संविधान तयारी अवस्थामा छः गृहमन्त्री गौतम

पोखरा, बैशाख ६ गते
उप–प्रधान एवं गृहमन्त्री वामदेव गौतमले जस्तो सुकै मूल्य चुकाएर भएपनि दोस्रो संविधान सभाबाट संविधान जारी गरी छाड्ने बताएका छन् । नेकपा एमाले निकटको नेपाल मुस्लिम इत्तेहाद संगठन गण्डकी समन्वय समितिको कार्यकर्ता भेलालाई पोखरामा सम्बोधन गर्दै उनले जस्तो सुकै बलिदान दिएर भएपनि लोकतान्त्रिक संविधान निर्माण गर्ने अवसर खेर फाल्न नदिने बताए ।
‘यो संविधान सभालाई असफल हुन दिदैनौं’ उनले भने, ‘संविधान लेखर ठिक्क छ, संघीयताका कुरा मिल्ने बित्तिकै जारी हुन्छ ।’ गौतमले सहमति खोज्नका लागि नै संविधान सभाको बैठक स्थगित गरिएको उल्लेख गरे ।
नेकपा एमालेका उपाध्यक्ष समेत रहेका गौतमले संविधान सभाको बैठक पनि स्थगित हुने र सहमति पनि नहुने हो भने संविधान बनाउन नचाहने शक्ति हावी हुने खतरा भएको बताउँदै जनताको अधिकार सुनिश्चित भएको संविधान निर्माणमा नेकपा एमालेसहित सत्तारुढ दल गम्भीर रहेको बताए ।

गौतमले तराईमा नवलपरासीदेखि बर्दियासम्म र पर्सादेखि सप्तरीसम्म गरी दुई प्रदेश र तराई पहाड मिलेको चार र एउटा तराईले नछोएको प्रदेश गरी सात प्रदेशलाई अगाडि सारेको जानकारी दिए । ‘तराई मात्र एक प्रदेश बनाउन सकिँदैन,’ उनले भने, ‘साझा पहिचान भएको हिमालदेखि तराई समेटेर संघीयता निर्माण गर्नुपर्दछ ।’ नेपालको संघीयता अरु कुनै देशको नक्कल नभई आफ्नै मौलिक हुने बताउँदै उनले जातीयताको आधारमा कुनै पनि हालतमा संघीतया बनाउन नसकिने स्पष्ट पारे ।
निर्वाचनका प्रतिष्पर्धी दल नेपाली काँग्रेस र नेकपा एमाले संविधान निर्माणकै लागि एक ठाउँमा उभिएको बताउँदै उनले सहमति नभए दुई तिहाईबाट भएपनि संविधान जारी हुने बताए ।
‘हामीलाई संविधान सभामा चार सय ५० जनाको समर्थन छ,’ उनले भने, ‘अधिकतम प्रयास गर्दा पनि सहमति नभए, प्रक्रियाबाट नै संविधान जारी गछौं ।’ उनले दोस्रो संविधानसभाबाट पनि संविधान बन्न नसके नेपाली काँग्रेस र एमालेले केही गर्न नसक्ने ठाउँमा पुग्ने बताउँदै संविधान सभालाई असफल हुन नदिने बताए ।

लामो समय राजनीतिक समस्यालाई बल्झाई राख्न नहुने भन्दै गौतमले अब सबै पार्टीहरुले उत्पादन र निर्माणलाई जोड दिनुपर्ने बताए । ‘संक्रमणकालिन अवस्था लम्बिँदा देशको विकासमा प्रभाव परेको र नेपाली समाज पुँजीवादी जनवादी व्यवस्थामा प्रवेश गरेकोले अब उत्पादन र निर्माणमा जोड दिुपर्ने उनको भनाई छ ।
जातका आधारमा कसैलाई पनि विभेद गर्न नपाईने भन्दै गौतमले छुवाछुत गर्नु सामाजिक अपराध भएको बताए । उनले नेपालका रहेका हरेक जातजातीको अधिकारलाई संविधानमा सुनिश्चित गरेर न्याय र समानता मुलक समाज निर्माण गर्ने बताए । नेपाल मुस्लिम इत्तेहाद अञ्चल भेला आयोजक समितिका संयोजक कलिला खानको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

Comments are closed.