पोखरा, ३१ जेठ । सञ्चय वहुउद्देश्यीय सहकारी संस्थाले पोखरा–८ नागढुङ्गामा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । सञ्चालनमा आएको पसलको आइतबार कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष भीम गुरुङले उद्घाटन गरे । सञ्चय सहकारीले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएर अन्य सहकारीलाई पनि व्यावसायिक क्षेत्रमा लगानी गर्न प्रेरणा मिल्ने गुरुङको भनाइ छ । सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले सहकारीले वित्तीय कारोबारसँगै व्यावसायिक क्षेत्रमा पनि लगानी बढाउन आवश्यक रहेको भनाइ राखे ।
करिब २५ लाख रूपैयाँको लागतमा सस्तो पसल सञ्चालनमा ल्याएको सञ्चय सहकारीका अध्यक्ष नारायण कार्कीले जानकारी दिए । ‘सहकारीहरु पैसा बचत र ऋण लगानीमा मात्र सीमित भएर हुँदैन भन्ने मान्यताले व्यावसायिक क्षेत्रमा लगानी गरेका हौं,’ उनले भने, ‘पसलबाट सस्तो मूल्यमा ग्राहकलाई दैनिक उपभोग्य बस्तु उपलब्ध गराउँछौं ।’
सहकारीले पसलको व्यवस्थापन हेर्नका लागि कोषाध्यक्ष यज्ञराज शर्माको संयोजकत्वमा ३ सदस्यीय उपसमिति गठन गरेको प्रवन्ध निर्देशक जगन श्रेष्ठले जानकारी दिए । सहकारीले यस अगाडि माथिल्लो हुग्दी लघु जलविद्युत आयोजनामा १० लाख रूपैयाँ लगानी गरिसकेको छ । सहकारीले पोखराको पृथ्वीचोकमा भवन बनाउने उद्देश्यले जग्गा खरीद गरिसकेको श्रेष्ठले जानकारी दिए । आगामी आर्थिक वर्षदेखि सहकारीले कास्कीको लेखनाथमा सेवा केन्द्र स्थापना गर्ने तयारीसमेत गरेको छ । ६ करोड ३० लाख रूपैयाँ शेयर पुँजी रहेको सहकारीमा १ हजार १ सय भन्दा बढी शेयर सदस्य छन् ।
Comments are closed.