
काठमाडौं: यू-१९ साफ च्याम्पियनसिप फुटबलमा सोमबार नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। च्याम्पियनसिपको समूह ‘ए’ अन्तर्गतको अन्तिम खेलमा नेपाल र बंगलादेशबीच समूह विजेताका लागि प्रतिस्पर्धा हुनेछ । दुवै टोली यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन्।
समूहको पहिलो खेलमा नेपालले भुटानलाई ३-१ गोलले पराजित गरेको थियो। बंगलादेशले भने भुटानलाई २-० गोलले हराएर सेमिफाइनलमा स्थान बनाएको थियो। लगातार दुईखेल गुमाएपछि भुटान च्याम्पियनसिपबाट बाहिरिएको छ।
नेपालको लक्ष्य समूह विजेता बन्दै उपाधिको होडमा अघि बढ्नु रहेको टोलीका प्रशिक्षक बालगोपाल महर्जनले बताए। ‘भुटानसँगको गल्तीलाई भुल्दै हामी उत्कृष्ट प्रदर्शन गर्नेछौं। पहिलो खेलमा एकदुईजना खेलाडी मात्र चलेको देखियो।
बंगलादेशसँग टिम गेम खेल्दै स्पस्ट जितको अपेक्षा गरेका छौं’, मर्हजनले भने। बंगलादेश पनि बलियो टोली भएकोले उसलाई कम आँक्न नहुने उनले बताए। खेलाडीले आफ्नो स्वाभाविक खेल खेले भने नेपाललाई उपाधि जित्न गाह्रो नहुने महर्जनले बताए।
भुटानसँगको खेलमा कप्तान विमल घर्तीमात्र चलेको जस्तो देखिएको थियो। भुटानविरुद्ध ह्याट्रिक गरेका विमलले पनि आफूले पाएको बल अन्य खेलाडीलाई पास नदिएको भन्दै उनको आलोचना भएको थियो। विमलले पेनाल्टीमार्फत चौथो गोल गर्ने अवसरसमेत गुमाएका थिए।
यसैगरी भुटानलाई हराएर अगाडि बढेको बंगलादेश पनि समूह विजेता बन्ने अभियानमा छ। बंगलादेशका प्रशिक्षक फैसुल बारी टिटुले सेमिफाइनल यात्रा सुनिश्चित भएकाले नेपालसँग उत्कृष्ट खेल खेल्ने बताए। ‘नेपाल सबैभन्दा बलियो टोली हो।
घरेलु मैदान र दर्शकको साथ पनि नेपाललाई छ। बंगलादेश राम्रो तयारी गरेर नेपाल आएकाले हामी राम्रो खेल्दै समूह विजेता बन्ने प्रयास गर्नेछौं। नेपालसँगको प्रदर्शन भुटानको तुलनामा सुधारात्मक हुनेछ’, फैसुलले भने।
भारतको विजयी सुरुआत
भारतले यू-१९ साफ च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको समूह ‘बी’ को खेलमा भारतले बलियो प्रतिद्वन्द्वी अफगानिस्तानलाई २-० गोलले हरायो।
शारीरिक रूपले बलियो अफगानिस्तानसँग आक्रामक खेल खेलेको भारतले १० औं मिनेटमा खाता खोलेको थियो। भारतका लागि पहिलो गोल कमपलप्रितसिंह ग्र्रवालले गोल गरे। कमपलप्रितले हेडमार्फत आकर्षक गोल गरेका थिए।
दोस्रो गोल ८७ औं मिनेटमा अनिरुद्ध थापाले गरेका थिए। मध्यभागबाट एक्लै बल दौडाएका अनिरुद्धले वान भर्सेस वानको अवस्थामा उत्कृष्ट गोल गरेका थिए। भारतको सुरुआती गोलसँगै अत्तालिएको अफगानिस्तानको गोल फर्काउने प्रयास सफल बन्न सकेन।
खेलको अन्तिममा अफगानिस्तान १० खेलाडीमा समेटिएको थियो। अफगानिस्तानका गोलरक्षक मुस्ताफाले भारतका मोइउद्दिनलाई डीबक्स छेउमा फल हानेपछि मुस्ताफाले रातो कार्ड पाएका थिए।
जितसँगै भारतले तीन अंक जोडेको छ। यसअधि समूहको पहिलो खेलमा माल्दिभ्सलाई ३-१ गोलले हराएको अफगानिस्तानले पनि तीन अंक बनाएको छ।
Comments are closed.