमबार विहानैबाट तनावग्रस्त भएको थियो । शकराचार्य गेट नजिक भएको झडपमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो ।

आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा परी ८ सुरक्षाकर्मीसहित दर्जन बढी प्रदर्शनकारी घाइते भएका छन्। प्रदर्शन उग्र भएपछि प्रशासनले दिउसो ३ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाएको छ । यस्तै प्रहरीले वीरगन्ज क्षेत्रकाे झडपमा प्रहार गरेकाे रबरकाे गाेली लागी एक दर्जन बढी प्रदर्शनकारी घाइते भएका छन् ।

भारतीय सवारी सीमा नकटुन्जेल आन्दोलनकारीलाई दशगजा क्षेत्रमा छिर्न नदिएको भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सवारी छिरेलगत्तै आन्दोलनकारीलाई दशगजामा छिर्न दिएका थिए । भारतीय प्रहरीको अहसयोगपछि मितेरी पुलमा फेरि आन्दोलनकारी जम्मा भएका हुन् ।

सुरक्षाकर्मीले बल प्रयोग गरेर नाका खुलाएको भन्दै वीरगञ्जमा मधेसी मोर्चा आवद्ध आन्दोलनकारीले ठाउँठाउँमा प्रदर्शन गरेका थिए । वीरगञ्जको नगमा र घण्टाघर क्षेत्रमा आन्दोलनकारीलाई तितरवितर पार्न प्रहरीले अश्रुग्याँस र हवाई फायर गर्नुपरेको थियो ।

Comments are closed.