सडक महोत्सवको माहौल

रेष्टुरेण्ट एण्ड बार एशोसियसन पोखराको आयोजनामा यस पटक पनि अंग्रेजी नयाँ बर्षको सन्दर्भमा १६ औं सडक महोत्सव हुँदैछ । लेकसाइड क्षेत्रका रेष्टुरेण्ट ब्यवसायीहरुले आयोजना गर्ने यो महोत्सब, अब राष्ट्रिय महोत्सवकै रुपमा स्थापित भएको छ । सडकमै खाउँ, सडकमै रमाउँ भन्ने मुल मन्त्र बोकेको यो महोत्सव नेपालमा आयोजना हुने सबै भन्दा बढी क्षेत्रफलमा हुने महोत्सव हो । संभवत दर्शकहरुको उपस्थितीका हिसाबले पनि सडक महोत्सब नेपालकै ठुलो हो । अंग्रेजी नयाँ बर्ष मनाउन नेपालीहरुको प्रमुख गन्तव्य पोखरालाई बनाउन यो महोत्सवले टेवा पु¥याएको छ । साथै केही समय यता बिदेशीहरुले पनि पोखरालाई अंग्रेजी नयाँ बर्ष मनाउने गन्तव्यका रुपमा छनौट गर्दै पोखरा आउन थालेका छन् ।

महोत्सवले पोखराको गौरब बढाएको कुरामा दुविधा छैन । तर, अब आयोजकहरुले यो महोत्सवमा नयाँपन दिनका लागि आवश्यक देखिएको छ । खाली सडकमा रेष्टुरेण्ट थाप्ने र बाटोमा हिड्ने कुरा १६ बर्षसम्म लगातार देखिरहेका आन्तरिक तथा बाह्य पर्यटकका लागि अब खल्लो हुन थालेको गुनासो छ । मनोरञ्जनका अरु बिकल्प के गर्न सकिन्छ ? भन्ने बिषयमा बिदेशबाट समेत अध्ययन गरेर लागू गर्न रेबानको नेतृत्वले सोच्न आवश्यक छ । साथै अंग्रेजी नयाँ बर्षलाई नेपाली पनमा ढालेर आफ्नै मौलिक कार्यक्रम पनि गर्न सकिन्छ । त्यस बारेमा पनि आयोजकको ध्यान जान जरुरी देखिन्छ । अतः यो महोत्सव अव आयोजनाको जिम्मा लिएको रेबानको मात्र रहेन ।

महोत्सवमा आउनका लागि पोखराका होटलहरु बुकिङ्ग सुरु भइसक्नु र बिदेशमा रहेर दशंै तिहार जस्ता ठुला चाडमा नेपाल आउन नपाएका नेपालीहरुले समेत नेपाल आउने समय सडक महोत्सबकै सन्दर्भमा छनौट गरेका कारण अब यो पोखरेलीको महोत्सब भइसकेको छ । यसमा सबैको सहयोग आवश्यक छ । सँगसँगै यसको आयोजनामा परिमार्जनका लागि पनि आयोजकले ध्यान दिन आवश्यक छ ।

Comments are closed.