– मनहरि तिमिल्सिना
जीवनको अठ्तीसौं वसन्तमा पाइला चाल्दै गरेका उनको समाज रुपान्तरणको यात्रा उत्कर्षमा छ । जीवनका उकाली ओरालीहरुमा साम्यवादको अनन्त सपना देख्न छोडेनन् उनले । बाल मनोविज्ञानमा कम्युनिष्ट पार्टीप्रति परेको गहन प्रभाव उनको जीवनको आदर्श नै रह्यो । परिस्थिति फेरियो, जीवनमा उन्नति र अवनतिका श्रृङ्खला चलिरहे, मोर्चा र जिम्मेवारी फेरियो । तर, स्वतन्त्रताको दुनियाँ चुम्ने उनको आस्था र आकाङ्क्षा फेरिएन । तिनै साम्यवादी आदर्शका अभियान्ता, समाज परिवर्तनको आन्दोलनका अथक योद्धा दीपक कोइराला ‘रुपक’ अहिले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को साझा उम्मेद्वारका रुपमा कास्की जिल्ला क्षेत्र नं.–१ (क) मा प्रदेश सभा सदस्यको दौडमा छन् ।
नेपाली किसान परिवारको जीवनभन्दा पृथक थिएन उनको बाल्यकाल । २०३५ भदौ १ गते पिता नन्दलाल र माता जुनीको कोखबाट जेठो सुपुत्रका रुपमा जन्मिएका दीपकको बाल्यकाल सङ्घर्षमै बित्यो । निम्न मध्यम आर्थिक धरातलका कोइराला परिवारमा हुर्किएका दीपकको बाल्यकाल सामान्य रुपमै बित्यो । ५ कक्षामा पढ्दै गर्दा उनी अखिलमा संगठित भए । गोरखा जिल्ला आफै पनि बामपन्थी आन्दोलनको उर्भरभूमि थियो, अग्रजहरुको प्रेरणाले उनी कम्युनिष्ट राजनीतिप्रति आकर्षित भए । त्यसपछि अखिल र वाइसिएलको सक्रिय सदस्यका रुपमा आफ्नो यात्रालाई अघि बढाए । पछि उनको परिवार चितवनमा बसाई सर्यो, त्यसपछि उनको राजनीतिक जीवन पनि चितवनमै क्रियाशील भयो ।
०००००००
२०४६ सालको जनआन्दोलन पेरिफेरिबाट कम्युनिष्ट आन्दोलनमा होमिएका रुपक सानैदेखि निर्भिक स्वाभावका थिए, परिवारदेखि सामाजिक जीवनसम्मका प्रत्येक घटनामा उनी सत्यकै पक्षमा हुन्थे । यसले उनलाई क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा दृढ हुन थप उत्साहित गर्यो । २०५४ सालदेखि माओवादीको नेतृत्वमा सञ्चालित जनयुद्धको उनी पेशेवर कार्यकर्ताका रुपमा क्रियाशील भए । २०५५ सालमा स्क्वायर्ड सह–कमाण्डर हुँदै २०५६ सालमा उनी तात्कालीन नेकपा (माओवादी) को नियमित सेनामा सहभागी भए ।
जनमुक्ति सेनामा सेक्सन कमाण्डर हुँदै २०५९ सालमा कम्पनि कमाण्डर, २०६० सालमा बटालियन सह–कमाण्डर, २०६१ सालमा बटालियन कमाण्डर हुँदै २०६२ सालमा जनसेनाको ब्रिगेड सह–कमाण्डर भएका कोइराला पार्टी जिम्मेवारीमा जिल्ला समिति सदस्य, उपब्यूरो सदस्य, क्षेत्रीय ब्यूरो सदस्य हुँदै २०७० सालमा तात्कालीन एकीकृत माओवादीको कास्की जिल्ला अध्यक्षमा निर्वाचित भए । हाल उनी माओवादी केन्द्रको कास्की जिल्ला सह–ईन्चार्जका रुपमा क्रियाशील छन् ।
जन्मथलो गोरखा र स्थायी ठेगाना चितवन भए पनि कोइरालाले राजनीतिक जीवनको पछिल्लो १८ वर्षलाई कास्कीमा समर्पित गरे । फौजी जीवनमा रहँदा होस् वा राजनीतिक नेताको जिम्मेवारीमा, उनी कास्कीमा क्रियाशील भए । दर्जनौं फौजी मोर्चाको नेतृत्व गरेका कोइराला २०५७ सालको भोर्लेटार कार्वाहीमा घाइते पनि भए, जीवनमा कैयौंपटक मृत्युको मूखमा पुगे र बालबाल बाँचे । तर, उनले राजनीतिक गन्तव्य बदलेनन्, सपना फेरेनन्, अनि साम्यवादको सपना कहिल्यै बिस्मृतिमा राखेनन् । पछिल्लोपटक पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिको अध्यक्षको जिम्मेवारीमा रहेर उनले पोखराको खेल क्षेत्रमा निकै ठूलो योगदान गरे । खेलकूद विकास समितिमा उनको जिम्मेवारी पोखरेली खेल क्षेत्रका लागि स्वर्णीम् युग नै सावित भयो ।
कास्की जिल्ला साविकका गण्डकी र धौलागिरी अञ्चलको केन्द्र पनि हो । कास्की जिल्लाको राजनीतिमा यसका छिमेकी जिल्लाहरुको प्रभाव र गुरुत्व पनि कम छैन । कैयौं नेताहरु आफ्नो गृह जिल्लाबाट कास्कीलाई कर्मथलोको रुपमा उपयोग गरिरहेका छन् । तर, रुपक नै त्यस्तो नेता हुन्, जसले आफूलाई सम्पूर्ण रुपले कास्कीमै समर्पित हुने सङ्कल्पका साथ चितवनको सम्पूर्ण पूख्र्यौली सम्पत्ति बेचेर कास्कीकै बासिन्दा बनेका छन् । परम्परावादी क्षेत्रीय राजनीतिको दृष्टिले भन्दा उनी कास्कीकै स्थानीय उम्मेद्वार हुन् ।
०००००००
उनले औपचारिक विश्वविद्यालयबाट भन्दा बढ्दा जीवन भोगाइका तीता मीठा अनुभवबाट धेरै कुरा सङ्गालेका छन् । रुपकको जीवनले अहङ्कार चिन्दैन, झुपडी भूल्दैन, जहाँ अन्याय र विभेदको भ्रूण छ, त्यहाँ उनको भावना जोडिन्छ । जस्तोसुकै विरोधीलाई पनि विश्वासमा लिनसक्ने उनको खुवी नै सफलताको कुञ्जी हो । प्रखर वक्ताका रुपमा परिचित रुपक युवाहरुका ढुकढुकी हुन् । उनको बहिर्मूखी प्रतिभाको विरोधी पनि तारिफ गर्छन् । उनका दृष्टिमा ‘राजनीतिक कार्यकर्ता एक्का लगाएको घोडा’ होइन, उसले समाजको बहुआयमिक स्वरुप, चिन्तन, प्रवृत्ति र विशेषताहरुलाई संयोजन गर्न सक्नुपर्छ । फरक विचार, प्रवृत्ति र गुणलाई पनि सँगै लिएर हिड्नसक्ने गुणले नै रुपकको पहिचान दिन्छ ।
कास्की जिल्ला बामपन्थी आन्दोलनको उर्भरभूमि हो । यसपटक माओवादी केन्द्र र एमालेबीच गठबन्धन भएपछि रुपकको पल्ला भारी भएको छ । व्यक्तिगत रुपले अत्यन्तै स्थापित र छिटो विश्वास जित्नसक्ने कार्यशैलीले उनको यात्रालाई सहज बनाएको छ । यस्तो प्रादेशिक क्षेत्रबाट रुपक प्रदेश सभा सदस्यको दौडमा छन् । यो दौडको अन्तिम छिनोफानोका लागि मंसीर २१ कुनैपर्छ । तर, रुपकका बलिया प्रतिस्पर्धीहरु देखिँदैनन् । माओवादी–एमाले गठबन्धनबाट प्रतिस्पर्धामा रहेका रुपक गुरुत्व, जनमत, राजनीतिक दृष्टि, विकासको आकाङ्क्षा र लोकप्रियताका दृष्टिले मतदाताको पहिलो रोजाईका उम्मेदवार हुन् ।
०००००००
देशकै पर्यटकीय नगरी, कम्युनिष्ट आन्दोलनको उर्भरभूमि र राजनीतिक जागरणको केन्द्रबाट उम्मेदवारी दिनुभएको छ, जितेपछि के गर्नुहुन्छ ? रुपक भन्छन्, ‘मेरो विजय कास्कीको क्षेत्र नं.–१ (क) का लागि स्मरणीय हुनेछ । प्रदेशको विकासमा काँचुली फेर्न मेरो सपनाको सार्थकता पनि यहीँनेर छ । महानगरको मुहार फेर्ने, विकास, समृद्धि, रोजगारी र प्रणाली स्थापित गर्ने मेरो कोशिस हुन्छ । संविधानले दिएको अधिकारलाई प्रदेशको विकास र जनताको सेवामा उपयोग गर्नेछु ।’ उनी थप्छन्, ‘जनयुद्ध र जनआन्दोलन लगायत सम्पूर्ण आन्दोलनले जनतामा नयाँ जागरण पैदा गरेको छ । तर, आर्थिक क्षेत्रमा रुपान्तरण र आत्मनिर्भरताको कार्यभार पुरा भएको छैन । प्रदेशको साधन स्रोतलाई जनसहभागितामा परिचालन गरी विकास र समृद्धिको नेतृत्व गर्छु । जनताको असल प्रतिनिधिको रुपमा जिल्ला र आफ्नो प्रादेशिक क्षेत्रको विकासमा समर्पित हुन्छु ।
संघीयताले जनप्रतिनिधिहरुको भूमिका पनि बहुआयमिक बनाई दिएको छ । केन्द्रमा संघीय सरकारजस्तै प्रदेशमा प्रादेशिक सरकार स्थापित गर्ने संवैधानिक व्यवस्थाले नेताहरुको खुवी परीक्षणको ढोका खोलिदिएको छ । पोखरामा अन्तर्राष्ट्रिय बिमानस्थलको पक्षमा उनले खेलेको भूमिका कास्की जिल्लामा अग्रभागमा आउँछ । यति मात्रै नभएर क्षेत्रीय खेलकूद विकास समितिमा बसेर उनले पूर्वाधार विकास, खेलाडीहरुको क्षमता अभिवृद्धि, खेललाई मर्यादित र जीवन उपयोगी आयामका रुपमा जसरी विकास गरे, त्यसले अवसर पाएमा रुपकले आफ्नो क्षेत्रको विकास, समृद्धि र जनताको जीवनमा क्रान्तिकारी परिवर्तन ल्याउन सक्छन् भन्ने तथ्य प्रमाणित गरेको छ । त्यसमाथि क्यानको अध्यक्ष भएर बेथितिमा रहेको क्रिकेट संघलाई ट्रयाकमा ल्याउन र गुमेको साख फर्काउन उनले खेलेको भूमिकाले पनि रुपकप्रति युवाहरुमा नयाँ आकर्षण जागेको छ ।
भविष्यमा तपाई प्रादेशिक सांसद, कसरी सोच्नुभएको छ ? रुपक भन्छन्, ‘मेरो उम्मेद्वारी केवल निर्वाचन जित्नका लागि होइन । पोखरा महानगर र सिङ्गो कास्की जिल्ला अथाह सम्भावनाले भरिएको छ । पर्यटन, कृषि, जलविद्युत, रोजगारी सिर्जना, पूर्वाधार विकास लगायतका क्षेत्रमा हामीले रफ्तारमा काम गर्नुछ । बामपन्थीहरुको गठबन्धन भएको छ, यसले निर्वाचनपछि स्थीर सरकार बन्ने र देशले विकास एवं समृद्धिमा काँचुली फेर्ने ढोका खोल्नेछ । हिजो हामी गणतन्त्रका निम्ति लड्यौं, संघीयताका निम्ति लड्यौं, सामाजिक न्याय र समानताका निम्ति लड्यौं । अहिले हाम्रो मोर्चा फेरिएको छ, देशको विकास र समृद्धिका लागि, जनताको जीवनमा गुणात्मक परिवर्तनका लागि नयाँ लडाई लड्नु छ । यो लडाई जित्नैपर्दछ र समृद्धिको मोर्चा जित्ने गरी आफूलाई समर्पित गर्नेछु ।’
०००००००
सिंहदरबारको अधिकार प्रदेश, नगरपालिका र गाउँपालिकामा आएको छ । हिजो केन्द्रशासित निकायहरु थिए, अहिले स्वशासित तहहरु बनेका छन् । आफ्नो प्रादेशिक क्षेत्रको विकास कसरी गर्नुहुन्छ ? चुनाव जितेर के गर्नुहुन्छ ? उनी भन्छन्, ‘मसँग विकासको प्रष्ट मार्गचित्र छ । हामीसँग आफ्नो क्षेत्र र समग्र कास्कीकै २० वर्षे गुरुयोजना छ । स्थानीय साधन स्रोत के छ ? त्यसको लेखाजोखा गरिएको छ । करको दर र दायरा कसरी निर्धारण गर्ने ? प्रादेशिक क्षेत्रको विकासमा जनताको सहभागिता र लगानी कसरी जुटाउने ? त्यसको ठोस खाका हामीसँग छ । वार्षिक र नियमित आम्दानीको स्रोत निर्धारण गरिनेछ, स्थानीय जनताको शेयरबाट प्राप्त पूँजीको परिचालन गरिनेछ । यसकै आधारमा हामी भौतिक पूर्वाधार, रोजगारी सिर्जना, जनताको जीवनस्तर अभिवृद्धिको काम गर्छौं ।’
रुपक थप्छन्, ‘कास्की जिल्लालाई पर्यटन, खेलकूद र जलविद्युतको हब बनाउँछौं । बालमैत्री शहर र मौलिक स्मार्ट सिटी हाम्रो लक्ष्य हो । पर्यटकीय आकर्षणका लागि चीडियाखाना, भ्यू टावर, होमस्टे लगायतका पूर्वाधार निर्माणको काम व्यवस्थित गर्छाैं । बहुसांस्कृतिक संग्रहालय, नदीहरुमा बोटिङ व्यवस्थापन, अत्याधुनिक विज्ञान प्रयोगशालाको निर्माण, आधुनिक शिक्षा र शैक्षिक पूर्वाधारको विकास, महिला, दलित, अल्पसंख्यकहरुको सशक्तिकरण, सीपमूलक तालिम र आयआर्जनका कार्यक्रम, भ्रष्टाचारशून्य जिल्ला निर्माण र जनमैत्री सेवा प्रवाह, शान्ति सुरक्षा र सभ्य संस्कृति, स्थानीय सम्भाव्यताका आधारमा उद्योगहरुको स्थापना, प्रविधिमैत्री शहर, हरित शहर निर्माण, सुकुम्बासी र भूमिहिनहरुको व्यवस्थापन र सामाजिक सुरक्षा, कृषिको यान्त्रिकीकरण, व्यवसायीकरण र बजारीकरण, जिल्लाव्यापी गुणस्तरीय सडक सञ्जाल, सामाजिक सुरक्षाको प्रत्याभूति र भत्ताको व्यवस्था, प्रतिव्यक्ति आय, खेल क्षेत्रको विकास, रोजगारी सिर्जना र जनताको दैनिक जीवनमा सकारात्मक परिवर्तनका कार्यक्रमहरु नै मेरा प्राथमिकता हुन् ।’
रुपक थप्छन्, ‘विकास र समृद्धिका लागि हाम्रो राजनीतिक संस्कार फेरिनुपर्छ । राजनीतिक सङ्घर्ष र झमेलाबाट माथि उठेर राजनीतिक सहकार्य, विकास र समृद्धिका लागि एकतावद्ध हुनुपर्छ, राम्रो गर्नेलाई खुला दिलले सहयोग र सहकार्य गर्ने संस्कारको विकास हुनैपर्छ । अरुलाई नराम्रो देखाएर आफू राम्रो कहलिने संस्कार बदल्नैपर्छ । बामपन्थीहरुको एकताले परिस्थिति फेरिएको छ, राजनीतिमा नयाँ आशाको किरण छाएको छ, अब सम्पूर्ण तागतलाई जनताको जीवन बदल्न सदुपयोग गर्नुपर्दछ ।’
तिनै कास्की क्षेत्र नं.– १ (क) को काँचुली फेर्ने स्वप्नद्रष्टा, निर्भिक, दृढ संकल्प, ईच्छाशक्ति, सहकार्यको संस्कृतिका धनी, युवाहरुका ढुकढुकी, प्रखर वक्ता एवं योजनाकार दीपक कोइराला ‘रुपक’ माओवादी केन्द्र र एमालेको साझा बामपन्थी उम्मेद्वारका रुपमा प्रदेश सभा सदस्यको रुपमा मैदानमा छन् । भन्छन्, ‘समृद्धिको मेरो संकल्प व्यवहारमा उतार्नुछ, पार्टीभन्दा माथि उठेर जनताको सेवा गर्नुछ । आजका मतदाता हामीभन्दा पनि उन्नत चेतनाका हुनुहुन्छ । मेरो पुरै विश्वास छ, गोलाकार भित्रको हसिया–हथौडामा अत्याधिक मत पर्नेछ, मेरो विजय हुनेछ, नेपालमा राजनीतिक स्थीरता र आर्थिक समृद्धि चाहना हामी सबैको सपना साकार हुनेछ ।’ आशा गरौं, ‘कास्कीको काँचुली फेर्न उनको सपनाले सार्थकता पाउनेछ ।’
Comments are closed.