आजको बैठकमा प्रस्ताव समिति गठन हुने
- फाइल फोटो
९ माघ, । नेपाली कांग्रेस र एमालेसहितका सत्तारुढ १० दलले प्रश्नावलीका लागि प्रस्ताव समिति बनाउने प्रक्रिया अघि नबढेसम्म माओवादी र मधेसी मोर्चासँग वार्ता हुन नसक्ने प्रष्ट पारेका छन् ।
संविधानसभा अध्यक्ष सुवास नेम्वाङले शुक्रबार भएको छलफलमा विपक्षीबाट वार्ताको प्रस्ताव आएको सुनाएका थिए । तर, प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीले अरुवद्ध प्रक्रिया अघि नबढेसम्म वार्ता हुन नसक्ने नेम्वाङलाई जवाफ दिएको स्रोतले जनाएको छ ।
बैठकमा नेताहरुले सत्तारुढ १० दल र दुई स्वतन्त्र सभासद गरी ४२१ सभासदको तर्फबाट भन्दै प्रक्रिया अघि बढाउन सभाध्यक्ष नेम्वाङलाई आग्रह गरेका छन् ।
संविधानका विवादित विषयमा प्रश्नावली बनाउन प्रस्ताव समिति बनाउने प्रस्ताव पेश रोक्न विपक्षीले नाराबाजी गर्दै आएका छन् ।
सभाध्यक्षसँगको भेटमा कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा र एमाले नेता माधवकुमार नेपालले पनि अब सत्तारुढ दलका सभासदहरुलाई रोक्न नसक्ने बताए । ‘अब हामी हाम्रा सभासदलाई रोक्न सक्दैनौं भनेर नेताहरुले प्रष्ट भन्नु भएको छ’ एक नेताले भने ।
संविधानसभा भवन नयाँ बानेश्वरमा शुक्रवार बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै स्वतन्त्र सभासद अत्तर कमाल मुसलमानले संविधानसभामा रहेको कार्यसूची टुंगो लागेपछि मात्र सहमतिका लागि वार्ता गर्न सकिने निष्कर्ष निकालेको बताए ।
‘हिजो संविधान जारी गर्न नदिएकोमा संविधान विरोधीहरुले संविधानसभाबाट खुसियाली मनाउदै हिडे, संविधान पक्षधरहरु निराश भएका छन्’ मुसलमानले भने-‘अब संविधानसभाले प्रश्नवाली समिति गठनको प्रस्ताव टुंगो नलगाएसम्म वार्ता हुदैन ।’
सभाध्यक्षले के गर्लान् ?
सत्तारुढ नेताहरुसँगको भेटमा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले प्रश्नावली बनाउन प्रस्ताव समिति गठनको प्रक्रिया सुरु भइसकेको र बिहीबारको बैठक नै आफूले अब अघि बढ्ने संकेत दिएको नेताहरुलाई बताएका छन् ।
स्रोतका अनुसार उनले विपक्षीका नाराबाजीका वीचमा रोष्टममा नगई तल बसेकै ठाउँमा उभिएर प्रस्ताव पेश हुन नसक्ने बताएका छन् । उनले आफूले समेत समिति गठनको घोषणा नगर्ने सकेत दिएका छन् । तर, उनले नाराबाजीका बीच प्रस्ताव पेश गर्न कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठलाई समय दिन सक्ने अनुमान सत्तारुढ दलको छ ।
Comments are closed.