सत्यको बिरुद्धका मीठा भ्रमहरु

बि. बि. बिष्ट

      नेपालमा सबै भन्दा बढि गुम्सिएको वर्ग चाहिँ बौद्धिक बर्ग हो। यहाँ आ-आफ्नो भुँडी भर्न भजन गाउने बर्गले नै सदियौं देखि आफूलाई कथित बौद्धिक बर्ग ठान्छ । न यहाँ  फराकिलो र गहिरो अध्ययन संस्कार छ नत सहि र वस्तुपरक विश्लेषण हुन्छ । यो बर्गको सबै भन्दा पीडादायी रोग चाहिँ के छ भने ‘आफूलाई फाईदा हुने जति सबै कुरा ठिक र अरुलाई फाईदा हुने जति सबै कुरा बेठीक’। यो वर्ग यति धेरै धुर्त छ कि ‘मनपरेका लाई राता-रात भगवान बनाउन उफ्रिपाफरी गर्छ त रिष उठ्ने बित्तिकै उही व्यक्तिलाइ भयंकर विनासकारी राक्षेस घोषणा गर्न सबै भन्दा अगाडी सर्छ’। ‘आफूलाई मन पर्नेले बोलेको या गरेको कुनै पनि कुरा लाई कुनै सोच बिचार नै नगरी “ठीक हो” भनेर ताली बजाउनु र मन नपर्नेले बोलेको कुनै पनि कुरा लाई “यो त बेठीक हो” भनेर सोझै लल्कार्नु बर्तमान बौद्धिक बर्गको सामान्य चरित्र हुँदै गएको छ।    

घर चारैतिर भत्किएको छ तर चारै तिर भत्किएको घर लाइ सफा गर्न गाह्रो हुन्छ भन्ने कुरा हामी स्वीकार्ने पक्षमा छैनौं ।बिडम्बना कस्तो छ भने यहाँ कोही घर लिप्न पाईन भनेर गुनासो गर्दै छन त कोही भत्किएको घरको सबै भन्दा ठुलो कोठा मेरो थियो भन्दै दावी गरी रहेका छन्। तर चारै तिर भत्किएको घर लाइ सफा गरेर भनौं खारेर नयाँ घर बनाउन हामी कोहि पनि तयार छैनौं ।

हाम्रो समाजको एउटा ठुलो समुह चाहिँ यति धेरै आशे छ कि एउटा आशा न ओईलाउंदै दुईवटा आशा थपी हाल्छ। यो समूहका आशा र अपेक्षा को कुनै सिमा नै छैन । यो समूह संधै चाहान्छ कि कोहि सेतो बाईपंखी घोडामा तरवार नचाउंदैआवस र सबै कुरा ठीक्ठाक्क पारि दिएर फेरी तरवार नचाउंदै जावस । तर यो बर्ग लाइ केहि पनि काम नलगावस”आफैंले चाहिँ केहि पनि काम गर्न नखोज्ने तर  पुजा कोठामा बसेर उही बाईपंखी घोडामा सवार भएका लाइ अगर बत्ति बालेर पुजा गर्न हमेशा तयार हुने यो बर्गले हाम्रो समाजलाई नराम्रो गरी बाँधेर राखेको छ । एउटा जुईना चुँडायो अरु पाँचवटा जुईनाले बाँधन दश जना तयारी अवस्थामा हुन्छन्।

‘हामी एकै दिन र एकै रातमा सबै कुरा ठिक ठाक हुन्छ’ भन्ने भ्रममा रमाउन चाहान्छौं ।‘सहि र सोझो बाटो हिड्नेहरु बाटैमा हराई दिनाले यहाँ सबैलाई ‘चोर बाटो नै पो हिड्नु पर्ने रहेछ’ भन्ने लाग्न थालेको छ । सहि र सोझो बाटो हिड्नेलाई तगारो लगाउने र चोर बाटो हिड्नेहरु लाई चोख्याउनेहरु पाईलै पिच्छे भेटिन्छन्। कहाँ र कसरी हामीले बाटो बिरायौं भनेर हामी कहिल्यै सोचेनौं/ सोच्दैनौं।हामीले कुनै अध्ययन अनुसन्धान र तयारी बिना जता-जता हिंड्ने मन लाग्यो उतै-उतै हिड्यौं र अनि जस्तो बाटो बन्यो त्यही बाटो लाई मूल बाटो हो भन्यौं। परिणाम, हाम्रो कथित मुलबाटो ज्यादै लामो र घुमाउरो बन्यो । आफैले बनाएको मूल बाटो हिड्दा हिंड्दै धेरै यात्रीहरु यात्रामै कतै हराए। न हामीले मूल बाटो बनायौं न त चोर बाटो हिड्नै छोड्यौं । आज सबैले ओकालत गर्ने कुरा के देखिएको छ भने ‘आफू हिड्ने बाटो चाही मूलबाटो हो र अरु हिड्ने बाटो चाहिँ चोर बाटो हो’ ।यहाँ प्राय हामी सबैले बिर्सिदै गएको कुरा के हो भने ‘चोर बाटो त छोटो होला तर जीवनको बाटो पनि सारै लामो छैन/हुँदैन”।

           अहिले हाम्रो समाज खतरनाकरुपमा धुर्वकृत हुँदै गएको छ। आफ्नो भन्दा अरुको बाटो अलिकति फरक हुने बित्तिकै उसलाई ‘परिवर्तन बिरोधि,  प्रतिक्रियावादी,षडयन्त्रकारी, दुश्मन …..’ जस्ता ‘खतरनाक’ शब्दहरुले खोजी खोजी र रोजी रोजी हिर्काउन थाली हाल्छौं । कोही आफू भन्दा अलिकति छिट्टो हिंड्यो भने ‘ऊ भन्दा छिट्टो आफू कसरी हिंड्ने’ भनेर हामी सोच्दैनौं तर उसलाई कसरी लडाउने भनेर तगारो हाल्न खोजी हाल्छौं । हामी यति धेरै तगारो प्रेमी भयौं कि हिड्नेको भन्दा तगारो हाल्नेको सङ्ख्या बढी हुँदै गएको छ तर पनि यात्रा सबैको जारी छ ।

‘झारो टार्ने’संस्कृति लाई हामीले त्याग्न सकेनौं/ चाहेनौं । हामी कति सम्म निर्लज्ज हुदै गएका छौं भने ‘चोर्न/लुट्न नपाएर आन्दोलन गर्छौ, राज निती जस्तो सबै नितिको मूल स्रोत माथि सबै भन्दा बढी फोहोर गर्छौ, महामहिम (राजदुत), न्यायाधीस जस्ता अति समानित र संवेदनशील पद लाई खरिद बिक्री गर्छौं, लोकतान्त्रको नाममा पुरै नांगिनछौं तर पनि हामी लाई न लाज लाग्छ न शरम ।

 यहाँ हरेक निलो स्यालले “म फरक जातको बाघ हुँ” भन्दै ‘सिनो’ ‘ खाई रहेको  छ । अनि, हामी चाहीँ ‘हे बनका राजा तिम्रो सेवामा हामी उपस्थित छौं’ भन्दै दिन-दिनै’सिनो’ बनी रहेका छौं । निलो स्यालले बाघ बनेर हामी लाई खाई रहेको छ तर हामी स्वास फेर्न भन्दा सिनो बन्नमा आनन्द पाउँछौं । जब आँखा खोल्न भन्दा आँखा चिम्लिनमा आनन्द आउँन थाल्छ नि ; तब बुझ्नु पर्छ कि यो थकित र उर्जाहीन: अवस्था हो । ठयाक्कै हामी अहिले थकित र उर्जाहीन: अवस्थामा छौँ । थाहा छैन अझै हामी कहिले सम्म यसरी थकित र उर्जाहीन: भएर बस्न सक्छौं ।

 हामी कति धेरै सतही हुँदै गएका छौं भन्ने कुरा लाई एउटा सानो उदाहरणमा हेरौँ ।

 बर्षौं बर्ष देखि  एउटा सतही हूँईयाँ चलाईएको छ “खुशी र दुःखको श्रोत आँफै भित्र छ बाहिर नखोज ”। हामी बड़ो शानदार तरिकाले ‘हो’ मा ‘हो’ मिलाऊँ छौं ।अलिकती व्यवाहारिक भएर हेरौं । के यो सत्य हो? के यो कुरामा कुनै धार्मिक, बैज्ञानिक या व्यवाहारिक सत्यता छ? ‘हो’ मा ‘हो’ मिलाउनु भन्दा पहिले “के, यो हो” भनेर हामीले आँफैलाई एक पटक त सोध्यौँ ? व्यबहारिक तुलामा यस लाई तौलौं:-  आफ्नो प्रिय  मान्छेको प्रगति देख्दा हामी भन्छौँ ‘तपाईको प्रगति देख्दा म लाई एक दम ख़ुशी लागेको छ’। र, उसको दुःखडद समाचारमा हामी  पनि दुखित हुन्छौं । आफ्ना प्रियजनको सुखद समाचार सुन्दा हाम्रो दिल खुशिले गद्गद् हुन्छ र हामी भन्छौँ ‘कस्तो सुन्दर समाचार, एक दम खुशी लाग्यो’। आफ्नो जीवन संग प्रत्यक्ष जोडिएका व्यक्तिको सानो सानो कुरामा पनि हाम्रो ख़ुशी/दुःख लुकेको हुन्छ। उसले खाना खांदा हामी अघाएको महसुस गर्छौं र उस लाई चोट लाग्दा हामी लाई दुख्छ। उ हाँस्दा संसार हाँसेको जस्तो लाग्छ त उ रुँदा हाम्रो हिर्द्य धर धरी रुन्छ । के यो मानवीय सत्य होईन? मानी लिनुहोस, तपाईको प्रिय व्यक्ति विश्वकै शक्तिशाली राष्ट्रमा उच्च पोजीसनमा कार्यरत हुनुहुन्छ। तपाईले उहाँलाई फोन पनि गर्नु  भयो। फोनमा उहाँले भन्नु भयो “धेरै दिन भयो खाना खान मन नलागेको, हरपल तिम्रो याद आई रहन्छ, मेरो मन एक दम आँत्तिएको छ, आफू एक दम एक्लो भएको महसूस हुन्छ, सायद हाम्रो भेट अब हूँदैन कि!…….” यी कुरा त भावना संग जोडिएका साधारण कुरा नै त हुन् । के हामी भन्न छौं   “हेर, खुशीको श्रोत आँफै भित्र छ, तिम्रो कुरा सुनेर म लाई खुशी लाग्यो” …….? आफ्नै मानवीय भावनालाई बुझ्न नसक्ने तर  “खुशी र दुःखको श्रोत आँफै भित्र छ बाहिर नखोज ” भन्दै हिंड्ने ठेग्दारहरु लाई म हिर्द्यदेखि नै सोध्छु-‘एक पटक छातीमा हात राखेर जावाफ दिनुहोस कतै तपाई सत्यको बिरुद्ध मीठो भ्रम त छरी रहनु भएको छैन? हाम्रो खुशी र दुःखको श्रोत हाम्रा प्रिय जन, सामाजिक परिवेस र वातावरण हो की होईन ?   ‘हिडेर पनि कहाँ पुग्नु छ र बरु सुत्यो आनन्द’ भन्दै हामी सुत्नै चाहिरहेका छौं ।तर यो बिल्कुल ठिक होईन । सुत्ने हरु सुत्दै गर्छन् तर हिड्न चहानेहरुले हिड्न छोड्नु हुदैन। हिड्न चाहानेहरु उत्तेजनाको भुंग्रोमा पिस्लिएर बस्ने होईन खुल्ला आकाश मुनि स्वच्छ र सफा अक्सिजन लिदै अगाडी बढ्नु पर्छ। हो, हिड्न चहानेहरु हिड्नै पर्छ र सत्यको बिरुद्धका मीठा भ्रमहरु लाई छोडेर जीवनको वास्तविकता लाई स्वीकार गर्दै अगाडी बढनै पर्छ ।

Comments are closed.