सम्भावनाको शहर, सात तालको नगर

पोखरेली पर्यटनकर्मीको सौतेनी व्यवहारको चपेटामा छौें–स्थानीय व्यवसायी


ऋषिकान्त पौडेल
पोखरा १५, असोज
“सबैले भन्ने गरेको फराकिलो पोखरा अब साँघुरो भईसक्यो, ग्रेटर पोखराको अवधारणालाई सार्थकता दिन पनि लेखनाथलाई अघि बढाउनु अपरिहार्य नै भईसकेको छ ।” पोखरासँगै जोडिएको लेखनाथमा रहेर दशकदेखि पर्यटन व्यवसाय गर्दै आएका लेखनाथ होटल तथा रेष्टुरेण्ट एसोशिएसनका अध्यक्ष दामोदरभक्त थापाले लेखनाथको सम्भावना केलाउँदै भने । तथ्याङ्क र वास्तविकतालाई समेत आधार मान्ने हो भनेपनि पोखरा प्रवेश गर्ने पाँच प्रतिशतमात्रै बाह्य र आन्तरिक पर्यटकहरु लेखनाथसम्म पुग्दैनन् । यसको पछाडी लेखनाथमा पर्यटकीय केन्द्र नभएका भने पक्कै होईनन् । त्यस्ता केन्द्रहरु भएर पनि आवश्यक प्रचार र साँघुरीदै गएको पोखराका पर्यटनकर्मीले लेखनाथलाई पनि पर्यटन हब नमान्नु नै दुर्भाग्य बनेको हो ।

lekhnath
यो दुर्भाग्यका बाबजुद प्रचुर सम्भावनाका साथ लेखनाथले पर्यटनमा तातेताते पाईला चाल्ने जमर्को गरिरहेको छ । कारण ठूला लगानी भित्रिने क्रममा छन् । कति भित्रिसकेका छन् । पर्यटनका पूर्वाधारहरु कति निर्माणाधीन अवस्थामा छन् भने कति तम्तयार अवस्थामा छन् । यसले पनि सम्भावना र लगानीकर्ताको आकर्षण बढ्दो छ ।करिब आधा शताब्दी अघि लेखनाथका गाउँमा विदेशी पर्यटक देख्नासाथ केटाकेटी झुम्मिनु र मिठाई माग्नु अनि उनीहरुले खिचिदिएको फोटोमा अबोध मुस्कान दिनु बाहेक पर्यटन र पर्यटकका बारेमा औसत जानकारी समेत कसैले लिने आँट गर्थेनन् न यसको सम्भावनाबारे नै खोजी हुन्थ्यो । सन् १९८३ भन्दा केहि अघि अन्नपूर्ण स्काईलाईन ट्ेकको नामानकरण गर्दै विजयपरु, कालिका, सौर्य, बेगनास, पचभैया हुँदै बेगनासतासम्मको पदयात्रा रुट स्थापित गरेपछि भने व्यवसायीक रुपमा पर्यटन पेशा अँगाल्ने यदाकदा देखिन थाले । जब १९८३ मा बेलायती राजकुमार चाल्र्स त्यो पदमार्ग पछ्याउदै यात्रा गरे त्यसपछि भने उनको सम्मानमा रोयल ट्रेकको नामारण गरियो र उत्कृष्ट पदमार्गका रुपमा त्यस क्षेत्र स्थापित भयो । समयको अन्तरालसँगै स्थानीय र केहि बाह्य लगानीकर्ताहरुको आकर्षण त्यसक्षेत्रमा बढेपछि भने अहिले प्रचुर सम्भावनाका साथ लेखनाथ अघि बढिरहेको हो । अहिलेको समयमा ठूला लगानीकर्ताहरुसमेत लेखनाथको पर्यटन क्षेत्रमा लगानी गर्न आकर्षित छन् । फलस्वरुप तारे होटलका रुपमा बेगनास रिसोर्ट, रुपाकोट रिसोर्ट, टाईगरटप लगायत सञ्चालनमा आएका छन् भने सांग्रीला लगायतका ठूला होटल कम्पनीहरु उचित समयको पर्खाईमा छन् । स साना होटल रेष्टुरेण्टमा पनि उत्तिकै लगानी बढ्दो छ । फाट्टफुट चाउचाउ र चिया बेचेर पर्यटकलाई धानेको लेखनाथमा अहिले पर्यटन व्यवसायमा मात्रै एक अर्बभन्दा बढी
लगानी पुगेको छ ।

“हरेक वर्ष लगानी बढ्दो छ । तैपनि व्यवसाय आशा गरे अनुरुप छैन । बाह्य पर्यटकलाई लेखनाथमा बेगनास तालसहित सातओटा ताल छन् भन्ने कुराको प्रचार नै गर्न सकिएको छैन ।” अध्यक्ष थापाले भने । त्यस्तै, बेगनासतालमा सानुलेक रेष्टुरेण्ट संञ्चालन गर्दै आएका युवा पर्यटन व्यवसायी राजन सापकोटा लेखनाथको पर्यटन उल्लेख्य विकास नहुनुमा पोखरेली पर्यटन उद्यमी नै कारक भएको बताउँछन् । “पोखराका उद्यमीले पर्यटनलाई आफ्नै पेरीफेरीमा राख्न खोजेकाले पनि लेखनाथ पछि परेको छ । त्यसका साथै पर्यटकको आकर्षण बढाउन प्राकृतिक सम्पदाको परीचयसहितको ब्रोसर, तालहरुमा स्पोट पर्यटनलाई बढावा दिने खालका गतिविधी गर्न नसक्नु पनि कमजोरी रहेको छ । ”

त्यसो त लेखनाथको पचभैयास्थित सामुदायीक वनमा जैविक विविधतासहितको चिडियाखाना बन्ने निश्चित भएको छ । केहि महिनाअघि मात्रै शिलान्यास भएको चिडियाखानाले लेखनाथको मात्रै होईन पश्चिमाञ्चल क्षेत्रकै पर्यटन विकासमा योगदान दिने अपेक्षा त्यस क्षेत्रका स्थानीयवासीले गरेका छन् । चिडियाखाना वा पर्यटनका अन्य पुर्वाधार तयार भएपनि लेखनाथको विकासका लागि सबै क्षेत्रका सबै व्यक्तिको सकारात्मक सहयोगको खाँचो रहेको अर्का पर्यटन व्यवसायी एवं ग्राण्ड होटल बेगनासका संञ्चालक दुर्गा प्रसाद अधिकारीको धारणा रहेको छ । लेखनाथको पर्यटन विकास हुन सके पोखराको पनि विकास हुने हो र पर्यटकको बसाईं अवधी लम्ब्याउन यसले सहयोग पुर्याउँछ भन्ने बुझिदिन पोखरेली पर्यटनकर्मीलाई अधिकारीको आग्रह छ । “अन्य जिल्लामा रहेका पर्यटन सम्भाव्यता खोज्ने पोखरेली पर्यटनकर्मी र सिंगो पर्यटन बोर्ड आफ्नै जिल्लामा संगै जोडीएको लेखनाथ र आसपासका पर्यटकियस्थलको बारेमा बेखबर बन्ने गरेको छ ।” अधिकारीले गुनासो गर्दै थपे, “यसबाट के प्रष्ट हुन्छ भने पोखराका पर्यटनकर्मी लेखनाथलाई सौतेनी व्यवहार गरिरहेका छन् । यो मानसिकताबाट उनीहरु बाहिर निस्कनुपर्छ यसले पोखरा भनेको लेखनाथ पनि हो है भन्ने सन्देश दिन्छ र दुई ओटै शहरको पर्यटनले गति लिनसक्छ । ”

तर नेपाल पर्यटन बोर्डका पूर्व सदस्य तथा पर्यटन व्यवसायी टिकाराम सापकोटा भने पोखराले लेखनाथलाई त्यस्तो सौतेनी व्यवहार गरेको कुरा स्वीकार्दैनन् । “हामी कहिल्यै त्यस्तो गरेनौ र गर्दैनौं पनि । त्यहाँका व्यवसायीलाई कसरी त्यस्तो लाग्यो त्यो त थाहा भएन तर पर्यटक बढाउन र पर्यटनको विकास गर्न स्थानीय सक्रियता भने वृद्धि गर्नुपर्छ ।” उनले भनृ । पर्यटकको बसाईं अवधी लम्ब्याउन र संख्या बढाउन त्यस क्षेत्रमा पूर्वाधार, पर्यटकको चाहना अनुसारका होटल तथा रेष्टुरेण्ट, ह्याण्डीक्राफ्ट पसल, यातायात सुविधाको व्यवस्था स्थानीयस्तरबाटै प्रदान गर्नसक्नुपर्ने उनको धारणा रहेको छ ।

Comments are closed.