संघ र उद्योग वाणिज्य संघबीच पुलको काम (किसन सुनार)– महासचिव पदका उम्मेदवार


निर्वाचनको लागि घरदैलोमा हुनुहुन्छ । के कस्तो अवस्था बुझिरहनुभएको छ ?
उत्तर ः धेरै मतदाताको धेरै अपेक्षाहरु छन् । पछिल्लो दुई वर्ष व्यवसायी र उद्योग वाणिज्य संघको बीचमा दुरी बढेको पाईयो । घरदैलोका क्रममा उठेका समस्या भनेका घरभाडाका समस्या, ट्राफिकका समस्या हुन् । त्यस्तै पछिल्लो समयमा अहिले करको बारेमा पनि धेरै कुराहरु उठेका छन् । सामान्य व्यवसायी देखि ठुला व्यापारीसम्मकमा फरक फरक प्रकृतिका फरक फरक समस्या छन् । ती फरक फरक समस्यालाई पहिचान गरेर उद्योग वाणिज्य संघले गर्न सक्ने यहिँ समाधान गर्ने र कतिपय नीतिगत कुराहरु छन्, जुन स्थानीय, प्रदेश तथा संघीय सरकारसँग समन्वय गर्नुपर्ने हुन्छ । समग्रमा भन्नुपर्दा मतदाताहरुले हामीलाई जोश भर्नुभएको छ, उहाँहरुका कारणले अझै बढी जिम्मेवारी बोध भएको छ ।

के छ त मतदाताको प्रतिक्रिया ? 
उत्तर ः युवा व्यवसायीको टीम आएको छ । तपाईंहरुमा नयाँ जोश र जाँगर देखिन्छ । अब हाम्रो टीमले केही गर्छ की भन्ने आशा गरेको पायौं ।
यहाँले शुरुमै उल्लेख गर्नुभो की, उद्योग वाणिज्य संघ र व्यवसायीबीच दुरी बढ्यो । कुन कुरामा रहेछ खासमा दुरी बढेको ? उत्तर ः पोखरा उद्योग वाणिज्य संघ सामाजिक रुपमा पोखराको जेठो सँस्था भयो । हिजो यसले सामाजिक उत्तरदायित्वलाई जसरी बहन गरेर समाजमा एउटा सकारात्मक परिवर्तनमा जुन भुमिका खेल्यो । स्थानीय सरकार नबने बेलासम्म सरकारकै जस्तै काम गरेको हो । अब स्थानीय सरकार आईसकेको अवस्थामा अब उद्योग वाणिज्य संघका गतिबिधिहरु फरक शैलीबाट व्यवसायीका गुनासाहरुलाई पनि सम्बोधन गर्न बढी समय दिनुपर्ने देखियो । अबको पाली भनेर विकासका लागि सरकारलाई खबरदारी, सहकार्य र व्यवसायीसँगै रहनुपर्ने अवस्था आयो ।
अग्रजहरुले त पोखरा उद्योग वाणिज्य संघको आकर्षण घट्यो भन्ने गुनासो गरेका छन् नी ?
उत्तर ः पहिलो कुरा त एउटा संस्थालाई आकर्षक बनाउने कुनै व्यक्ति विषेशले होईन । त्यसमा सबै पदाधिकारीको जिम्मेवारी रहन्छ । संस्था भनेको आँफैमा एउटा गरिमामय ठाउँ हो, त्यसलाई कस्तो बनाउने भन्ने पदाधिकारीको जिम्मेवारी हो । मैले जोड्न खोजेको एउटा कुरा हो भने, हिजो पोखरा उद्योग वाणिज्य संघले सरकारले गर्नुपर्ने कामहरु पनि गथ्र्यो । जस्तो की पृथ्वीनारायण क्याम्पस, बालमन्दिरको स्थापना, पोखरा विश्वविद्यालयमा खेलेको भुमिका तथा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा खेलेको भुमिकाका लागि यसको चार्मिङ थियो ।
तर अहिले परिस्थिति फरक छ । अहिले पोखरा उद्योग वाणिज्य संघले पहिले गरेका भन्दा पनि अहिले व्यवसायीकै हितमा अल्लि बढी जोड दिनुपर्छ की जस्तो लाग्छ । अहिले तीन तहको सरकार छ । सरकार आँफैमा प्रयोगको अवस्थामा छ । थुप्रै नीति तथा नियमहरु बन्ने क्रममा छन् । ती कुराहरु बुझ्नु जरुरी छ । त्यो बुझेपछि व्यवसायीलाइ बुझाउनुपर्ने र कार्यान्वयन गर्नुपर्ने छन् । कानूनहरु त आउलान् । तर ती कानूनहरु व्यवसायी मैत्री छन् की छ्र्रैनन भनेर बुझ्नु आवश्यक छ । अबको पाटोमा सकारसँग हातेमालो गर्ने र खबरदारी गर्ने हो । व्यवसायीलाई कसरी स्थापित गराउने भन्ने ।

 करको दर भन्दा दाउरा बढाउने भनेर व्यवसायीहरु भनेको भन्यै गर्छन् । तर त्यो दायरा कतिसम्म फराकिलो पार्ने भन्ने सन्दर्भमा मौन बसेको देखियो । वा सिधा साधी कर छलेका कम्पनीहरुबारे त मौन जस्तो देखियो नी ?
उत्तर ः सरकारले तीन खम्बे अर्थनीति अन्तरगत जाने त भन्यो, सम्बृद्ध नेपाली सुखी नेपाली त भन्यो । तर यि सबैकुराहरु कागजमा मात्रै सिमित भए । सरकार व्यवसायीसँग संगै रहेर भोलीको दिनमा व्यवसायीमैत्री वातावरण बनाउनको निम्ति सरकारको पनि पहल आवश्यक छ । राज्यले कर पाए न सम्बृद्ध हुने न हो । अहिलेको तथ्याँक हेर्दा पोखरा महानगरपालिकामा २० हजार मात्रै दर्ता छन् । तर हाम्रो अनुमान के हो भने पोखरामा मात्रै ४० हजार भन्दा बढी व्यवसायी छन् । ती सबैलाई करको दायरामा ल्याउने हो नी । राज्यलाई घाटा बनाएर व्यवसायीले मात्रै कमाउनुपर्छ भन्ने होईन । मात्रै सरकारलाई के आव्हान गर्न चाहन्छौं भने व्यवसायीमैत्री वातावरण बनाउनुस ।

पोखराकै सन्दर्भमा भन्दा घरभाडाको समस्या एकदमै जल्दोबल्दो रुपमा आएको छ । यस्तो समस्यालाई समाधान गर्ने तपाईंहरुसँग के छ कार्यक्रम ?
उत्तर ः यो विषय उद्योग वाणिज्य संघले मात्रै पोलिसि बनाएर यसो गर्नुस भनेर हुँदैछ । अहिले सरकारले यसबारेमा कानून बनाउँदै छ । यो कानुन कार्यान्वयनमा आएपछि सबै समस्या समाधान हुने कुरा हो । यसलाई नीतिगत रुपमा टुँग्याउनुपर्छ भन्ने हो । यस्तो नीति भएमा तीन पक्षलाईनै फाईदा हुने हो । घरबेटी, व्यवसायी अनि सरकार ।

फेरी निर्वाचनको सन्दर्भमै कुरा गरौं । अहिलेको निर्वाचन राजनीतिक शक्ति हावी भयो भन्ने कुरा आयो नी ?
उत्तर ः निर्वाचन आउँने बेला विभिन्न खालेर हल्लाखल्ला हुने गर्छन । राजनीतिमा आस्था राख्ने हिजो पनि थिए । आज पनि छन् र भोली पनि हुनेछन् । राजनीतिक दलको स्वभाविक धर्म के हो भने, जुनसुकै क्षेत्रमा पनि आफ्ना विचारधाराका मानिस आउन । तर पोखरा उद्योग वाणिज्य संघमा आईसकेपछि हाम्रो एउटै पार्टी हो–त्यो हो सँस्था पोखरा उद्योग वाणिज्य संघ । चुनावलाई चुनावकै रुपमा बुझ्नुपर्छ ।

अन्त्यमा भन्नुपर्ने केही छ ?
उत्तर ः पोखरा उद्योग वाणिज्य संघलाई प्रबिधियुक्त बनाउने, व्यवसायी र संघको बीचमा पुलको काम गर्ने योजना छ । हिजो जसरी पोखरा उद्योग वाणिज्य संघले सामाजिक उत्तरदायित्वमा हात हाल्यो त्यसलाई निरन्तरता दिने । अन्य कामका क्षेत्रहरु पत्ता लगाएर नयाँ कामहरु पनि गर्दै जाने हो । मुलत ः पोखरा उद्योग वाणिज्य संघलाई प्रबिधिमैत्री बनाउने र युवा व्यवसायीलाई प्रेरणा दिने हो ।

Comments are closed.