कृषिमा पछिल्लो समय आकर्षण बढेको छ । विदेशबाट फर्किएकाहरुले कृषिमै भविष्य खोजी रहेका छन् । व्यवसायीक तकारी खेती, पशुपालनमा युवा जमातले सुखद भविष्यको कल्पना गर्न थालेका छन् । अघिल्लो वर्ष भन्दा यस वर्ष कृषि कर्म गर्नेहरुको संख्या बढेको छ । नेपालको श्रम बजारमा वार्षिक पाँच लाखको हाराहारीमा श्रम जनशक्ति उत्पादन हुन्छ । स्वदेशमा रोजगारी अवसर नभएको भन्दै बर्सेनि लाखौँ युवाशक्ति विदेशीने गरेका छन् । देशको अर्थतन्त्र चलायमान बनाउन रेमिट्यान्सको ठूलो योगदान छ । तर विश्वमा फैलिँदैगएको कारोना भाइरसले विदेशमा कार्यरत धेरै नेपालीले रोजगारी गुमाउने आकलन गरिएको छ । खाडी मुलुकमा मात्र दुईदेखि तीन लाख नेपालीले रोजगारी गुमाउने अनुमान गरिएको छ ।रोजगारी गुमाएर स्वदेशमा फर्कने युवालाई कृषि क्षेत्रमा जोड्न सके लाखौँलाई रोजगारी दिन सकिने अर्थविद्हरूको भनाई छ । नेपालको कृषिमा अथाह सम्भावना भएको मुलुक हो । अब परम्परागत रुपमा कृषिभन्दा पनि नयाँ प्रविधि तरिकाले कृषिमा लाग्नुपर्छ । थोरै लगाएर धेरै उत्पादन गर्ने बाटोतर्फ जान आवश्यक छ । परम्परागत रुपमा लगाउँदै आएको खाद्यान्न मात्रै लगाएर हुँदैन प्रविधिको प्रयोग गदै कृषिको व्यवसायीकरण गर्नुपर्छ । वनजन्य कृषि गरे पनि थोरै लगानीबाट धेरै आम्दानी गर्न सकिन्छ । सरकारले स्वदेशमा रोजगारी सिर्जना गर्नको लागि मेकानिकल, इलेक्ट्रोनिक, घरेलु उद्योगबाट उत्पादन हुने सामान उत्पादन गर्न विभिन्न तालिम दिए रोजगारी सिर्जना गर्नसक्छ । स्वदेशमा कामलाई ठूलो र सानो भन्ने सोच परिवर्तन गर्न जरुरी छ । काम सानो ठूलो हुँदैन, कामको सम्मान गरौँ । विदेशमा गएका धेरै युवा कोरोनाका कारण बेरोजगार भएर स्वदेश फर्किन बाध्य छन् । उनीहरूलाई आत्मनिर्भर बन्ने प्रमुख आधार कृषि हो त्यसैले सरकारले कृषिमा टिकाउन आवश्यक छ ।
Comments are closed.