व्यवसायीको साहित्य

अमृत सुवेदी/ पोखरा, ९ फागुन
पोखरालाई पोखरा बनाउन जसरी यहाँको प्रकृतिले कुनै कसर बाँकी राखेको छैन त्यसरी नै कला, साहित्य, संगित संस्कृतिले पनि पोखरालाई पोखरा बनाएको छ भनिन्छ । पोखरालाई धेरै उपनाम दिने गरिएको छ । साहित्यको नगरी, साहित्यको उर्वरभूमी, साहित्यको उद्गम स्थल लगायत पनि पोखरासँगै जोडिएर आउने उपनामहरु हुन् । यहाँवाट जन्मिएका कवि र यहाँ हुने साहित्यिक गतिविधिले त्यसको पुष्टी गर्छ । कवि शिरोमणी लेखनाथ पौड्याल, लोककवि अलिमिया, जनकवि केशरी धर्मराज थापा लगायतको सिर्जना कर्मले सिंचिएको पोखरामा अरु पनि साहित्यकारहरु जन्मिसकेका छन् र कतिले आफ्नो पहिचान बनाइसकेका छन् । कति यही साहित्यको राजमार्गमा छन् । तर, पोखराको साहित्य र साहित्यिक गतिविधि पोखरा मै विक्न र साहित्यमा नलागेका व्यक्तिहरुलाई तान्न नसकेको गुनासो पनि छ । साहित्यदेखि बाहिरका व्यक्तिहरुले साहित्यमा रुचि नराखेके कारण साहित्य नबिकेको होकी साहित्यले नै तान्न नसकेको हो भन्ने प्रश्न पनि अहिले गम्भीर रुपमा उठ्न थालेको छ । आज हामीले पोखराका केही व्यवसायीहरुले साहित्यलाई कसरी हेरेका छन् र साहित्यप्रतिको धारण के हो त ? भनेर प्रतिक्रिया लिएका छौं ।

साहित्यकारसँग संगत छ तर बुझ्न सकेको छैन

Ganesh Shrestha
– गणेश बहादुर श्रेष्ठ (लक्ष्मी ग्रुप)
म साहित्य जान्दिन । तर, साहित्यकारहरुको संगत छ । साहित्य बुझ्नलाई सजिलो छैन । त्यसैले मैले पनि बुझ्न सकेको छैन । म केवल रुचिपूर्ण तरिकाले सुन्छु । सानैदेखि व्यवसायमा लागियो । त्यसैले पनि यता ध्यान दिन सकिन । साथिहरु साहित्यमै लागिरहनुभएको छ । राम्रै गर्नुभएको होला । हामीले आर्थिक सहयोग गर्ने र व्यावसायिक बनाउने हो । गरिरहेका छौं । गरिरहन्छौं ।


साहित्य कम पढ्छु तर  सम्मान गर्छु

jhalak-thapa– झलक थापा (डाँडाघरे वाइन)

म साहित्य लेख्ने मान्छे त होइन तर अभिरुची राख्ने मान्छे हूँ । साहित्यसँग सम्वन्धित हुँदा र सुन्दा बडो आनन्द लाग्छ । साहित्यिक कार्यक्रममा सहभागी हुन्छु । उपहार आएका किताव बाहेक मैले साहित्यका किताव किनेर कमै पढेको छु । साहित्य भित्री आत्माले बोल्ने कुरा हो । साहित्यले नै समाजलाई सिंगारेका हुन् । त्यसमा पनि पोखरा सुन्दर छ । सुन्दर पोखरालाई अझ सिंगार्ने काम यहाँका साहित्यकारहरुले गरेका छन् । लेखनाथ पौड्यालदेखि लोककवि अलिमिया, जनकवि धर्मराज थापा हुँदै सरुभक्त, तीर्थ श्रेष्ठ र नयाँ पुस्तासम्म आइपुग्दा पोखरेली साहित्यमा धेरै कुरा भएका छन् । पोखरेली साहित्यको विकासमा मुटुभरी पोखरा राखिदिने हो भने पुग्छ । एकैपटक दौडिनुभन्दा पनि निरन्तरता ठूलो कुरा हो । यो साहित्यानुरागी त्यही चाहन्छु । हामी जस्तो व्यवसायीले प्रर्वद्धन गर्ने हो त्यो हामीले गरिरहेका छौं ।


साहित्य व्यवस्थित बनाउन जरुरी

gopi bhattarai– गोपि भट्टराई (अध्यक्ष–रेवान पोखरा)
साहित्य राष्ट्रको गौरव हो । यो समाजसँग जोडिएको छ । म भारतका विभिन्न ठाउँ घुमेको छु । यहाँका खेलकुद तथा सांस्कृतिक कार्यक्रम समेत साहित्यिक रुपमा गरिएको थियो । त्यसबाट म प्रभावित भएँ । साहित्यमा एकदम रुची । लेख्न र पढ्न भ्याउँदिन । तर, साहित्य सुनेर म एकदम आनन्दीत हुन्छु । पढ्न त आत्मकथा, केही उपन्यास र गजल कविता पनि पढेको छु । विद्यालयहरुमा हुने साहित्यिक गतिविधिमा म पनि सहभागी हुन्थें । पोखरालाई साहित्यको उर्वर भूमी भनिन्छ । तर, यसले पुगेको छैन । साहित्यलाई व्यवस्थित र व्यावसायिक बनाउनुपर्ने देखेको छु । पोखरामा जे भएका छन् राम्रा भएका छन् । तर, स्तरीय पोखरेली साहित्यलाई पुस्ता हस्तान्तरण गर्ने कुनै योजना मैले देखेको छैन । पोखरामा नयाँ जन्मने साहित्यलाई क्वालिटीको बनाउनका लागि विशेष योजनाको जरुरी देखेको छु । कार्यक्रम हुनुमात्रै ठूलो कुरा होइन कस्तो भयो भन्ने कुरा ठूलो हो । म साहित्यका विकासका लागि के गर्नुपर्छ त्यो गर्न तयार छु ।


साहित्य मेरो विधामा परेन

madhav paudel– माधव पौडेल (अध्यक्ष–पश्चिमाञ्चल अटो मोवाइल डिलर्स एशोसियसन)
साहित्य मेरो विधामा परेन । तर, यसले कति तान्न सक्यो भन्ने कुरा हो । सानैदेखि व्यवसायमा लागियो । तरपनि साहित्य म पढ्छु । कसैले पढ भनेर होइन । आफुखसी पढ्छु । विशेषत म आत्मकथा र जीवनहरु धेरै पढ्छु । विनोद चौधरी, हरिवंश आचार्य, कर्ण शाक्यका आत्मकथा पढेको छु । गजल कविता पढेको छैन । पोखरा साहित्यिक ठाउँ भएपनि म पोखराको साहित्यिक गतिविधिसँग अनविज्ञ छु । तर पनि सरुभक्त, तीर्थ श्रेष्ठ लगायतका व्यक्तिहरुको साहित्यकर्मका विषयमा धेरथोर जानकारी छ । साहित्यलाई व्यावसायिक बनाउन जरुरी छ । हामीलाई पनि साहित्यले झकझक्यायो भने साहित्य कर्म वा प्रर्वद्धनमा लाग्ने हो । त्यस्तो भएको छैन । तर पनि हामी व्यवसायीले गर्नुपर्ने प्रर्वद्धन गर्न तयार छौं ।


 

साहित्य हेर्न मनै लाग्दैन

Ain Kumar Sahi– ऐनकुमार साइ (अध्यक्ष–पृथ्वी राजमार्ग वस सञ्चालक समिति)
स्कुल पढ्दा साहित्य पढियो होला । अहिले कुनै सम्झना छैन । सानैदेखि फरक जीवन शैलीमा बाँचियो । खै किन हो कहिल्यै पनि साहित्यमा रुचि नै बढेन । कुनै पत्रपत्रिकामा साहित्य सम्वन्धि हेडलाइन देखें भने पनि हेर्न मन लाग्दैन । मलाई नेपाली साहित्यको विषयमा कुनै जानकारी छैन । पोखरामै जन्मेर पोखरेली साहित्यलाई बुझेको छैन । साहित्य सम्वन्धि मेरो रुचि नभएको हो अनि साहित्यले मलाई पनि नतानेकै हो । कहिलेकाँही साहित्यिक कार्यक्रम सम्वन्धि सहयोगका लागि आउनुहुन्छ त्यति हो । अरु मलाई थाहा छैन । अहिलेसम्म साहित्य सम्वन्धि कसैले सोधेको पनि थिएन । साहित्य सम्वन्धि छलफलमा कसैले सहभागी गराएको भएपनि जानकारी हुन्थ्यो होला । अव भने साहित्यलाई बुझ्ने प्रयास गर्छु र सक्दो सहयोग गर्छु ।


सहयोग माग्न आउनुहुन्छ सहयोग गर्छु

Bindu Kumar Thapa– विन्दुकुमार थापा (अध्यक्ष–पोखरा उद्योग वाणिज्य संघ)
साहित्यलाई मैले सम्मानजनक रुपबाट हेरेको छु । साहित्य हाम्रो समाजको गहना हो । मैले पनि कहिलेका“ही पढ्छु । तर, खास रुची छैन । यो मेरो कमजोरी हो । एक पटक जो पनि साहित्यकार बन्छ भने झैं हामीले पनि लेखियो होला जमाना कविता तर याद छैन । हामीले पढ्ने भन्दा पनि व्यावसायिक रुपमा प्रोत्साहन गर्ने हो । पोखरेली साहित्यले पोखरामा पारेको प्रभावले म एकदमै खुसी छु । सहयोग माग्न आउनुहुन्छ सहयोग गर्छु । कार्यक्रममा बोलाए कार्यक्रममा पनि सहभागी हुन सकुँला । साहित्य कर्मका लागि गहिरो अध्ययन चाहिन्छ भन्ने मलाई लागेको छ । यो क्षेत्रमा जतिपनि लाग्नुभएको छ उहाँहरुलाई सम्मान गर्दै प्रगतिको शुभकामना र यहीँबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउन चाहन्छु ।


समय–समयमा राष्ट्रिय कार्यक्रम गरौं

Bharat Parajuli– भरत पराजुली (अध्यक्ष–पश्चिमाञ्चल होटल संघ)
कुनै पनि ठाउँको अस्तित्व कला साहित्यसँग जोडिएको हुन्छ । पर्यटनमा पनि कला, साहित्यले ठूलो भूमिका खेल्न सक्छ । मलाई पनि लेख्न मन लाग्छ । कोशिस पनि गर्छु । हामी पर्यटनसँगै साहित्यसँग हातेमालो गर्न तयार छौं । पोखरा प्रकृतिको बरदान हो । त्यसपछि यहाँको कला साहित्य । लोककवि अलिमिया थापा, जनकवि धर्मराज थापा यहीँ जन्मेका हुन् । कवि शिरोमणी लेखनाथ पौड्यालद्वारा सिर्जित ठाउँ हो पोखरा । हामीले यि पुराना साहित्यकारहरुको नामले मात्रै चिन्ने अवस्था आयो भने त्यो दुःखदायी हुनेछ । हुन त साहित्यकर्ममा पुराना तथा नयाँ पुस्ता लागिरहनुभएको छ । त्यसको मुल्याङ्कन भोली होला । तर, साहित्य अझै बिक्न सक्ने भैसकेको छैन वा भनौं हामी जस्ता व्यवसायीलाई यसमा आकर्षित गराउन अझै सकेको छैन । समयसमयमा राष्ट्रिय कार्यक्रमहरु गर्नें, अन्तक्र्रिया तथा छलफल गर्ने र राम्रालाई पुरस्कृत गर्ने गरे पोखरेली साहित्य अझ माथि जाने थियो ।


पत्रपत्रिकामा हेरेर जानकारी लिन्छु

sundar– सुन्दर कुमार श्रेष्ठ
प्रमुख, होटल दि कान्तिपुर प्रा.लि.
साहित्य स्कूले जीवनमा पढेकै हो । व्यवसायमा लागेपछि कुनैपनि साहित्यिक गतिविधिमा सहभागी छैन । रुचि भएर पनि समय दिन सकिएन । तरपनि समय मिलाएर बेलाबेलामा साहित्य पढ्छु । पछिल्लो पटक किशोर नेपालको किताव पढेको याद छ । पत्रपत्रिका साहित्यिक रचना आउँदा पढ्छु । पोखरामा भएका कार्यक्रमहरु पत्रपत्रिकामा हेरेर जानकारी लिन्छु । पत्रपत्रिकामा आएका समाचारको आधारमा पोखरेली साहित्यले राम्रो गरेको छ भन्ने लागेको छ । पोखरालाई साहित्यको नगरीका रुपमा विकास गर्नुपर्छ । त्यसमा हामी पनि सहभागी हुन्छौं । पोखरामा साहित्य व्यवसायिक हुन सकेजस्तो मलाई लाग्दैन । यहाँ हुने हरेक गतिविधिमा साहित्यलाई पनि समावेश गर्न सके र यसको प्रर्वद्धन गर्न सके राम्रो हुने थियो । अर्को कुरा अहिलेका मान्छेले धेरै मनोरञ्जनात्मक रुपमा विताउने भएका छन् । तर, साहित्य मनोरञ्जनको गतिलो माध्यम बनेको छैन । पोखराको साहित्य अझै जन मानसमा घुस्ने र तान्न सक्ने नभै नसकेको होकी जस्तो लाग्छ ।


 

Comments are closed.