सम्पादकिय

युवाका मुद्धा र दिवस

अगस्ट १२ तारिख । अन्तर्राष्ट्रिय युवा दिवस । नेपालमा पनि ‘विश्व अभियानका लागि युवा सहभागिता र रोजगारी प्रवद्र्धन र वातावरण संरक्षणमा युवा संलग्नता’ भन्ने नारा सहित दिवस मनाइएको छ । यस वर्ष कोरोना भाइरसका कारणले दिवस भर्चुअल रूपमा कार्यक्रम गरी मनाइएको छ । दिवसकै अवसरमा युवा नेतृत्वमा विकास गर्नका लागि एक हप्तादेखि विभिन्न कार्यक्रम आयोजना भए । युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् । नेपालमा भने युवासँग काम गर्ने संघसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो । नेपालमा पनि युवा दिवस मनाउन थालिएपछि युवाका मुद्दा केही न केही सम्बोधन भएको अनुभुती गरिएको छ । युवालाई उच्च प्राथमिकतामा राखेर सरकारले धेरै कार्यक्रम ल्याए पनि ती कार्यक्रम प्रभावकारी रूपमा कायन्वयन भएका छैनन् । युवाका मुद्दालाई सम्बोधन गर्न नेपालमा युवा विकास तथा परिचालनका लागि विसं २०६५ मा सरकारले युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय युवा नीति, २०७२ मा युवा विकासका व्यापक विषय वस्तुलाई नीतिगतरूपमा समावेश गरेको छ । यसैगरी सरकारले विसं २०७२ मा राष्ट्रिय युवा परिषद् गठन गर्दै युवाको नेतृत्व विकासमा काम गर्दै आइरहेको छ ।यस्तै सरकारले ल्याएको १५ औँ योजनाको आधारपत्रमा ‘युवाको जाँगर समृद्धिको आधार’ भन्ने मूल नाराका साथ युवालाई मुलुकको समृद्धिसँग जोडेको छ । युवा रोजगार प्रधानमन्त्री कार्यक्रम, युवालाई स्वरोजगार बनाउनका लागि युवा तथा साना लगानी स्वरोजगार सचिवालयको गठन जस्ता कार्यक्रम ल्याइएका छन् । तर ती कार्यक्रम भाषण र कागजमा सीमित भएका छन् । दिवसका अवसरमा भाषण गर्ने र कागजमा लेख्ने बाहेक कार्यान्वयनको काम हुन सकेको छैन् । युवाका मुद्दालाई सम्बोधन गर्ने हो भने मुलुकको समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई पूरा गर्न सम्भव छ ।

Comments are closed.