दस बर्षे जनयुद्ध कालदेखि दिक्क भएका नेपाली जनताले माओवादी शान्तिप्रक्रियामा आएर संविधानसभाको निर्वाचन मार्फत संविधान निर्माणमा लागेपछि राहतको महशुस गरेका थिए । राष्ट्रिय हितका लागि राजतन्त्रलाई फाले र लोकतन्त्रलाई भित्र्याए । जनताले फेरी युद्ध र हिंसाको अपेक्षा कहिल्यै गरेनन् । जनयुद्ध कालमा राज्य तथा युद्धरत दुवैपक्षबाट खेपेको दुःख र वेदना बिर्सेर धेरै नेतालाई संविधान लेख्नका लागि सभासद बनाएर संसदमा पु¥याए । पहिलो संविधानसभाले पनि संविधान दिन नसकेपछि फेरी पनि तिनै नेतालाई विश्वास गरेर दोस्रो संविधानसभाको निर्वाचन मार्फत संविधान लेख्नका लागि फेरी पठाए । जनताले सात बर्षसम्म संविधान निर्माणको आशलाई मारेनन् बरु जनताको आशा मार्ने काम तिनै राजनीतिक दलका नेता तथा सभासदहरुले नै गरे । संविधान निर्माणका लागि दोस्रो पटक तोकिएको समयसिमा सकिन अब एक दिन मात्र बाँकी छ ।
यो समयमा संविधान निर्माण र शान्ति सु–व्यवस्था कायम गरी देश समृद्धीको बाटोमा जानुपर्ने थियो । तर, ठीक उल्टो अवस्था नेपाली जनताको अगाडी आइदिएको छ । देशलाई फेरी मुटभेड र हिंसाको बाटोमा लैजाने काम भएको छ । सोमबार संविधानसभा भवनबाट दलहरु बाहिरीँदा संविधान निर्माणका लागि सहमती गरेर हँसिलो अनुहार बनाएर निस्कलान् भन्ने धेरैले आशा गरेका थिए । तर, त्यसो नभएर संविधानसभा भित्रै वितन्डा भयो । एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले कुर्चि तोडफोडदेखि आक्रमणसम्म काम गरे । विवादित विषयलाई प्रक्रिया मार्फत समाधान गरी माघ ८ भित्रै संविधान जारी गर्ने भनिएपछि मोर्चाले संविधानसभामा वितन्डा मच्चायो । सहमतिको नजिक पुगेका भन्ने दलहरुको दुरी अरु बढ्यो । मंगलबार पनि मोर्चाले नारावाजी गरी संविधानसभाको वैठक चल्न नदिएपछि अन्तत आजसम्मका लागि स्थगित भयो । आज पनि वैठक बसेर दलहरुले निकास निकाल्न सक्ने हुन की होइनन् त्यो पनि निश्चित छैन । अर्काेतिर मंगलबार एमाओवादी मोर्चाले गरेको नेपाल बन्दले पुरै देश प्रभावित बन्यो ।
देश ध्वंंसात्मक बाटोमा जान थालेपछि अव के हुने हो चिन्ताले आमनागरिकलाई सताउन थालेको छ । देशलाई अनिर्णयको बन्दी बनाउँदै बन्द, हड्ताल, तोडफोड जस्ता गतिविधि बढ्दै जानु अत्यन्त दुःखद र लज्जास्पद कुरा हो । जनताले वितन्डा चाहेका होइनन् संविधान, शान्ति र रोजगारी चाहेका छन् । यस्तो बेलामा दल, नेता, सभासद, कार्यकर्ता र आमनागरिकले समस्या बल्झाउने र मुडभेडको अवस्था सिर्जना गर्न तर्फ लाग्ने हो भने त्यसको नतिजा कदापी राम्रो आउँदैन । नेपाली जनतालाई विश्वास दिलाउने र देशलाई ध्वंसबाट बचाउने काम यसपटक पनि राजनीतिक दल र सभासदहरुले गरेनन् भने देश ठूलो दुर्घटनामा फस्ने कुरा पक्का छ । यस तर्फ सबैले संयमता अपनाउन जरुरी छ ।
Comments are closed.