शैक्षिक विकृति अन्त्यको माग

पोखरा, २३ चैत /निजी तथा संस्थागत विद्यालय शिक्षक÷कर्मचारी युनियन (प्याब्सीयू) कास्कीलेसंस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको तलब वृद्धि तथा शैक्षिक विकृतिको अन्त्यको माग गरेको छ ।
कतिपय विद्यालयले आर्थिक वर्ष २०७०÷०७१ मा सरकारले वृद्धि गरेको तलब सुविधा अझसम्म पनि नदिई मनोमानी गरेकोमा खेद व्यक्त गर्दै आर्थिक वर्ष २०७१÷०७२ मा सरकारले बढाएको तलब सुविधा बढाउन तथा शिक्षा ऐन र नियमावली अनुसार सरकारी विद्यालयका शिक्षक सरह तलब भत्ता तथा सुविधा उपलब्ध गराउन समेत माग गरेको छ ।
यसैगरी, विभिन्न समयमा शिक्षा कार्यालय, प्याब्सन, एन–प्याब्सन तथा सरोकारवालासँग भएका सम्झौताहरु पूर्णरुपमा पालना गरी कार्यान्वयन गर्न पनि माग गरेको छ । साथै कतिपय विद्यालयले शिक्षक कर्मचारीलाई गैरन्यायिक कारवाही गर्ने, निष्कासितसम्म गर्ने, गलत तरिकाले शुल्क असुल्ने मनसायले अभिभावकहरुलाई पत्राचार गर्ने जस्ता गैर शैक्षिक कार्य गरेकोमा पनि आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्याब्सीयू कास्कीका अध्यक्ष आर.सी.शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा सबैखाले शैक्षिक विकृतिको अन्त्य र स्वच्छ शैक्षिक वातावरण निर्माणका लागि सरोकारवालाहरुसँग आह्वान समेत गरेको छ ।

Comments are closed.