पोखरामा प्रधान कार्यालय रहेको पृथ्वी राजमार्ग बस संचालक समिति नेपालको यातायात क्षेत्रमा एउटा पुरानो नाम हो । वि.सं. २०२९ सालमा स्थापना भएको यो समिति अहिले नेपालभरी नै पहुँचमा छ । व्यवसायी सुरुमा १२ वटा गाडी लिएर यातायात क्षेत्रमा आएको समितिमा अहिले १२ सय गाडी छन् । समितिले पोखराबाट गाडीको पहुँचमा रहेको लगभग सबै जिल्लामा सिधा बस सेवा संचालन गरेको छ । पृथ्वी राजमार्ग समितिलाई यातायात क्षेत्रमा डन व्यावसायिक संस्थाका रुपले पनि चिन्ने गरीएको छ । यातायात क्षेत्रमा लामो समयदेखि आफ्नो पकड र छुट्टै पहिचान बनाएको समिति बेलाबेलामा विवादमा पनि आउने गरेको छ । सिण्डिकेटलाई जोगाई राख्न समितिले बल पुर्याएको छ भन्ने आरोप पनि एकातिर छ । पछिल्लो समय पोखरा–मुस्ताङ सिधा बस सेवा सुरु गरेको समितिको सुरुमा म्याग्दीमा अवरोध भएपछि दाँतमा ढुङ्गा लाग्यो । अहिले पनि विवाद मै छ । समितिका अध्यक्ष ऐन कुमार साई व्यावसायिक हित र यात्रुको सुविधाका लागि समितिले ठूलो योगदान पुर्याएको बताउँछन् । १३ बर्षदेखि यातायात व्यवसायमा लागेका साई समितिको नेतृत्वमा रहेको यो दोस्रो कार्यकाल हो । अध्यक्ष साईसँग समितिको पछिल्लो विवाद र समितिको सेवा सुविधाका विषयमा हटलाइनका सह- सम्पादक अमृत सुवेदीले कुराकानी गरेको छन् । प्रस्तुत छ कुराकानीको सार संक्षेपः
पोखरा जोमसोम सिधा बस सेवा संचालनका मुख्य बाधक र समस्या के हो ?
विगतका दिनमा मुस्ताङ जीप तथा बस व्यवसायी समितिका अध्यक्ष तथा कार्यसमितिसँग (२०६९÷७०) सम्म हामीले छलफल गर्दा गाडी संचालन गर्न सकेनौं । उहाँहरुको सेण्डिकेट नै थियो । अहिले २०७१ मा आएर क्षेत्रीय प्रशासक लगायत मुस्ताङका प्रमुख जिल्ला अधिकारीको सक्रियतामा पृथ्वीराजमार्गको पहलमा केही समय अगाडी मात्र सम्झौता भयो । चैतको २ गते क्षेत्रीय प्रशासक दिनेश थपलियामार्फत उद्घाटन गरी गाडी संचालन भयो । तर, मुस्ताङ र पृथ्वीबीचको सम्झौतामा धौलागिरी बस व्यवसायी समितिले नियम उलंघन ग¥यो । यो मानेमा की नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नीति र संचालनको बावजुत धौलागिरी समितिले विना कारण सिधा बस सेवा अवरोध गर्यो । चैत १० गते विभिन्न बहानामा छेकथुन गर्यो । पछि सहायक क्षेत्रीय प्रशासकको उपस्थितिमा पृथ्वी राजमार्ग, मुस्ताङ व्यवसायी समिति, म्याग्दी, धौलागिरी, सयुक्त वैठकमा छलफल हुँदा १७ गतेसम्म गाडी संचालन गरी १८ गतेबाट सेवा बन्द गरी २२ गते नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघमा बैठकको आह्वान गरेको छ तर त्यो भन्दा अगावै ११ गते धौलागिरीले गाडी छेकथुन गर्यो । क्षेत्रीय प्रशसक तथा सम्वन्धित सबैलाई जानकारी गराएर गाडी संचालन गर्ने प्रयत्न गर्याे र महासंघले भनेको पनि धौलागिरीले मानेन । अव प्रशासनले बल प्रयोग गरी सिधा गाडी संचालन गर्ने जिम्मा लिएको छ ।
सुरुमा सहमति के भएको थियो ?
सुरुमा पृथ्वी र मुस्ताङकाबीच १५÷१५ दिनको क्यूको अवधारणा राखी सम्झौता भएको थियो । महासंघको पनि नीति र अवधारणा त्यही नै छ । सुरुको विन्दुदेखि अन्तिम उद्गम स्थलसम्म संचालन गर्दाबीचमा रहेका संस्थाहरुसँग समन्वय गर्न आवश्यक नपर्ने यातयात महासंघको पनि निर्णय छ ।
धौलागिरी र पृथ्वीबीचको विवाद यो पहिलो होइन । यस भन्दा अगाडी पनि यस्ता विवाद भएकै हुन् । दुवै संस्थाले आफुआफु डन सम्झेका कारणले विवाद भएको त होइन ?
पृथ्वीराजमार्गले देशैभरी सेवा संचालन गर्दै आएकोमा पछि विभिन्न अञ्चल जिल्लामा समिति दर्ता भए अनुसार संस्थाको मान्यता गरी सेवा संचालनमा कुनै कतै अवरोध नगरीकन आपसी समझदारीले गाडी संचालन भएको छ । तर, आज पोखरा–मुस्ताङ गाडी संचालन गर्दा धौलागिरी व्यवसायी समितिले पोखराबाट संचालन गर्न पाउनुपर्छ भन्ने जुन अडान राख्यो त्यसको पृथ्वीराजमार्गले धौलागिरी अञ्चलबाट विगतका दिनमा बागलुङ–काठमाडौं, बेनी–काठमाडौं, बागलुङ, सुनौली, वीरगञ्ज, नारागण लगायतका ठाउँमा गाडी संचालन गर्दै आएकोमा यसभन्दा अघि त्यो ठाउँबाट धौलागिरी अञ्चलको एरिया परेका कारण पृथ्वीराजमार्गले सम्पूर्ण गाडीहरु त्यहाँ चल्ने गाडी पोखराबाट सेवा सञ्चालन गर्यो । अहिले आएर धौलागिरीले मुस्ताङ जानलाई पोखराबाट संचालन गर्न खोज्छ । हामीले औंलो दिँदा डुडुल्नो निल्ने काम जस्तो भयो ।
यो सिण्डिकेट बनाउने र अरु बाहिरका लागि निषेध गर्ने कामको श्रीगणेश गर्ने पृथ्वी राजमार्ग हो भनिन्छ नी ?
यो सिण्डिकेट होइन । यो आलोपालो सिस्टम हो । किनभने प्रमिट भएको गाडी काठमाडौं पोखराको हकमा पृथ्वीराजमार्गको पाँच सय गाडीको प्रमिट छ । यदी सिण्डिकेट नै हो भने पोखरावाट साँडे दुई सय काठमाडौंका लागि र काठमाडौंदेखि पोखराका लागि साडे दुई सयमा छुटाउँदा के त्यो पोखरा काठमाडौंको हाई–वे ले धान्ला ? यदी नेपाल सरकारले कुनै गाडी चलाएको भए बल्ल थाहा हुन्थ्यो । सिण्डिकेटको अर्थ ।
पञ्चायतकालमा कहिले राणा हुकुम, कहिले अदालतको द्विअर्थी नियमको दुहाई दिएर लामो समयसम्म तपाईहरुले गरेको एकाधिकारको सिको अहिले अरुले सिकेका हुन भन्ने आरोपलाई के भन्नुहुन्छ ?
पृथ्वी राजमार्गलाई केबल आरोप मात्रै हो । जहाँजहाँ जुनजुन जिल्लामा संस्थाहरु दर्ता भए आफ्ना क्षेत्राधिकार भित्र रही सञ्चालन गर्नुपर्र्नेमा उहाँहरुले जवरजस्ती लाद्न खोज्नु नै मुख्य दोषी उहाँहरु नै हुनुहुन्छ । हामीले कसैको सिको गरेका होइनौं । हामीले त सेवा दिएका हौं । गण्डकीमा करिव २०÷२२ वटा संस्था छन् । छाटो दुरीको हकमा सानो संस्थाहरुले संचालन गर्ने लामो दुरीको हकमा पृथ्वीराजमार्गले संचालन गर्ने भनि सम्झौता भएको छ ।
विगतमा एकाधिकार कायम गर्न गुण्डाहरु समेत परिचालन गर्ने गरियो । अहिले गुण्डा नभएर समस्या आएको हो र ?
त्यो सत्य होइन । सानो संस्थाहरु निर्णय विपरित संचालन गर्दा वाधा अवरोध भएकोमा पृथ्वी राजमार्ग बस संचालक समितिले संचालन गरेको रुटमा उहाँहरुले अवरोध खडा गर्दा विवाद उत्पन्न भई तथा गुण्डा परिचालन उहाँहरुबाटै भयो । किनकी यस अघि मात्र गोरखा यातायात समितिबीच सञ्चालनको कुरा लिएर पृथ्वीराजमार्गको गाडीलाई वाटोमा गाडी रोकी चालकलाई नियन्त्रणमा लिई, दुव्यवहार गरी करीव ५० जना जति त्यहाँका चुन्द्रेमुन्द्रे लगायतले गाडी रोकी तोडफोड ग¥यो । पछि गोर्खाका प्रमुख जिल्ला अधिकारीसँगको बैठकमा छलफल गर्दा समेत गोरखा यातायात बस व्यवसायी समितिको निवर्तमान अध्यक्षले मलाई गुण्डा भन्नुभयो । प्रमुख जिल्ला अधिकारीले उसलाई बैठकबाट बाहिर निकालिदिनुभयो । गुण्डा हामी भयौं की उनीहरु भए ?
सिण्डकीकेट चलाउन अफिस, घर, टेलिफोन, प्रहरी र प्रशासन रिझाउने खर्चले गर्दा महङ्गो भाडा तिर्न यात्रु बाध्य भएका छन् । यो शोषण भएन र ?
भाडाको हकमा नेपाल सरकार र यातायात राष्ट्रिय व्यवसायी महासंघको निर्णय भए अनुसार भाडा लिने गरेका छौं । अरु सिण्डिकेटको नाममा कुनै ठाउँमा पुलिस प्रशासन, गुण्डाहरु प्रयोग गर्न परेको छैन । नितान्त आरोप मात्रै हो । अहिलेसम्म नेपाल सरकारले जुन भाडादर कायम ग¥यो त्यही लिईआइरहेका छौं । यदी कतै बढी भाडा लिएको भए कारवाही गर्न हामी मञ्जुर छौं ।
समितिले भाडा निर्धारण गरेको भएपनि वार्गेनिङ गरी यात्रु चढाउने र बाटोमा बढी भाडा लिन खोज्ने तथा यात्रुलाई अभद्र व्यवहार गर्ने जस्ता गुनासाहरु पनि आइरहन्छन् । यो चाँही तपाईहरुलाई थाहा छैन ?
सम्वन्धित यात्रु महानुभवहरुले गन्तब्य स्थानसम्म पुग्नका लागि टिकट काउन्टरमा टिकट लिने बानी बसाल्नु जरुरी छ । किनभने सस्तो भाडामा जान खोज्दा बिना टिकट यात्रा गर्दा हुने यो समस्या उहाँहरुले बुझ्नुपर्ने हो ।
विना लाइसेन्स पनि गाडी चलाउने, सहचालकलाई गाडी चलाउन दिने, गाडी मालिक भएकै कारण गाडी चलाउन खोज्दा पछिल्लो समय दुर्घटना बढेका छन् । यस्ता दुर्घटनामा पर्ने पृथ्वी कै गाडी बढी छन् नी के भन्नुहुन्छ ?
पृथ्वी राजमार्ग बस संचालन समितिले विना लाइसेन्स र मादक पदार्थ सेवन, चालकले मोबाइल चलाएको अवस्थामा यात्रुहरुले देखिने गरी हाम्रो हेल्न लाइनहरु गाडीमा टाँसेका छौं । कुनैपनि बेला यस्तो भएमा हामीलाई जानकारी गराउन हुन अनुरोध पनि गरेका छौं । यदी यस्तो भएको खण्डमा तुरुन्त अर्को ड्राइभरको व्यवस्था पनि गर्ने गरेका छौं । उहाँहरुलाई ६ महिनासम्म समितिको गाडी चलाउनलाई बन्देज गरेका छौं ।
अनि बिना अनुभव र विना परिक्षण नै गाडी चलाउन दिँदा दुर्घटना र यात्रुले सास्ती खेप्नुपर्छ । समितिले नाफा कमाउनका लागि मात्रै सोंच्ने तर यातायात मजदुरले गर्ने व्यवहार र यात्रुमैत्री बनाउन केही गर्नुपर्दैन ?
यसलाई रोकथाम गर्नका लागि नेपाल सरकार नै जिम्मेवार हुनुपर्ने देखिन्छ । किनभने लाइसेन्स दिने काम समितिको होइन । नेपाल सरकारको हो । हामी त लाईसेन्स भएकालाई मात्र चालक मान्छौं । त्यो आधार नै लाईसेन्स हो । लाइसेन्स दिनका लागि नेपाल सरकारको मापदण्ड के हो त ?
एक त यो पेशामा आवद्ध हुनका लागि पढ्न मन नलाग्ने, काम गर्न जाँगर नलाग्ने, घरमा विग्रेकाहरु मात्र अग्रशर हुने धेरै छन् । तर, समितिले यस्ता चालक मजदुरलाई बेलाबेलामा मजदुर संघसंस्था र ट्राफिक प्रहरीको सक्रियातामा हामीले परिक्षण दिइरहेका छौं ।
यातायात क्षेत्रका अहिलेका जटिल समस्याहरु र चुनौतीहरु केके हुन् ?
पहिलो कुरो त नेपाल सरकारले जताभावी गाडी भित्राउनेको बहानामा भैरहेको संरचनालाई अस्तव्यस्त गर्नु नै यातायात क्षेत्रको जटिल समस्या हो । किनभने नेपालको जनसंस्या भन्दा बढी यातायातको सिट संख्या बढी छ । कसरी व्यवसायीहरु बाँच्छन् ? यो सोच्नुपर्ने नेपाल सरकारको दायित्वमा पर्छ । तर, यहाँ त गाडी आयात गर्ने कमिसनको खेलमा यातयात व्यवसायीलाई मारमा पार्ने मात्र भैरहेको छ ।
समितिले यात्रुको सुविधाका लागि नयाँ चाँही के गर्दै छ ?
पोखरा–काठमाडौंको रुटलाई अतिरिक्त सेवा सुविधा भएका डिलक्स २१ सिट भएको हरियो प्लेटमा सेवा संचालन गर्दै छ । वैशाख ९ गते देखि पोखरा, धरान, विराट काकडभित्ता, दैनिक रात्री डिलक्स सेवा संचालन गर्ने भएको छ । २ वटा हरियो प्लेटका गाडी पोखरा भित्रने तयारीमा छन् । यस सेवाले यात्रुलाई धेरै सहज गराउन सक्छ ।
अन्त्यमा ?
अर्को बर्षदेखि घरमै बसीबसी अनलाइन मार्फत पोखरादेखि नेपालको जुनसुकै ठाउँमा यात्रा गर्नका लागि अनलाइन बुकिङ सेवा संचालन गर्दैछौं । यात्रुहरुले विना टिकट यात्रा गर्न इन्सुरेन्सबाट बञ्चित हुनसक्ने र ठगिन सक्ने समेत जानकारी गराउन चाहन्छौं र अन्त्यमा पृथ्वी राजमार्गको तर्फबाट केही राख्न अवशर दिनुभएकोमा तपाई र हटलाइनप्रति आभार प्रकट गर्दछु ।
Comments are closed.