पोखरा, १९ असार/सरकारकै कारण साना लगानीका सञ्चार माध्यममा संकटमा परेको पोखरामा आयोजित एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । नेपाल पत्रकार महासंघ कास्कीको सहयोग र प्रेस काउन्सिल नेपालद्धारा आयोजित “विपतकालमा साना लगानीका सञ्चार माध्यमको भूमिका, समस्या र समाधान” विषयक मिडिया संवाद कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका सदस्य एवं विश्व प्रेस काउन्सिलका उपाध्यक्ष किशोर श्रेष्ठले नेपालका साना लगानीमा संचालित संचार माध्यमहरुको मुख्य शत्रु अहिलेको सरकार बनेको आरोप लगाए । समानुपातिक विज्ञापन प्रणालीको सम्बन्धमा सर्वोच्च अदालतले जारी गरेको आदेशलाई समेत लत्याएर सरकारले निरिहिता प्रदर्शन गर्दा साना लगानी संचार माध्यमहरु संकटमा परेको उनको भनाई छ ।
पत्रकारीतालाई समयानुसार परिमार्जित र परिष्कृत गर्दै लैजानु पर्नेमा उनको जोड थियो । लोककल्याणकारी विज्ञापनलाई हुन्डि वा अनुदानका रुपमा लिन नहुने बताउँदै श्रेष्ठले मर्यादित र प्रभावकारी भूमिका निभाउन मिडियाकर्मीहरुलाई आग्रह गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंका केन्द्रीय उपाध्यक्ष खिल बहादुर भण्डारीले नेपाली पत्रकारिताको भूमिकालाई राज्ले वेवास्ता गरेको आरोप लगाए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले प्रेस काउन्सिलको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका केन्द्रीय सदस्य माधव शर्माले साना लगानीका संचार माध्यमको समस्या र समाधानका उपाय सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
Comments are closed.