डा. दिपकप्रसाद कोइराला बालरोग बिशेषज्ञ
मणिपाल शिक्षण अस्पताल र फिस्टेल अस्पताल, पोखरा
अहिले जाडोको मौसम छ । चिसोमा बिशेषगरी भर्खरै जन्मिएका शिशु वा साना बालबच्चाहरु बढी प्रभावित हुन्छन् । हुर्कँदै गरेका बालबालिकाहरुका लागि जाडोको मौसम कष्टकर नै हुन्छ । अभिभावकको राम्रो हेरचाह र स्याहार पाउन सके भने बच्चाहरुले यो मौसममा खासै दुःख नपाइ आफुलाई सुरक्षित महसुस गर्न सक्छन् । आजको अंकमा हामीले जाडो मौसममा बच्चाहरुमा देखिने समस्या र बच्ने उपायका बारेमा मणिपाल शिक्षण अस्पताल र फिस्टेल अस्पताल, पोखराका बालरोग बिशेषज्ञ डा. दिपकप्रसाद कोईरालासँग गरिएको कुराकानीको संक्षेप प्रस्तुत गरेका छौं ।
१. चिसोको समयमा बालबालिकामा देखिने मुख्य स्वास्थ्य समस्याहरु के के हुन् ?
अहिले चिसोको मौसम छ । यो मौसममा बालबालिकाहरुको स्वास्थ्यमा अभिभावकहरुले बिशेष ख्याल राख्नुपर्ने हुन्छ । चिसोमा मुख्यतयाः श्वासप्रस्वास सम्बन्धि समस्याले बालबालिकाहरुलाई सताउने गर्दछ । रुघाखोकी, घाँटीको संक्रमण, निमोनिया, कानको संक्रमण लगायतका समस्याहरु नै बालबालिकामा देखिने मुख्य समस्याहरु हुन् । यसैगरी, दम बढ्ने, चिसो मौसममा लाग्ने झाडापखाला लगायतका समस्याहरु पनि बालबालिकामा देखिने गर्दछन् ।
२. भर्खरै जन्मिएका नवजात शिशुहरुमा चाहिँ कस्ता समस्या देखिन सक्छन् ?
शिशुहरुमा सबैभन्दा बढी देखिने स्वास्थ्य समस्या भनेको निमोनिया हो । यसैगरी, मौसमको कारणले शरिरको तापक्रम कम हुने (हाईपोथर्मिया) समस्या पनि शिशुहरुमा बढी देखिन्छ । यस्तो अवस्थामा आमाले पनि थाहै नपाईकन बच्चाको मृत्यु हुनसक्ने हुन्छ । यस्ता धेरै उदाहरणहरु छन् । त्यसैले, शिशुलाई चिसोबाट बचाउन बिशेष ख्याल राख्नुपर्ने हुन्छ ।
३. शिशुहरु बिरामी भएको कसरी थाहा पाउने ? के के लक्षण देखापर्छन् ?
शिशुहरु बोल्न नसक्ने भएकाले उनीहरुलाई के भएको छ भनेर थाहा पाउन गाह्रो हुन्छ । सामान्यतयाः हामीले उनीहरुको क्रियाकलाप अवलोकन गरेर के भएको छ भनेर थाहा पाउनुपर्छ । रुघाखोकी लाग्ने, ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने, घ्यारघ्यार गर्ने, कोखा हान्ने, रोगले च्याप्दै गएमा बच्चा निलो भएर आउने लगायतका लक्षणहरु शिशुमा देखिन्छन् । माथिका लक्षणहरुसहित धेरै रुने वा धेरै लठ्ठीने हुने नवजात शिशु काम्ने वा बेहोस हुने लगायतका लक्षण पनि देखा पर्दछन् । यस्तो अवस्थामा उनीहरुले आमाको दूध राम्रोसँग चुस्न सक्दैनन् ।
४. नवजात शिशुहरुको कानमा तेल हाल्दा राम्रो हुन्छ भन्ने चलन छ नी । यो कत्तिको उपयुक्त हो ?
धेरै पहिले देखि नै हाम्रो समाजमा भर्खरै जन्मिएका देखि लिएर ठूलै बच्चाहरुलाई पनि कान लगायतका अंगमा तेल हालिदिने चलन छ । यो राम्रो होईन र जरुरी पनि छैन । शरिरका कुनै पनि प्वाल वा नाभीमा तेल लगायत कुनैपनि पदार्थ (औषधी बाहेक) हाल्नु हुँदैन । यसले संक्रमण बढाउने अत्यधिक सम्भावना रहन्छ । तेल हाल्दैमा बच्चाहरुको स्वास्थ्य राम्रो हुन्छ भन्ने धारणा गलत हो ।
५. शिशुहरुलाई धेरै लाग्ने जण्डिसलगायतका रोगमा आमाले खाना बार्न जरुरी हुन्छ की हुँदैन ?
वास्तवमा आमाले खाएकै खानेकुराबाट बच्चाले पनि पौष्टिक तत्व पाउने हुन् । कुनैपनि रोगबाट बच्चा ग्रसित भएपनि आमाले खाना बार्न जरुरी छैन । शिशुलाई जण्डिस भएपनि आमाले सामान्य सुत्केरीले खान हुने खाना मज्जाले खान हुन्छ । जण्डिस लगायतका अन्य रोगहरुको सन्दर्भमा पनि आमाले खाएको खानाबाट बच्चालाई खासै असर हुँदैन । सुत्केरी आमालाई रुचेसम्मको खाना खाएमा बच्चालाई असर गर्दैन ।
६. बच्चालाई जुकाको औषधी ख्वाएपछि, मासु खान दिनु हुँदैन भन्ने चलन पनि छ नी ?
यसमा कुनै पनि वैज्ञानिक आधार छैन । माछामासुमा प्रशस्त प्रोटिन लगायत पौष्टिक तत्वहरु पाईने हुनाले बच्चालाई नियमित रुपमा खान दिनुपर्छ । माछामासुले जुकाको औषधि खाएको बच्चालाई केही हुँदैन । जुकाको औषधि खानु अघि÷पछि जहिलेपनि माछामासु खान मिल्छ ।
७. बच्चालाई लगाउने खोपको बारेमा जानकारी पनि लिऔं न । खोप तालिका अनुसार नै लगाउनु पर्छ या ढिलोचाँडो भएपनि केही असर हुँदैन ?
कुन खोप हो खोपमा भर पर्छ यो चाहिँ । सबैभन्दा पहिले बच्चालाई लगाईने खोप बिसिजी जन्मदेखि ४५ दिनसम्म जहिले लगाएपनि हुन्छ । केही समय ढिलो भयो भनेपनि आत्तिहाल्नु पर्दैन । पछि पनि लगाउन मिल्छ । अन्य खोपहरुको हकमा खोपतालिकामा उल्लेख भए अनुसारको मिति भन्दा अगाडी लगाउनु हुँदैन । पछि जहिले लगाएपनि हुन्छ ।
६ हप्ताभित्र पोलियो थोपा, (डिपिटी, हिव, हेपाटाइटिस बि)–१, पिसिभी–१ खोप लगाउनुपर्छ ।
१० हप्ताभित्र पोलियो थोपा, (डिपिटी, हिव, हेपाटाइटिस बि)–२, पिसिभी–२ खोप लगाउनुपर्छ ।
१४ हप्ताभित्र पोलियो थोपा, (डिपिटी, हिव, हेपाटाइटिस बि)–३, पोलियो ईन्जेक्सन लगाउनुपर्छ ।
९ महिनाभित्र एम आर–१, पिसिभी–३ खोप लगाउनुपर्छ ।
१२ महिनाभित्र एम आर–२ खोप लगाउनुपर्छ ।
(यी मध्ये पिसिभी खोप नेपालमा आइतबारबाट मात्रै शुरु गरिएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा भएको कार्यक्रममा स्वास्थ्यमन्त्री खगराज अधिकारीले यो खोपको शुभारम्भ गरेका हुन् । निमोनिया रोग विरुद्ध बच्चालाई यो खोप लगाईन्छ ।)
यी सबै खोपहरु माथी उल्लेख गरिएको समय कटेमा पनि लगाउन सकिन्छ । खोप समय न्यूनतम तोकिएको उमेर हो । समय धेरै नै ढिलो भएको छ भने चिकित्सकको सल्लाह लिनु उत्तम हुन्छ ।
८. बाल्यावस्थामा देखिने स्वास्थ्य समस्याबाट बच्चालाई कसरी बचाउने ?
सबैभन्दा पहिले त बच्चालाई न्यानो पारेर राख्नुपर्छ । न्यानो पार्ने नाममा आगो बालेर धूवाँ हुने किसिमले सेकाउने काम गर्नुहुँदैन । कोठा तताउनका लागि सबैभन्दा उत्तम उपाय भनेको बिजुलीको हिटर नै हो । त्यसपछि न्यानो कपडा लगाएर बच्चालाई तातो राख्न सकिन्छ । बच्चालाई नांगो बनाएर अगेनामा राखेर जाडो मौसममा तेल लगाउन जरुरी छैन । घाम लागेको समयमा दिनमा एकपटक मालिस गर्नु काफी नै हुन्छ । यसको साथै बच्चालाई चुरोट पिउने मान्छेबाट बचाउनुपर्छ । घरमा चुरोट पिउने कोही छन् भने सकेसम्म छोड्नका लागि प्रेरित गर्नुपर्यो । आमा र बच्चा दुवैको सरसफाईमा बिशेष ध्यान दिनुपर्छ । बच्चा राख्ने कोठामा घाम पर्नु र हावा खेल्नु पनि जरुरी हुन्छ । साथै कुनैपनि रोग लागेको शंका लागेमा चिकित्सकको सल्लाह लिन कन्जुस्र्यां गर्नुहुँदैन ।
९. हुर्कँदो बच्चालाई स्वास्थ्य राख्नका लागि के के कुरामा ध्यान दिनुपर्छ ?
सबैभन्दा ठूलो कुरा स्वस्थ पोषणयुक्त खानेकुरा नै हो । बच्चाहरुलाई धेरै जंक फुडहरु (चाउचाउ, कुरकुरे, चिप्स, चक्लेट लगायत) दिनु हुँदैन । यस्ता खानेकुराले बच्चाको न पेट भरिन्छ न स्वास्थ्यलाई नै फाईदा गर्छ नै । सकेसम्म घरमै बनाएको खाना तथा खाजामा जोड दिनुपर्छ । माछामासु, दूध, फलफूल, सागसब्जी प्रशस्त मात्रामा दिनुपर्छ । यसैगरी, अनावश्यक एन्टिबायटिक औषधिहरु प्रयोग गर्नु हुँदैन । यसले दीर्घकालिन समस्या पनि निम्त्याउन सक्छ । अन्य औषधिहरु पनि जथाभावी प्रयोग गर्नुहुँदैन । बिषादी तथा ठूलो मान्छेले प्रयोग गर्ने औषधिहरु बच्चाले नदेख्ने तथा नभेट्ने ठाउँमा राख्नुपर्छ । यसका लागि बच्चालाई स्वस्थ सामाजीक वातावरण सबैभन्दा महत्वपूर्ण हुने भएकाले यहि अनुसारको शिक्षा दिनुपर्छ । केही स्वास्थ्य समस्या आईहालेमा चिकित्सकको सल्लाह लिनुपर्छ ।
प्रस्तुतिः नवराज ढुङ्काना
Comments are closed.