सञ्चो नभएकाहरुले जातीय कुरा उचाले–ओली

‘जनताको सुझाव कदर गर्दै संविधान जारी हुन्छ’


kpपोखरा, ७ साउन/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा केही सन्चो नभएकाहरुले जातीयताको कुरा उठाएर संविधान निर्माणलाई भाँड्न खाजेको बताएका छन् । नेकपा एमाले कास्कीको प्रथम जिल्ला प्रतिनिधि परिषद् बैठकको विहीबार पोखरामा उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले जातीयताले राष्ट्रिय एकतामा अप्ठयारो पार्ने बताउँदै नेपाली जनता त्यसबारेमा सचेत रहेको बताएका छन् । ‘यहाँ कसैकसैले जातीय मुद्धा उठाएर देशलाई रुवान्डा बनाउन खोज्दैछन्’ अध्यक्ष ओलीले भने ‘आफुआफुँमा लडाएर १० लाख मान्छे मारे जस्तो नेपालमा हुन दिन्नौं । बरु हामीले त्यसबाट पाठ सिकेका छौं ।’ केही सञ्चो नभएका मान्छेहरुले जातीय कुरा उचालिरहेको भन्दै अब जनता सचेत हुनुपर्ने उनको भनाई थियो ।

ओलीले नेपाली जनताले दिएका उपयूक्त सुझावलाई समेटेर संविधान जारी गरिने बताएका छन् । जनताले दिएका उपयूक्त सुझावलाई समावेश गरेर नेपाली जनताको भावना अनुसार संविधान बन्ने उनले दावी गरेका हुन् । ‘जनतालाई मस्यौदा पढ्न पठाएका हांै, संविधान हैन्, जनताका भावनालाई आत्मसाथ गरेर संविधान बन्छ’ उनले भने जनताका रायसुझाव संकलनका लागि पठाइएको मस्यौदालाई कसैकसैले नौटंकी भनेका छन् । त्यस्तो होइन ।’

सहमतिका आधारमा संविधान बन्ने बताउँदै १६ बुँदे सहमतिका आधारमा मस्यौदा तयार भएको उनले बताए । उनले कुनै पार्टी र नेताका लागि नभएर देश र जनताको लाति संविधान बन्ने बताएका छन् । अध्यक्ष ओलीले विभिन्न चरणमा भएका आन्दोलनबाट प्राप्त उपलब्धीलाई जोगाउन नसकिएको बताउँदै २०६२÷६३ को शान्तिपूर्ण आन्दोलनमा नेपाली जनताले ब्यक्त गरेका भावना र आकाङ्क्षालाई संस्थागत गर्न तथा शान्ति र लोकतन्त्रका लागि संविधान चाहिएको बताएका छन् ।

अध्यक्ष ओलीले सिमाङन र नामाङकन सहितको संविधान जारी गर्न भन्न्ेहरुले अफ्ठ्यारो पारेको उनले बताए । ‘सिमाङ्कन र नामाङ्कनसहितको संविधान जारी गर्ने हो भने गरौं’ ओलीले भने ‘असहयोग गरे भन्दै यसैलाई मुद्धा बनाएर बखेडा नझिकौं ।’

एमाले संसदीय दलका नेता समेत रहेका ओलीले संविधान जारी गरेपछि संविधान सभा समाप्त हुने बताएका छन् । उनले संविधान जारी भइसकेपछि सोही संविधानअनुसार मुलुक अघि बढ्ने बताउँदै संविधान लेखिसकेपछि पनि संविधान सभा राख्दा संविधान लेख्न बाँकी नै रहेको भन्ने हुन्छ त्यसो गर्न नहुने उनको भनाई छ । संविधान लेखेको एक वर्षभित्र सबै काम टुंगिने उनले दाबी गरेका छन् ।

उनले अर्को प्रसङ्गमा प्रचण्ड र ओली मिल्दैनन् भन्ने धेरै लागेको भन्दै संविधान जारी गर्ने काम मिलेरै गर्ने बताएका छन् । ‘पहिले संविधान जारि गर्ने कुरामा नै मतभेद थियो र प्रचण्डसँग कुरा नमिलेको हो’ अहिले माओवादी पनि संविधान जारी गर्न साझेदारी गरिरहेको छ विरोध गर्न जरुरी छैन ।’ उनले अव देश निर्माणको जिम्मा एमालले लिने भन्दै एमाले नै देशको ठूलो शक्ति बन्ने दाबीसमेत गरे ।

उनले ब्यङ्ग्यात्मक रुपमा भने ‘अब नाङ्ले व्यापारको जमाना गयो । यो सुपरमार्केटको जमाना हो । एमाले त्यही सुपरमार्केट हो ।’ नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान महत्वपूर्ण रहेको बताउँदै ओलीले उनकै योगदानका कारण नेपालको कम्यूनिष्ट आन्दोलनलाई कसैले हल्लाउन नसक्ने बताए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई स्वास्थ्य प्रतिष्ठानको रुपमा विकास गरिने बताए । उनले कास्कीका विभिन्न ठाउँमा स्वास्थ्य चौकी निर्माणको काम पनि भैरहेको जानकारी दिए । एमाले निर्वाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारी (प्यासी)ले संविधान जारी गरेर देशलाई समुन्नत नेपाल निर्माणको बाटोमा लैजानुपर्ने बेला आएको बताएका छन् ।

Comments are closed.