सडकका भोका कुकुरलाई खाना बाँड्दै यी युवा

हिजो अस्ति सडक बालबालिका, अनाथ तथा श्रमिक मजदुरहरुको भोक र प्यास मेटाउदै पोखरा महानगरका चोक र गल्ली चहार्दै हिड्ने सृजना बाल गृहमा हुर्केका युवाहरु मंगलबार सडकका कुकुरलाई खाना खुवाउन सक्रिय देखिए । उनीहरुले सडकका भोका कुकुरकै लागि भनि बिहान खाना बनाए र दिउँसोको चर्को घाममा महानगरका चोक र गल्लीमा पुगेर बाँडे ।

कोरोना भाइरसको संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न सरकारले देशमा लकडाउन घोषणा गरेपछि सडकका कुकुरहरु भोकै रहेको देख्न नसकेपछि खाना बाँडेको अभियानका संयोजक आयुष नेपाली बताउँछन। मासु पसल, होटेल र रेस्टुरेन्ट चहार्दै पेट भर्ने सडक कुकुरहरु लकडाउनको कारण सबै पसलहरु बन्द भएपछि खान पाएका छैनन् । मङलबार कुकुरलाई मासुभात बाँडेका उनीहरुले आगामी दिनमा लामो समयदेखि सडकका कुकुरहरुलाइ खाना खुवाउदै आएकी लेकसाइडकी झरना सि.के.लाई आवश्यक खाद्य सामग्री प्रदान गरि उनीमार्फत सडकका कुकुरहरुलाई खाना खुवाउने योजना रहेको बताए ।

मानवको लागि स्थानीय सरकारदेखि विभिन्न संघ संस्था तथा ब्यक्तिहरुसंग सहकार्य गर्दै फुड बैंक नै स्थापना गरेर पोखराका विभिन्न स्थानमा राहत बाड्दै आइरहेका यी युवाहरुले कुकुरलाई पनि खाना दिनुपर्छ भन्ने आभास भए पछि फिडिङ स्ट्रीट डग अभियान चलाईएको बताउँछन ।

पशुपन्छी पुज्ने नेपाली समुदायको मौलिक संस्कारलाई जोगाई राख्न समेत महानगरपालिकाले यस्ता सडकमा भौतारिरहेका जनावरहरुको उचित ब्यबस्थापन गर्नुपर्ने बताउदै उनीहरुले मंगलबार पृथ्वीचोक, नयाबजार, महेन्द्रपुल, बगर, गणेश टोल, बाग्लुङ बसपार्क, पर्स्याङ, जिरो, सिद्धार्थ चोक, चिप्लेढुङ्गा र लेकसाइड पुगेर भोका रहेका करिब ६० वटा सडक कुकुरलाई खाना र पानी बाँड्दै त्यहाँका स्थानियहरुलाई घरमा बचेको खाना सडक कुकुरलाई खुवाउन अपिल पनि गरे ।

Comments are closed.